८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

आठ महिनामा २२ हजार पर्यटक भित्रिए

नेपाल घुम्न आएका चिनियाँ पर्यटक आफ्नै देश फर्कने क्रममा रसुवाको सदरमुकाम धुन्चेमा रहेको प्रहरी चौकीमा इन्ट्री गर्दै। तस्बिर : हिमनाथ/नागरिक

रसुवा – रसुवागढी नाका हुँदै आठ महिनामा २२ हजार भन्दा बढी चिनियाँ तथा तेस्रो देशका पर्यटक नेपाल भित्रिएका छन्। रसुवागढी अध्यागमन कार्यालयका अनुसार २०१९ जनवरीदेखि अगष्ट अन्तिमसम्ममा २२ हजार ८ सय ४९ पर्यटक स्थलमार्ग भएर नेपाल भित्रिएका हुन्। रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाडौँ, पोखरा तथा लुम्बिनी जाने गरेका छन्।

केही चिनियाँले आफ्नै सवारी साधन ल्याउने गरेका छन् भने अधिकांश पर्यटकले चाहिँ नेपालकै सवारी साधनको प्रयोग गर्दै आएको देखिन्छ। यो नाकाबाट भित्रने पर्यटकमध्ये ७० प्रतिशत चिनियाँ हुन्छन्। बाँकी ३० प्रतिशत अन्य विभिन्न देशका पर्यटक रहने गरेका अध्यागमन अधिकृत विष्णु घर्तीले बताए। ‘यसपटक लामो समयसम्म सडक अवरुद्ध नभएको कारण पनि पर्यटकको आगमन बढेको हो, उनले भने, ग्रेटिस भिसामा आउँदा शुल्क नलाग्ने भएकाले पनि पर्यटक बढेका हुन सक्छन्।’

चीन, सार्क राष्ट्रका अफगानिस्तान बाहेक अन्य देश र १० वर्ष मुनिका बालबालिकाले ग्रेटिस भिसा पाउछन्। नाकाबाट २०१९ को जनवरीमा ८ सय ४२, फेव्रुअरीमा ४ सय ४०, मार्चमा ६ सय ८५, अप्रिलमा १ हजार ४ सय ९१, मेमा ३ हजार ५ सय ३७ , जुनमा ६ हजार ७५,  जुलाइमा ४ हजार ४ सय ४ र अगष्टमा ५ हजार ३ सय ७५ चिनियाँ तथा विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

२०७२ वैशाख १२ गते आएको भूकम्पपछि औपचारिक रूपमा सञ्चालनमा आएको नाकाबाट ९९ हजार २ सय १२ पर्यटक नेपाल आएका छन्। २०१५ मा चिनियाँ पर्यटक मात्र आएका थिए। २०१६ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक आउन थालेका कार्यालयले जनाएको छ।

सन् २०१५ मा १० हजार ६ सय ४९, सन् २०१६ मा १७ हजार ८२, सन् २०१७ मा १९ हजार ४७८, सन् २०१८ मा २९ हजार १ सय ५४ र सन् २०१९ को ८ महिनामा २२ हजार ८ सय ४९ पर्यटक नेपाल आएका कार्यालयको तथ्याङ्क छ।

२०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको थियो। त्यो महिना २ सय ९१ पर्यटक आएका थिए। यो नाका भएर नेपाल भित्रने प्रमुख देशमा चीन, अमेरिका, स्लोभाकिया, बेलायत, नेदरल्याण्ड, जर्मनी, इटाली, फ्रान्स, चेकोस्लोभाकी र अष्ट्रेलिया पर्छ।

नेपाल घुम्न आउने धेरै जसो चिनियाँ पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन्। अधिकांस चिनियाँ पर्यटकहरूले ल्हासा, गोन्जाउबाटै भिसा लगाएर आउने गरेका छन्। करिब १० प्रतिशत पर्यटकले मात्र रसुवागढी अध्यागमनबाट भिसा लिने गरेका छन्।

रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्दा धेरै ठाउँमा हुने चेकजाँचले यात्रा गर्न समस्या भएको चिनियाँ पर्यटकहरूले गुनासो गरेका छन्। रसुवागढी अध्यागमन कार्यालयले विश्वका १२ वटा देशलाई अनअराइभल भिसा उपलब्ध गराउँदैन।

सरकारी र कुटनीतिक राहदानीबाहक बाहेक नायजेरिया, घाना, जिम्बाबे, स्विजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेष्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले विदेशस्थित नेपाली दुतावास वा कुटनीतिक नियोगबाटै अग्रिम भिसा लिई आउनु पर्छ।

भिसाको लागि अनलाइन फारम (पर्यटक भिषा) भर्ने व्यवस्था मिलाइएको उनले बताए।  विभागको वेभसाइटमा गएर फारम भर्न सकिन्छ। उक्त फारमले १५ दिनसम्म मात्र काम गर्ने भएकाले फारम धेरै चाँढै भर्न नहुने उनको भनाइ छ।

अध्यागमन अधिकृतले कागजात छानबीन गरी नेपालमा प्रवेश दिन उपयुक्त देखेमा पर्यटक भिषा जारी गर्नेछन्। कार्यालयले केआइओएसके मेसिन जडान गरेपछि पर्यटकलाई फाराम भर्न सजिलो भएको छ।

प्रकाशित: १८ भाद्र २०७६ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App