१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

तेस्रो पूर्वाधार सम्मेलन भदौ २५ गतेबाट

काठमाडौं – नेपाल उद्योग परिसंघले आगामी भदौ २५ गतेबाट तेस्रो पूर्वाधार सम्मेलन गर्ने भएको छ। काठमाडौंमा हुने उक्त सम्मेलनमा सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदाय समेतको सहकार्यमा सम्मेलनको तयारी भइरहेको परिसंघले जानकारी गराएको छ।

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा उद्घाटन हुने उक्त सम्मेलनमा दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान सुंग सो विशेष अतिथिको रुपमा सहभागी रहने जनाइएको छ। साथै, सम्मेलनमा बगंलादेशका ऊर्जामन्त्री तथा भारतका वरिष्ठ मन्त्री र लगानीकर्तालाई आमन्त्रण गरिएको छ।

यसैगरी सातै प्रदेशका मूख्यमन्त्री, विकास साझेदारका प्रमुख, विश्व बैंक, एसियन विकास बैंक, युरोपियन युनियन, डब्लु डब्लु एफका प्रतिनिधिसहित देश तथा विदेशका लगानीकर्ताको समेत सम्मेलनमा सहभागिता रहने छ।

सम्मेलनबारे जानकारी गराउँदै परिसंघका अध्यक्ष सतिशकुमार मोरले पूर्वाधारमा गरिने उच्च लगानीको ‘मल्टिप्लायर इफेक्ट’ अर्थात बहुआयामिक प्रभावले आर्थिक वृद्धिमा ठूलो योगदान पुग्नेमा जोड दिए।

नेपाल सरकारले पनि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा तय गरेर पूर्वाधार विकासलाई केन्द्रमा राख्ने नीतिले निजी क्षेत्रलाई पूर्वाधार विकासमा लगानी बढाउन तथा सार्वजनिक निजी साझेदारीमा ठूला परियोजना विकास गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे।

सम्मेलनमार्फत पूर्वाधारमा लगानी बढाउने अवसरसहित लगानीकर्ताको ध्यान केन्द्रित गर्ने, पूर्वाधारको आवश्यकता तथा विकासमा प्रदेशले देखाएको अग्रसरता समेट्न लक्ष्य रहेको छ। दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा देशभित्र र बाह्य देशका गरि पाँच सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने जनाइएको छ।

सम्मेलनमा विशेषगरी सन् २०३० सम्ममा नेपालले कुन–कुन क्षेत्रमा भौतिक पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको लगायत विषयमा छलफल हुने जनाइएको छ।

पूर्वाधार विकासमा जोड दिँदै गरिने उक्त सम्मेलनमार्फत राष्ट्रिय योजना आयोगलाई लगानीका क्षेत्रमा आवश्यक जानकारी पुग्ने विश्वास परिसंघले लिएको छ।

प्रकाशित: २० श्रावण २०७६ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App