३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने

रसुवा – रसुवागढी नाकामा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने भएको छ। सामग्री आइसकेको र यसको प्राविधिक परीक्षणपछि इनस्टल गरिने रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ।

पहिले विराटनगर भन्सार कार्यालयमा सञ्चालन गरेर राखिएको मेसिन ल्याइएको र यसमा प्राविधिक समस्या हुन सक्ने भएकाले परीक्षण गर्न लागिएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए। यसको वारेन्टी म्यादसमेत सकिएको छ।

कुनै समस्या आएमा आफैंले मर्मत गर्नुपर्ने भएकाले विभागसँग समन्वय गरिरहेको उनले बताए। प्राविधिक परीक्षण गरिएपछि नाका नजिकै निर्माण गरिएको प्रि–फेब्रिकेटेड भवनबाट सेवा सञ्चालनमा ल्याइने छ।

‘रसुवागढी’ अन्तर्राष्ट्रिय नाका भएका कारण यसलाई प्रविधिमैत्री बनाउन लागिएको हो। सेवालाई प्रभावकारी, गुणस्तरीय र सुशासनमैत्री बनाउने लक्ष्यसाथ केही वर्ष पहिलेदेखि पहल थालिएको थियो।

सीमामा हुन सक्ने अवैध क्रियाकलाप रोक्न प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राख्न लागिएको कार्यालयले जनाएको छ। नाकामा प्रविधिको अभावमा धेरै समस्या झेल्न परेको छ।  प्रविधि सञ्चालनका लागि प्रहरी र कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिने छ।

प्रविधि जडान भएपछि सीमामा अवैध गतिविधि रोक्न सहयोग पुग्ने छ। जिल्ला प्रशासन कार्यालय रसुवाको पहल र भन्सार कार्यालयको समन्वयमा नाकामा प्रविधि जडान गर्न लागिएको हो।

यसअघि पटकपटक योजना बनेको भए पनि योजना कागजमा नै सीमित बन्न पुगेको थियो। यसअघिका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले स्थलगत निरीक्षण गरेर आवश्यक सामग्रीको लागि भन्सार कार्यालय र विभागसँग निरन्तर पहल गरेका थिए।

सीमामा देखिएका हरेक समस्या समाधानका लागि योजना निर्माण गरिएको छ। नाकामा चिनियाँ तथा विदेशी पर्यटकको चाँप बढ्दै गएको छ। प्रविधिको अभावमा झोला खोतल्ने र शरीर जाँच गर्दा समस्या आएपछि नाकालाई प्रविधिमैत्री बनाउन लागिएको हो।

अहिले रहेको प्रि–फेब्रिकेटेड भवनमा पर्याप्त ठाउँ नभएपछि थप गर्नका लागि जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले प्रक्रिया अघि बढाएको छ। यो नाकाबाट तयारी कपडा, स्याउ, जुत्ता/चप्पल, चस्मा/चस्मा फ्रेम र झोला/फाइल ब्याग बढी मात्रामा आयात हुने गरेको कार्यालयले जनाएको छ।

प्रकाशित: २१ श्रावण २०७६ ०३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App