१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मासिक आयात सय रेकभन्दा बढी

वीरगन्ज सुक्खा बन्दरगाहमा विदेशबाट आएका कन्टेनर। तस्बिर : रितेश त्रिपाठी/नागरिक

वीरगन्ज – आर्थिक वर्ष २०६१/६२ मा वीरगन्जको सिर्सियामा सुक्खा बन्दरगाह सुरु हुँदा वर्षभरिमा कन्टेनर बोकेका मालबाहक रेल (रेक) ८५ वटा मात्र आएका थिए। बल्क कार्गो र बैग कार्गोको आयात शून्य थियो।

डेढ दशकको अन्तरालपछि अब मासिक रूपमा सय बढी रेकहरू आउन थालेका छन्। आर्थिक वर्ष २०७६/७७ को पहिलो महिना अर्थात साउनमा वीरगन्ज सुक्खा बन्दरगाहमा एक सय चारवटा रेकमा मालवस्तु आयात भएको छ।

यसमा ६० वटा रेक कन्टेनरबाहक छन्। एक रेकमा २० फिट एकाइका ९० कन्टेनर आउने गरेका छन्। त्यस्तै, एउटा रेकमा एकै प्रकारका मालसामान (खासगरी फलाम) लिएर आउने बल्क कार्गोका १७ रेक र एकपटकमा एकै प्रकारको बोराबन्द सामान लिएर आउने बैग कार्गो २७ वटा आएका छन्। यस्तो रेकमा एकपटकमा करिब साढे दुई हजार मेट्रिक टन मालवस्तु आउने गरेका छन्। यसरी एक महिनामा पाँच हजार चार सय कन्टेनर। करिब ६७ हजार टन बोराबन्द समान र ४२ हजार टन फलाम आयात भएको छ।

एक महिनामा सय रेक मालवस्तु आउने कुरा कुनै बेला कल्पनाबाहिरको कुरा थियो। अहिले  नेपालमा बढ्दो आयातको दायराले यसलाई नाघेको छ। रेलमार्फत भारतीय बन्दरगाहसँग जोडिएको देशको एक मात्र यो सुक्खा बन्दरगाह क्षमताको अधिकतम विन्दुमा प्रयोग भइरहेको भन्दै यसको भौतिक संरचना विस्तार तथा स्तरोन्नतिको कुरा उठिरहेका बेला ‘रेकर्ड’भंग गर्ने गरी यो नयाँ तथ्यांक देखा परेको छ।

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार सुक्खा बन्दरगाह भएर आयात भारतबाट बल्क कार्गो तथा बैग कार्गो र तेस्रो मुलुकबाट कन्टेनरबन्द मालवस्तु आयात हुने गरेको छ। बल्क कार्गोमा औद्योगिक कच्चा पदार्थको रूपमा फलाम (बिलेट, एएस सिट, एचएस क्वायल) आउने गरेको छ।

त्यस्तै, बैग कार्गोमा पशुपन्छीका दाना बनाउने भटमास, मकै, रासायनिक मल, पिग आइरन, स्पन्ज आइरनजस्ता सामान आउने गरेका छन्। विदेशबाट कन्टेनरमा बन्द भएर आउने सामानहरूमा गेडागुडी, मसला, तयारी तथा अद्र्धतयारी मदिरा, हलुका पेय, कागज, इलेक्ट्रोनिक सामान, पिभिसी प्लास्टिक दाना, प्लास्टिकका अन्य सामान, लुब्रिकेन्ट, मेसिनरी, रसायन, अन्य औद्योगिक कच्चा पदार्थ र अन्य उपभोग्य वस्तुहरू रहेको यहाँस्थित भन्सारको तथ्यांक छ।

रेलमार्फत भारतीय बन्दरगाहसँग जोडिएको देशको एक मात्र वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह क्षमताको अधिकतम विन्दुमा प्रयोग भइरहेको भन्दै यसको भौतिक संरचना विस्तार तथा स्तरोन्नतिको माग गरिएको छ।

गत आर्थिक वर्ष २०७५/७६ मा वीरगन्ज सुक्खा बन्दरगाह भएर ४७ हजार आठ सय ४६ वटा कन्टेनरमा विदेशबाट मालसामान आयात भएको छ। त्यस्तै, एक सय ९९ रेक विभिन्नखाले फलाम आयात भएको छ। त्यसैगरी, वर्षभरिमा दुई सय ६ रेक बोराबन्द सामान आयात भएको छ।

सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले सडकभन्दा आयातकर्ताको रोजाइमा रेलमार्ग पर्न थालेको र समग्रमा नेपालको आयातको आकार बढ्दो देखिएकाले त्यससँगै अहिले सय रेकभन्दा बढी मालसामान आएको तथ्यांक देखिएको बताए। उनले सय बढी रेक ह्यान्डिल गर्न पाउनु आफूहरूका लागि पनि उत्साहप्रद भएको प्रतिक्रिया दिए।

अपुग पूर्वाधार
सुक्खा बन्दरगाहमा बढ्दो आयातको आकारले सरोकारवालामा एकखाले चिन्ता पनि देखिन्छ। ‘अहिले नै सुक्खा बन्दरगाहको पूर्वाधार आयातका लागि अपुग हुन थालेको छ, पछि के होला ?’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य तथा सडक पारवहन समितिका सभापति अशोक टेमानीले भने, ‘मुजफ्रपुरमा अनलोड भइरहेको क्लिंकरका रेक, रक्सोलमा अहिले अनलोड भइरहेको करिब ५० रेक मालवस्तु र सडकबाट रेलतर्फ डाइभर्ट भएर आउने अनुमान गरिएको कार्गो यता आउन बाँकी नै छ। त्यो समेत यता आउन थाल्यो भने अहिलेको सुक्खा बन्दरगाहले थेग्ला र ?’

टेमानीले जाहेर गरेको चिन्ता सरोकारवालाहरूको साझा चिन्ता बनेको छ। यस चिन्ताले उठाएका सवालहरूको ठोस उत्तर भने कसैसँग छैन। आयातको आकार बढिरहेकाले त्यसलाई धान्ने संरचना पनि नेपालसँग हुनुपर्नेमा त्यो नभएको भन्दै आयातकर्ताले चिन्ता जनाएका छन्। सडकभन्दा सुरक्षित, छरितो, कम खर्चिलो हुने भएपछि आयात व्यापारका लागि रेल्वेलाई भरपर्दो मानिएको छ।

सामानहरू बढी आउन थालेपछि सुक्खा बन्दरगाहमा सीमित संरचनामा त्यसलाई व्यवस्थापन गर्न कठिनाइ हुन थालेको सुक्खा बन्दगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका कर्मचारी बताउँछन्। नेपालमा व्यापार र पारवहनका समस्याहरूलाई सोच्ने वा ध्यान दिने ध्येयको कमी नीति निर्माण तहमा देखिएको आयातकर्ताले गुनासो गरे।

सुक्खा बन्दरगाहको स्तरोन्नति र नयाँ आइसिडी (इन ल्यान्ड कन्टेनर डिपो) थप्नुपर्ने र डस्टी कार्गोका लागि बेग्लै रेल्वे यार्ड बनाउनुपर्ने काम एकसाथ थालेर दुई/तीन वर्षभित्र पूरा गरे मात्र अहिलेको बढ्दो व्यापारलाई धान्न सक्ने विज्ञ बताउँछन्।

यसै पनि विदेशबाट नेपाल आयात भएर आउने मालसामान बढेको छ। त्यस्तै, निर्माण सामग्रीको उत्पादनका लागि कच्चा पदार्थको आयात पनि स्वाभाविक हो। कृषिका लागि रासायनिक मलको आयात अनिवार्य नै छ।

सीमानाका साढे चार महिना बन्द भएका बेला पनि यहाँ भएर आयात रोकिएन। व्यापारीहरू सुक्खा बन्दरगाहको भर पर्न थालेका छन्। पशुपन्छीको दाना बनाउने उद्योग पनि नेपालमा थपिने क्रममै छन्। यसरी समग्रमा आयात बढ्दा सुक्खा बन्दरगाहमा चाप बढेको हो। संरचना भने उही करिब डेढ दशक पुरानो छ।

यसैबीच, वाणिज्यमन्त्री मातृका यादव र वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले त्यहाँ स्थलगत अनुगमन गरिसकेका छन्। नयाँ संरचना बढाउन सुक्खा बन्दरगाह र आइसिपीबीचको करिब ६२ बिघा जग्गा खरिद गर्न रोक्का गरिएको छ। तर, मुआब्जा विवादले त्यसमा काम अगाडि बढेको छैन।

प्रकाशित: ९ भाद्र २०७६ ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App