१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फेरी बढ्यो सुनको मूल्य

काठमाडौँ- पछिल्लो एक महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ र चाँदीमा प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ। छापावाला सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँ पुगेको छ। मङ्गलबार छापावाला सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोवार भएको थियो।     
     
यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला तीन सय रुपैयाँले वृद्धि भएको छ। स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ। मङ्गलबार तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो।     
     
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। आज चाँदीको मूल्य पाँच रुपैयाँले वृद्धि भएर प्रतितोला ८ सय ३० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। मङ्गलबार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा खरीदबिक्री भएको थियो। भदौ लागेसँगै स्थिर भएको सुनको मूल्य आज वृद्धि भएको हो। गत साउनको शुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो। साउन महीनामा सुनको मूल्य प्रतितोला सात हजार र चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको छ।     
     
साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँ, तेजाबी सुन ६४ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। साउनको अन्तिममा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको थियो। साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँ, तेजाबी सुन ७१ हजार २ सय रुपैयाँ तथा चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।     
     
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५ सय अमेरिकी डलर पुगेको छ।     
     
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो। चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ।     
     
सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ। दैनिक २०÷२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुस्किलले १० किलो पनि बिक्री हुन नसकेको महसङ्घले जनाएको छ। अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ।रासस   
 

 

प्रकाशित: ४ भाद्र २०७६ ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App