६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

भन्सार कर्मचारीकै मिलेमतोमा तस्करी

भन्सार कार्यालयको मिलेमतोमा कम मूल्यांकनमा छाडिएको कपडा। जिल्ला प्रहरी कार्यालय रौतहटले उक्त कपडा शुक्रबार सार्वजनिक गरेको हो। तस्बिर : नागरिक

रौतहट – एउटा ताजा घटनाले गौर भन्सारका कर्मचारीकै सहयोगमा तस्करी भइरहेको रहस्योद्घाटन गरेको छ। सीमावर्ती भारतीय बजारबाट ल्याइएको कपडा भन्सार कर्मचारीले कम मूल्यांकनमै जाँचपास गरेर तस्करी गराइरहेको पोल खुलेको हो।

सीमा नाकामा प्रहरीले निकै कडाइ गरेपछि भन्सार कर्मचारीकै मिलेमतोमा तस्करी भएको हो। भारतबाट आउने महँगा कपडा, सर्जिकल उपकरण, औषधिलगायत सामान गौर भन्सारका कर्मचारीले कम मूल्यमा छुटाएर थोरै राजस्व तिर्न लगाई संगठित रुपमा तस्करी गराइरहेको बताइन्छ।

रौतहटको समनपुरस्थित गुप्ता बस्त्रालयको नाममा आयात भएको तीन लाख ५० हजार मूल्यको कपडा गौर भन्सारका कर्मचारीले १८ हजार मूल्याँकन गरी ३३ प्रतिशतले हुन आउने ६ हजार राजस्व लिएर छाडेको फेलापरेको हो। उक्त सामान जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर भन्सारनजिकैबाट नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त रहस्य खुलेको हो।

प्रहरी नियन्त्रणमा लिएको पोकामासुती साडी ३० थान, इम्ब्रोइडरी साडी १० थान, गम्छा चार सय ९५ थान, लुंगी पाँच थान र बेडसिट १० थान छ। तस्करीलाई सघाउन उक्त भन्सार कार्यालय अगाडि जडान भएको सिसी क्यामरा कर्मचारीले नै बिगारेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले गोप्य सूचनाका आधारमा खटिएको विशेष टोलीले भन्सार क्षेत्रबाट करिब ६ जनाले उचाल्न सक्ने ठूलो पोका कपडा नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि त्यो रहस्य खुलेको बताए। उक्त कपडा छुटाउन केहीले निकै प्रयास गरेको उनको भनाइ छ। ‘साढे तीन लाखको कपडा १८ हजार मूल्यांकन गरी ६ हजार राजस्व लिएर छाडेको भेटिएपछि भन्सार कर्मचारीकै संलग्नता पुष्टि भएको हो,’ उनले भने। बरामद भएको सामान आवश्यक कारबाहीका लागि गौर भन्सार या राजस्व कार्यालय पठाउने उनले बताए।

भन्सार अधिकृत आशुतोष राईले प्रज्ञापनपत्रमा उल्लेख भएकै सामान हुनुपर्ने जिकिर गर्दै कम मूल्यांकन नगरेको बताए। जाँचपास गर्ने अधिकारी उनी नै भए पनि त्यस विषयमा बुझ्दैछु भनेर पन्छिन खोजे। कुनै पनि व्यापारीसँग साँठगाँठ नगरेको उनको जिकिर छ। चार महिनाअघि बिग्रेको सिसी क्यामेरा अझै नबनाएको रहस्य पनि उनले खोले।

प्रकाशित: १२ श्रावण २०७६ ०४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App