२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

रसायनिक मलको माग बढेसँगै आपूर्ति घट्यो

लहान– सिरहामा वर्षेनी रसायनिक मलको माग बढ्दै गएको छ। माग अनुसारको आपूर्ति घट्दै गएपछि किसान समस्यामा परेको छ। लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि अन्य रसायनिक मलको बिक्री वितरण बढेको हो।     

एकातिर सिरहामा रसायनिक मलको माग बढ्दै गएको छ भन्ने अर्कोतिर जिल्लामा रसायनिक मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लहानमा वर्षेनी मलको आपूर्ति घट्दै गएकाले किसान समस्या परेका छन्। आर्थिक वर्ष २०७४/०७५ मा आठ हजार ५ सय ४९ बोरा डिएपी मल आपूर्ति भएकोमा गत आव २०७५/०७६ मा दुई हजार चार सय बोरा मात्र डिएपी मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानका निमित्त प्रमुख नारायणबहादुर खडकाले जानकारी दिए।     

यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा २६ हजार ७ सय ८८ बोरा युरिया मल आपूर्ति भएकोमा आव २०७५/०७६ मा २३ हजार ७७ बोरा मात्र युरिया मल आपूर्ति भएको निमित्त प्रमुख खडकाले बताए। अघिल्लो आव २०७४/०७५ भन्दा २०७५/०७६ मा डिएपी छ हजार १ सय ४९ बोरा र युरिया तीन हजार ७ सय १ बोरा कम मल आपूर्ति हुँदा जिल्लामा रसायनिक मलको हाहाकार भएको निमित्त प्रमुख खडकाको भनाइ छ।     

त्यस्तै आव २०७३/०७४ मा ९५ हजार ३ सय २० बोरा डिएपी मल र ९८ हजार ७ सय ५ बोरा युरिया मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानले जनाएको छ। सिरहामा साउन महीनामा मात्र ३० हजार बोरा डिएपी मल चाहिएकोमा कृषि सामग्री कम्पनी लिमिटेडबाट डिएपी मल एक बोरा पनि आएन भने युरिया मल आएको जति सबै बिक्री भइसकेकाले गोदाम रित्तिएको छ।     

डिएपी र युरिया मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटक पटक पत्राचार गरे पनि वर्षेनी आपूर्ति घट्दै गएकोले समस्यामा परेको निमित्त प्रमुख खड्काको भनाइ छ। यसरी डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मल पु¥याउन नसकिरहेको उल्लेख गर्दै उनले अझै किसान मलका लागि आउने गरिए पनि मलको अभाव भएको भन्दै फर्काउँदै आएको बताए।     

डिएपी र युरिया मलको आपूर्ति कम भएपछि कृषि सामग्री कम्पनी लहानले आव २०७४/०७५ को तुलनामा आव २०७५/०७६ मा झण्डै आधा मूल्य बराबरको रसायनिक मल मात्र बिक्री गरेको छ। आव २०७४/०७५ मा चार करोड १५ लाख ५१ हजार ९ सय ७६ रुपैयाँको मलखाद्य बिक्री गरेको कृषि सामग्री कम्पनी लहानले आव २०७५/०७६ मा दुई करोड ३६ लाख ९५ हजार ३ सय ४६ रुपैयाँको मात्र रसायनिक मल बिक्री गरेको निमित्त प्रमुख खडकाले जानकारी दिए।     

निमित्त कार्यालय प्रमुख खड्काका अनुसार आव २०७५/०७६ मा एक करोड ७० लाख ३० हजार ८ सय २६ रुपैयाँको युरिया, ५२ लाख ५१ हजार २ सय रुपैयाँको डिएपी, १४ लाख १३ हजार ३ सय २० रुपैयाँको पोटास बिक्री गरेको छ। सिरहामा यस वर्ष कूल ६० हजार ७ सय ५७ हेक्टर खेतीयोग्य जग्गामध्ये ९० प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र राजविराज सप्तरीले जनाएको छ।     

अधिकांश खेतीयोग्य जग्गामा धान रोपाइँ भए पनि समयमा मलखाद्य नपाउँदा किसान मारमा परेका छन्। सिरहामा कृषि सामग्री कम्पनी लहान र साल्ट्र ट्रेडिङले गाउँ गाउँमा सहकारीमार्फत र सहकारी नभएको गाउँमा स्थानीय तहको सिफारिसमा मलखाद्य बिक्री वितरण गर्दै आएको छ।     

किसानले धानखेती गर्ने बेला डीएपी मल अभाव भएको हो। सरकारले अनुदानमा प्रदान गर्ने मल आएको छैन भने कृषि सामग्री कम्पनी लिमिटेडले समेत मल ल्याउन सकेको छैन।     

धानमा मल हाल्ने बेला हुँदासमेत अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा किसानले महँगोमा व्यवसायीबाट मल खरिद गर्नुपरेको बताएका छन्। “धानमा मल राख्ने बेला भयो, डीएपी बजारमा पाइँदैन”, लहानका किसान राजकिसोर यादवले भने, “मल आवश्यक हुँदा पाइँदैन, धान पसाएपछि बल्ल मल आउँछ।” उनले गाउँमा सहकारीले मल वितरण गरे पनि मागअनुसार आपूर्ति गर्न नसकेको बताए।     

किसान मल पाइने आसमा दैनिकजसो कृषि सामग्री केन्द्र धाउने गर्छन्। गोलबजारका किसान बृजकिसोर मिश्रले किसानलाई अनुदानको डीएपी मल पाउनै गाह्रो भएको बताउछन्। “धान रोप्ने बेला कहिल्यै मल पाइँदैन, मल नपाएपछि उत्पादन घट्दै गएको छ”, उनले भने।    

जिल्लामा डीएपी रासायनिक मलको चरम अभाव रहेको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ। “हामीसँग डीएपी मल छैन”, निमित्त प्रमुख खड्काले भने, “गोदामा भएको मल किसानलाई बाँडेका छौं।” रासस

प्रकाशित: ११ भाद्र २०७६ ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App