९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

फस्टाउँदै होटल व्यवसाय

सिमरामा सञ्चालनमा ल्याइएको चारतारे होटल इच्छा।

बारा - वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा केही वर्षयता होटल व्यवसाय फस्टाउँदै गएको छ। अन्य व्यवसायको तुलनामा यसमा फाइदा देखिएपछि सो क्षेत्रका लगानीकर्ता हौसिएका छन्। करिडोरमा पर्ने जितपुर, सिमरा, पथलैया र त्रिभुवन राजपथको अमलेखगन्जमा होटल व्यवसाय फस्टाउँदै गएको हो।

नेपालको कुल वैदेशिक व्यापारको ६० प्रतिशतजति व्यापार हुने वीरगन्ज भन्सारबाट २० देखि ३० किलोमिटर दुरीमा पर्ने यी स्थानमा भारतीय पर्यटक र पर्सा राष्ट्रिय निकुञ्जमा आउने पर्यटक वृद्धि भएपछि होटल खोल्न प्रतिस्पर्धा नै चलेको छ। प्रतिस्पर्धाले यस क्षेत्रमा चारतारे स्तरीयदेखि साना होटलसम्म खुलेका छन्।

ग्राहकको बढ्दो चाप धान्न सबै स्तरका होटल खोल्ने क्रम बढेको होटल तथा पर्यटन व्यवसायी महासंघ बाराका अध्यक्ष मोहन शर्माले बताए। दुई वर्षकै अन्तरालमा सिमरामा मात्रै दर्जनभन्दा बढी स्तरीय होटलसँगै चारतारे होटल सञ्चालनमा आएको शर्माले बताए।

यस अवधिमा सञ्चालनमा आइसकेका र निर्माणाधीन होटल र रिसोर्ट गरी डेढ अर्ब हाराहारी लगानी भएको शर्माको अनुमान छ। ती होटलले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब एक हजारजनालाई रोजगारी दिएको शर्माले बताए।

सिमराको सेज सञ्चालनमा आउन थालेको र काठमाडौं–निजगढ दु्रतमार्ग तथा दोस्रो निजगढ विमानस्थल निर्माण चरणमा रहेकाले यस क्षेत्रमा होटल अझै खुल्ने र लगानीले सार्थकता पाउने विश्वास गरिएको छ।

सिमरा विमानस्थलसँगै टाँसिएको तीनतारे होटल एयरपोर्ट सिमरा असोजदेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अगाडि बढाइएको छ। अर्को एसएस प्लाजा नामक तीनतारे होटलको पनि निर्माण सुरु गरिएको शर्माले बताए।

सिमरामै होटल गौतम राज र राजमार्ग छेउमै क्विक ट्वान्टी रिभर साइड रिसोर्ट निर्माणधीन अवस्थामा छन्। निर्माणाधीन होटल तथा रिसोर्टमा वातानुकूलित कोठा, खेल, मनोरन्जन, क्यासिनो, स्विमिङ पुल, मसाज, स्पा, व्यायामशालालगायत सुविधा उपलब्ध हुने होटल व्यवसायीको भनाइ छ। यसअघि सिमरामा चारतारे होटल इच्छा, सिमरा इन, होटल सगुन, झापाली होटल, होटल सम्यक, लामा होटललगायत रिसोर्ट र दर्जनौं स्तरीय रेस्टुरेन्ट सञ्चालनमा छन्।

प्रकाशित: ८ भाद्र २०७६ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App