१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सुनकोसी मरिन डाइभर्सनको डिपीआर तयार: ७६ अर्ब लागतमा ५ वर्षमा निर्माण गर्ने लक्ष्य

सिन्धुली– राष्ट्रिय गौरवको बहुउदेश्य आयोजना अन्तर्गतको सुनकोसी मरिन डाइभर्सनको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको छ। डिपिआरमा तयार भएअनुसार झन्डै ७६ अर्ब रुपैया लागतको उक्त आयोजना बन्ने देखिएको छ।

सुनकोसी मरिन डाइभर्सन आयोजना प्रमुख सुशिल आचार्यका अनुसार सुनकोसीको पानी मरिनमा लिफ्ट गरि जलविद्युत उत्पादनका लागि नेपाली रुपैयाँ करिब ४६ अर्ब १९ करोड लाग्ने अनुमान गरिएको छ भने बाँकी संरचना निर्माण गर्नका लागि झन्डै ३० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक प्रतिवेदनमा सार्वजनिक भएको छ। जसबाट २८ दशमलब ६२ मेगावाट जलविद्युत उत्पादन हुने जनाइएको छ। ‘हाम्रो मुल उदेश्य सिचाई सुविधा बढाउनु नै हो’ आयोजना प्रमुख आचार्यले भने, ‘सिचाईका लागि सुनकोसी डाइभर्सन गर्दा विद्युत उत्पादन हुने हो।’

यहाँको सुनकोसी गाँउपालिकाको वडा नं. ६ को सुनकोसी नदीमा १२ मिटर उचाईको बाध बाँधि ६७ क्युविक प्रति सेकेन्ड पानी १३ दशमलव १ किलोमिटर सुरुङगको माध्यमबाट कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटारस्थित मरिन खोलामा पानी खसालिने आयोजनाले जनाएको छ। नेपाल सरकारको प्रमुख प्राथमिकतामा परेसँगै सुनकोसी मरिन डाइभर्सन आयोजनाको कामसमेत अगाडी बढेको आयोजनाले जनाएको छ। आयोजनाबाट प्रभावित क्षेत्रमा विस्तृत अध्ययन तथा स्थलगत निरिक्षण गर्नुका साथै स्थानीयसँग छलफल भइरहेको आयोजना प्रमुख आचार्यको भनाई छ।

गत जेठ १५ गते आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्ने क्रमममा अर्थमन्त्री युवराज खतिवडाले सुनकोसी–मरिण डाइभर्सनको काम आगामी वर्षबाट शुभारम्भ गर्नेगरी २ अर्ब ५ करोड रुपैयाँको बजेट समेत विनियोजन गरेपछि आयोजनाको काम सुरु भएको हो। सुनकोसी गाँउपालिका ६ स्थित सुनकोसी नदीको पानीलाई सुरुङमार्फत मरिण खोलामा खसाल्ने आयोजनाको लक्ष्य हो। आयोजनाबाट सुनकोशीको ६७ क्युमेक्स पानी मरिणमा खसाल्ने योजना बनेको छ। त्यसबाट साढे २८ मेगावाट बिजुलीसमेत उत्पादन गर्ने सुनकोसी मरिण डाइभर्सन आयोजनाका इन्जिनियर दिलिप विश्वकर्माले जानकारी दिए। विद्युत आयोजनाको पावर हाउस भने कमलामाई नगरपालिका–२ को कुसुमटार फाँटमै रहनेछ। विभिन्न जिल्लालाई सिचाईको सुविधा पु-याउन सरकारले यो आयोजनालाई अगाडी बढाएको हो।

तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको कुल १ लाख २२ हजार हेक्टरमा सिँचाइ पु¥याउने यो आयोजनाको उद्देश्य रहेको आयोजना प्रमुख आचार्यको भनाई छ। सुनकोशीको पानी डाइभर्सन पछि मरिण नदीमा मिसाउन कमलामाई नगरपालिका–२ कुुसुमटार फाँटमै खसालिने छ।

उक्त फाटबाट मरिण नदी हुदै ४२ किलोमिटर दुरीमा रहेको बागमती बाँधमा पानी पु¥याई सिचाईको सुविधा बढाउने लक्ष्य सरकारको छ। हाल बागमती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिंचाई हुँदै आएको छ भने सुनकोशी–मरिन–डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने देखिएको छ। सुनकोसी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाले गरेको सार्वजानिक सुनुवाईमा सार्वजानिक प्रतिवेदन अनुसार यो आयोजना निर्माण सम्पन्न हुन करिब ६० महिना लाग्ने देखिएको छ।

निर्माणको ठेक्का प्रक्रिया यसैबर्षबाट सुरु हुने र ठेक्का सम्झौता भएको मितिले ४ बर्षभित्र आयोजनाका मुख्य संरचनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपालको जलविद्युत गुरु योजनामा सुनकोसी नदीमा सुनकोसी १, सुनकोसी २, र सुनकोसी ३ गरि तीनओटा उच्च बाधका आयोजनाहरुको परिकल्पना गरिएको परामर्शदाताका बातावरण इन्जिनियर सुवर्ण जोशीले बताए। उनका अनुसार आयोजनाहरुको स्थान सुनिश्चित गर्दा सप्तकोसी उच्च बाधको तहलाई मध्यनजरमा राखी गरिनुका साथै बराहक्षेत्रको तलको बहावदेखी १ दशमलब ६ कि.मिमा रहनेछ भने सुनकोसी १, र २ मरिन डाइभर्सन आयोजना भन्दा तल रहनेछ भने सुनकोसी ३ माथि रहनेगरि परिकल्पना गरिएको छ। सुनकोसी मरिन डाइभर्सन हुने भएपछि स्थानिय समेत हौसिएका छन्। प्रभावित क्षेत्रका बासिन्दालाई उचित मुआब्जा दिए राष्ट्रिय गौरवको आयोजना बन्नु स्थानीयको लागि ठुलो अवसर भएको स्थानीयको बुझाई छ। 

प्रकाशित: १७ श्रावण २०७६ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App