७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

मोबाइल बैंकिङमा एक तिहाइ जनसंख्या

जिपी भण्डारी

काठमाडाैं – शान्तिनगरका क्षितिज प्रधानले मोबाइल बैंकिङ सेवा लिएको एक वर्ष भयो। सहकर्मीले उक्त सेवा लिएका कारण सानोतिनो कारोबारको लागि बैंक धाउन नपरेको देखेपछि आफू पनि लोभिएको उनले बताए।

मोबाइल बैंकिङ सेवा लिएपछि काममा निकै सहयोय पुगेको उनको अनुभव छ। उनले भने, ‘यसअघि सानो कामका लागि पनि बैंक जानुपथ्र्यो। यो सेवा लिएपछि बैंकको अधिकांश काम घर वा अफिसबाटै गर्छु।’

सानिमा बैंकमा खाता खोलेका उनले इन्टरनेट, बिजुली, पानी लगायत अन्य सेवाको बिल भुक्तानी, मोबाइल रिचार्ज, ब्यालेन्स हेर्ने र अरुको खातामा पैसा पठाउने जस्ता काम मोबाइलबाटै गर्ने गरेको बताए।

सामाखुसी बस्ने स्याङ्जाका विनोद सुनारले मोबाइल बैंकिङ सेवा लिएपछि समय व्यवस्थापनमा सजिलो भएको अनुभव सुनाए।

पेसाले इन्जिनियर उनी भन्छन्, ‘कामको सिलसिलमा अधिकांश समय उपत्यकाबाहिर बस्नुपर्ने भएकाले घरमा पैसा पठाउन बैंक धाउनुपर्ने झन्झटबाट मुक्ति पाउन यो सेवा लिएको हुँ।’

उपत्यकालगायत अन्य ठूला सहरमा मोबाइल बैंकिङ सहज भए पनि दुर्गम क्षेत्रमा जाँदा इन्टरनेटको गति ढिला हुने भएकाले समस्या आउने गरेको उनले बताए।

कागजातयुक्त बैंकिङ कारोबारलाई निरुत्साहित गर्ने उद्देश्यले मोबाइल बैंकिङ सेवा सञ्चालन गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मिप्रपन्न निरौला बताउँछन्। उनका अनुसार मुलुकभरिमा मोबाइल बैंकिङ सेवा लिनेको संख्या ८३ लाख ४७ हजार पुगेको छ।

सुरुवाती दिनमा यो सेवा लिनेको संख्या न्यून भए पनि इन्टरनेटको विस्तारसँगै ग्राहक संख्या बढेको उनले बताए।

राष्ट्र बैंकको एक तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै मोबाइल बैंकिङका प्रयोगकर्ता झण्डै ३३ लाख बढेका छन्।

गत असारसम्ममा वाणिज्य बैंकका ७४ लाख ६ हजार आठ सय, विकास बैंकका नौ लाख नौ हजार पाँच सय र वित्त कम्पनीका ३० हजार आठ सय ग्राहकले मोबाइल बैंकिङ सेवा लिएका छन्।

पोहोरअसार मसान्तसम्ममा वाणिज्य बैंकका ४७ लाख ११ हजार ९७, विकास बैंकका तीन लाख ५१ हजार आठ सय, वित्त कम्पनीका २३ हजार दुई सय गरी करिब ५० लाख ८६ हजार ग्राहकले यो सेवा लिएका थिए।

प्रवक्ता निरौलाका अनुसार गत आवमा इन्टरनेट बैंकिङ सेवा लिनेको संख्या भने करिब एक लाख थपिएको छ।
गत असार मसान्तसम्ममा इन्टरनेट बैंकिङ सेवाका ग्राहक नौ लाख १७ हजार तीन सय पुगेको छ। यीमध्ये आठ लाख ८८ हजार दुई सयले वाणिज्य बैंक, २४ हजार एक सयले विकास बैंक र चार हजार नौ सयले वित्त कम्पनीबाट इन्टरनेट बैंकिङ सेवा लिएका छन्।

आव २०७४/०७५ सम्मा वाणिज्य बैंकका आठ लाख १६ हजार, विकास बैंकका १४ हजार ६ सय, र वित्त कम्पनीका तीन हजार पाँच सय ग्राहकले इन्टरनेट बैंकिङ सेवा लिएका थिए। मुलुकमा वाणिज्य बैंक २८, विकास बैंक ३३ र वित्त कम्पनीको संख्या २५ छ।

गत आवको असार मसान्तसम्म २८ वटा वाणिज्य बैंकले मुलुकभर तीन हजार पाँच सय ८२ वटा शाखा कार्यालयवाट सेवा दिइरहेका छन्। त्यसैगरी २९ वटा विकास बैंकले एक हजार दुई सय ६७ शाखा कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएका छन्।

२३ वटा वित्त कम्पनीले वित्त कम्पनीले दुई सय पाँच शाखा कार्यालय सञ्चालन गरी सेवा दिइरहेका छ। ९० वटा लघुवित्त संस्थाले चार हजार ६ सय ६४ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेका छन्।

प्रकाशित: २४ भाद्र २०७६ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App