१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सवा अर्बमा चन्द्रागिरी रिसोर्ट निर्माण

चन्द्रागिरी डाँडोमा निर्माण गरिएको चन्द्रागिरी बुटिक रिसोर्ट। तस्बिर : नागरिक

काठमाडौं – चन्द्रागिरीमा केबलकार निर्माण गरेको चन्द्रागिरी हिल्स लिमिटेडले सवा अर्ब रुपैयाँको लगानीमा पाँच तारे चन्द्रागिरी बुटिक रिसोर्ट निर्माण गरेको छ। चन्द्रागिरीको डाँडोमा एक अर्ब २५ करोड रुपैयाँको लगानीमा एक सय रुमको रिसोर्ट निर्माण गरेको छ।

४० कोठामा पाहुना राख्न सुरु गरेको लिमिटेडले जनाएको छ। पूर्वाधार निर्माणको काम सकिएर केही रंगरोगनको काम बाँकी भएकाले आगामि सेप्टेम्बरबाट पूर्ण रुपमा सञ्चालनमा ल्याउने चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए। ‘अहिले सफ्ट लन्चिङ गरेर सञ्चालनमा ल्याएका हौं,’ शाहले भने, ‘सेप्टेम्बरदेखि सय कोठा नै बुकिङ खुल्ला गर्छौं।’

चन्द्रागिरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न रिसोर्ट निर्माण गरिएको चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। ‘पर्यटन वर्ष २०२०लाई लक्षित गरेर रिसोर्ट सञ्चालनमा ल्याएका हौं,’ ढकालले भने, ‘यसले काठमाडौं आउने विदेशी पर्यटकको बसाई लम्बाउन टेवा पु-याउँछ।’

काठमाडौंमा एक दिनका लागि परिवारसहित घुम्न निस्किन चाहानेका लागि चन्द्रागिरी उपयुक्त गन्तव्य भएको ढकालले बताए। उक्त कम्पनीलाई आइएमई समूहले प्रवद्र्धन गरेको हो। पाँच हेक्टर क्षेत्रफलमा फैलिएको रिसोर्टमा साढे तीन हेक्टरमा संरचना निर्माण गरिएको छ। बुटिक रिसोर्ट भएकाले अरु पाँच तारे होटल भन्दा फरक शैलीमा निर्माण गरिएको कम्पनीको दाबी छ। रिसोर्टमा स्वीट रुम, टू इनर स्वीट रुम, डिलसक्स रुम, स्विमिङ पुल छ।

स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर निर्माण गरेको उक्त रिसोर्टबाट काठमाडौं र आसपासका हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ। रिसोर्ट समुन्द्र सतहबाट २५ सय मिटरको उचाईमा छ। त्यहाँको मौसम छिनछिनमा परिवर्तन हुने भएकाले आन्तरिक र विदेशी पर्यटकले भरपुर मनोरन्जन लिन सक्ने शाहले बताए।

रिसोर्टमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर विभिन्न प्रकारका कोठा तयार गरिएको छ। एक रातको न्यूनतम १० हजार रुपैयाँ लाग्ने रिसोर्टले जनाएको छ। ‘काठमाडौं बाहिर जाँदा गाडीकै पाँच/सात हजार तिर्नुपर्छ,’ शाहले भने, ‘काठमाडौं नजिकै कम खर्चमा रात बिताउन सकिन्छ।’ विदेशीको तुलनामा नेपालीलाई मूल्य कम पर्छ।

रिसोर्टमा विवाह, पार्टी, कर्पाेरेट इभेन्ट, सेमिनार, सभा सम्मेलनका लागि हलको व्यवस्था छ। भारतमा विभिन्न ठाउँलाई विवाह गर्ने गन्तव्यको रुपमा विकास गरे जस्तै उच्च आम्दानी हुनेलाई आकर्षित गर्ने शाहले बताए। ‘वैवाहिक कार्यक्रमका लागि पनि तयार गरेका छौं,’ शाहले भने, ‘भालेश्वर मन्दिर भएकाले मन्दिरमा विवाहका लागि आउने पाहुनलाई रिसोर्टमा सेवा दिन्छौं।’

रिसोर्टमा हेलिकप्टर चार्टर गरेर पनि जान सक्ने व्यवस्था गरिएको छ। विदेशी पर्यटकलाई विमानस्थलबाट हेलिकप्टरबाट सिधै चन्द्रागिरि लैजाने योजना छ। मन्दिरदेखि रिसोर्टसम्म जानका लागि सवारी साधनको व्यवस्था गरेको छ। विदेशमा मार्केटिङ गर्न विदेशका तारे होटल र पर्यटन क्षेत्रमा काम गर्ने संस्थासँग सहकार्य गर्ने तयारी छ। ‘विदेशी चेन होटलसँग पनि समन्वय गरेका छौं,’ शाहले भने, ‘विदेशी पर्यटक आकर्षित गर्ने योजना हो।’

चन्द्रागिरी हिल्सले त्यहाँ  केबलकार, भालेश्वर मन्दिर, भ्यू पाइन्ट लगायत पर्यटकीय स्थल निर्माण गरेर सञ्चालनमा ल्याएको छ। चन्द्रागिरी डाँडामा एक वर्षमा नै सात लाख स्वदेशी तथा विदेशी पर्यटक केबलकार चढेर पुगेका छन्। अधिकांश परियोजना निर्माण सम्पन्न गरेको भए पनि नयाँ–नयाँ कार्यक्रम ल्याउने लिमिटेडको योजना छ।

प्रकाशित: २४ श्रावण २०७६ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App