१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

खानेपानी आयोजनाको काममा ढिलासुस्ती

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दूधकोसीको पानी निकाल्नका लागि सुरु गरिएको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको छ ।

आयोजना निर्माणको अवधि करिब पाँच महिना बाँकी रहँदा २५ प्रतिशत मात्र काम सकिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । म्याद सकिन लाग्दासम्म पनि मुख्य ठेकेदार कम्पनी दिवा–महादेव खिम्ती जेभीले अपेक्षित र सन्तोषजनक प्रगति देखाउन नसकेको भन्दै हलेसी तुवाचुङ नगरपालिका घर भएका नेताको टोलीले खानेपानी मन्त्री बिना मगरको ध्यानाकर्षण गराएको छ ।

दूधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाइनको ठेक्का लिएको मुख्य ठेकेदार कम्पनी दिवा–महादेव खिम्ती जेभीको काममा ढिलासुस्ती भएको भन्दै मेयर राई, युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेल, नेकपा हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष सुरेन्द्र राई लगायतको टोलीले मन्त्री मगरको ध्यानाकर्षण गराएका हुन् ।

२०७६ साल पुस १७ गतेसम्ममा काम पूरा गर्नेगरी दिवा–महादेव खिम्तीले २०७४ साल असार २१ गते कामको सम्झौता गरेको थियो । सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाका सात वडाको खानेपानी समस्या हल गर्न सुरु गरिएको करोडौंको आयोजनाको कामले अपेक्षित प्रगति देखाउन नसकेकाले मन्त्रीलाई द्रुत गतिमा काम अघि बढाउन पहल गर्न आग्रह गरिएको मेयर राईले बताए ।

वितरणलाईनतर्फको काम गरिरहेको लामा कन्ट्रक्सन जेभी र रमम–सगरमाथा घिमिरे जेभीको काम समेत सन्तोषजनक नदेखिएको स्थानीयको गुनासो छ । दूधकोसीको पानीलाई भुम्जुडाँडा र काभ्रेडाँडामा निकालेर नगरपालिकाका ७ वडाका कम्तीमा ३ हजार ७५६ घरधुरीलाई बितरण गर्ने लक्ष्यकासाथ बृहत पम्पिङ खानेपानी आयोजनाको काम अघि बढाइएको हो । करिब ९२ करोडको लागतमा सुक्खाग्रस्त घोषित वडामा दूधकोसीबाट दैनिक ६ लाख लिटर पानी लिफ्ट गर्ने तयारी गरिएको छ । सुक्खाग्रस्त क्षेत्रका ७ वडामा नदीको पानी तान्न वा वर्षाको पानी संकलन गर्नुको बिकल्प छैन ।

बाहुनीडाँडाको लुलीमाबाट १३०४ मिटर उचाईमा रहेको भुम्जुडाँडामा निकालिने मेनलाईनको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेका उपभोक्ताको घर–घरमा वितरण गरिने छ । यस्तै, सल्लेको महादेवबेँसीबाट १३३५ मिटर उचाईमा रहेको काभ्रेडाँडामा निकालिने पानीलाई हलेसी, दुर्छिम र मंगलटारमा वितरणको तयारी छ।

काभ्रेडाँडा र भुम्जुमा ४÷४ लाख लिटर क्षमताको ट्यांकीमा पानी संकलन गरेर गाउँमा वितरण गरिने उपभोक्ता समितिले जनाएको छ । पानीको श्रोत नभएको तथा जनसंख्य बृद्धिका कारण भएका श्रोतले अपुग हुन थालेकोले हलेसी क्षेत्रलाई जिल्ला दैबीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । २०७५ साल माघ २४ गते गरेको अनुगमनकाक्रममा नगरपालिकाले वितरणलाईन अन्तरगत च्यास्मीटारमा निर्माणाधिन ७० हजार लिटर क्षमताको आरभिटी ट्यांकीको जग निर्माणको काम गुणस्तरहिन भएको औंल्याएको थियो ।

प्रकाशित: ३० श्रावण २०७६ ०५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App