१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

म्याद सकिँदा काम आधा

निर्माणाधीन हिलाम्ये ६ लेन सडक। तस्बिर : नागरिक

धनगढी –सुदूर–पश्चिम प्रदेशको गौरव आयोजना भनिएको धनगढी–मोहना–अत्तरिया जोड्ने ६ लेन सडकको म्याद सकिँदा आधा पनि काम भएको छैन। आयोजना कार्यालय र निर्माण कम्पनीको कमजोरीका कारण ठेक्का सम्झौताअनुसार आयोजना सम्पन्न गरिसक्नुपर्ने म्याद सकिएको दुई महिना हुँदा आधामात्रै काम भएको हो।

सुदूर–पश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीलाई जोड्ने एकमात्र सडकको काम समयमा सम्पन्न नहुँदा धेरै असर परेको स्थानीय बताउँछन्। सडकमा खाल्डाखुल्डी र निर्माणाधीन कल्भर्टले दुर्घटना भएर सर्वसधारणको अकालमै ज्यान गइरहेको छ भने सुक्खा याममा सडक धुलाम्ये र बर्खामा हिलाम्ये भएर सर्वसाधारणले सास्ती खेपेका छन्। ‘आयोजना र ठेकेदारको चरम लापरवाहीले ६ लेन सडक निर्माणको काम लम्बिँदा हामीलाई धेरै समस्या भएको छ,’ स्थानीय जयबहादुर बोहराले भने।

 म्याद सकिएको दुई महिना बित्यो, म्याद थप्ने वा नथप्ने अझै अन्योल, चार प्रमुख फेरिए

समयमा निर्माण सम्पन्न नहुँदा ठाउँठाउँमा रहेका खाल्डा र निर्माणाधीन कल्भर्टका कारण मोहना पुल–अत्तरिया खण्डमा दुर्घटनामा परी अहिलेसम्म ६ जनाको ज्यान गएको छ भने कयौं घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार निर्माण सुरु भएपछि मात्रै ६ जनाले ज्यान गुमाइसकेका छन्। दसौं हजार सर्वसाधारणलाई धुलो, धुँवा लगायतको सास्ती दिने गरी निर्माणमा लापरवाही गर्ने निर्माण कम्पनीलाई सजाय दिने र सचेत गराउने काम आयोजनाले गरेको छैन।

म्याद सकिएको दुई महिना बित्यो
ठेक्का सम्झौता अनुसार ६ लेनको निर्माण काम सिध्याउने म्याद गत जेठमा समाप्त भएको छ। म्याद सकिएको दुई महिना भए पनि निर्माण कम्पनीले काम जारी राखेको छ। आयोजनाले म्याद थप्ने निर्णय पनि गरेको छैन। समयमा निर्माण सम्पन्न नगरेकोमा जरिवाना समेत गरेको छैन।

चारजना प्रमुख फेरिए
मोहना पुल अत्तरिया ६ लेन सडक योजना निर्माणको अवधिमा चारजना प्रमुख फेरिएका छन्। सुरुमा नविनमान श्रेष्ठले प्रमुखको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि मनिष शाह, राजेश पौडेल र अहिले होमबहादुर एसी छन्।
धनगढी भन्सार रोडदेखि अत्तरिया चोकसम्म १४.२ किलोमिटर लामो ६ लेन सडक तीन खण्डमा छुट्ट्याएर छुट्टाछुट्टै ठेक्का दिइएको थियो। धनगढी बोराडाँडीदेखि मोहनपुरसम्म साढे चार किलोमिटर दोस्रो खण्ड र मोहनपुरदेखि अत्तरियासम्मको ५.२ किलोमिटर तेस्रो खण्डको निर्माण अवधि जेठ १६ मा सकिएको हो। भन्सार रोडदेखि बोराडाँडीसम्मको पहिलो खण्डको सम्झौता अवधि २५ जेठमा सकिएको हो। दोस्रो र तेस्रो खण्डमा राजेन्द्र निर्माण सेवाले ठेक्का लिएको थियो। पहिलो खण्डमा नागार्जुन कन्सट्रक्सनले ठेक्का लिएको थियो। एक अर्ब ६८ करोड रुपैयाँ आयोजनाको लागत रहेको छ।   

परियोजना अन्तर्गत शून्यदेखि साढे चार किलोमिटरसम्म झण्डै ५८ करोड १७ लाख रुपैयाँ, साढे चारदेखि नौ किलोमिटरसम्म झण्डै ५२ करोड १४ लाख र नौदेखि १४ किलोमिटरसम्म झण्डै ५८ करोड ३३ लाख रुपैयाँमा ठेक्का दिइएको हो।

भन्सार रोडस्थित मोहना पुलदेखि अत्तरिया चोकसम्म १४.१७ किलोमिटर तथा ३२.२ मिटर चौडा रहने छ। ६ लेनको सडकमा ८० किलोमिटर प्रतिघन्टाका दरले सवारी कुदाउन सकिने योजनाको डिजाइनमा उल्लेख छ। उक्त सडकको दुवै किनारामा ३–३ मिटर फुटपाथ रहने डिजाइन छ।

म्याद थप्ने, नथप्ने अझै अन्योल
निर्माण कम्पनीहरुले सडक योजनामा निर्माण अवधि थपका लागि पठाइएको फाइल फिर्ता आएको छ। निर्माण व्यवसायीले डेढ वर्ष म्याद थप गरी पाउँ भन्दै पेस गरेको निवेदन ६ लेन सडक योजना कार्यालयले सिफारिस सहित संघीय सडक सुपरिवेक्षक तथा अनुगमन कार्यालय सुर्खेतमा पठाएको थियो। म्याद थप गर्नुपर्ने स्पष्ट आधार र थपेको समयमा काम सक्ने आधार तथा प्रमाण सहित पेस गर्न निर्देशन गर्दै निवेदन फिर्ता पठाएको मोहना पुल अत्तरिया ६ लेन सडक योजना प्रमुख एसीले बताएका छन। ‘निर्माण कम्पनीलाई थप भएको अवधिमा काम सक्ने आधार प्रमाण सहित पेस गर्न माग गरिएको छ,’ उनले भने, ‘अहिलेसम्म निर्माण कम्पनीले पेस गर्न सकेका छैनन।’

उनीहरुले स्पष्ट आधार पेस गरेमा एक वर्ष म्याद थप गर्न सकिने प्रावधान रहेको उनले बताए। उनीहरुले स्पष्ट आधार पेस गर्न नसकेमा म्याद थप नभई निर्माण व्यवसायी कम्पनीलाई कानुनी कारवाही हुने उनको भनाइ छ। ‘म्याद थप नभएमा उनीहरुले निर्माणको काम पनि पूरा गुर्नपर्ने छ भने भुक्तानी हुने छैन,’ उनले भने।

करिब ४५ प्रतिशत निर्माणको काम भएको र ३३ प्रतिशत भुक्तानी भएको उनले बताए। सार्वजनिक खरिद संशोधित ऐनमा पूर्वाधारतर्फका पुराना योजनाको हकमा सुरुको अवधिको ५० प्रतिशतभन्दा बढी म्याद थप गर्न नपाउने व्यवस्था गरिएको छ। ६ लेन सडकमा पनि बढीमा एक वर्ष मात्र म्याद थप हुनेछ।

प्रकाशित: २१ श्रावण २०७६ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App