९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

पहाडी गाउँमा पनि भारतीय तरकारी र फलफूलको बिगबिगी

भारतबाट आयातित तरकारीमा विषादी परीक्षण गर्नुपर्ने बहस चलिरहेका बेला विषादीको अवस्था बुझ्न शुक्रबार कालीमाटी फलफूल तथा तरकारी बजार पुगेका कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाल। तस्बिर स : नागरिक

पाँचथर – ताप्लेजुङको फुरुम्बोगढी बजारमा बिहानको खाजा खाने क्रममा कसैले थप खुर्सानी र प्याज माग्यो। तिनैमध्येका धर्म पौडेलले टिप्पणी गरे, ‘यो सब भारतकै त होला नि ?’ होटल साहुनीले जवाफ फर्काउँदै भनिन्, ‘गाउँमा त कसले रोप्छ र ? काम गर्ने मान्छे हुनुप-यो नि ! गाडीले ल्याउँछ, सस्तो पनि पर्छ।’

माथि भनिएझैं पूर्वी पहाडका ग्रामीण गाउँसम्म भारतबाट भित्रिएका तरकारी, फलफूल तथा अन्य खाद्यान्न पुग्ने गरेका छन्। पहाड भनेपछि स्थानीय आर्गानिक उत्पादनको अपेक्षा राखिन्छ। तर, अहिले पहाडका भित्री गाउँका भान्सामा आयातित तरकारी पाकिरहेका छन्। त्यस्तै फलफूल पनि भारतीय नै पाइन्छ।

पहाडमा काँक्रा झुण्डिरहेको हुनुपर्नेमा ग्रामीण बजारमा भारतमा उत्पादित काँक्रामात्र देख्न पाइन्छ। धेरैजसो कृषि उत्पादनमा यस्तै देखिन थालेको छ। भारतबाट भित्रिएका अत्याधिक विषादी भएका तरकारी तथा फलफूलका कारण मानव स्वास्थ्यमा असर परिरहेको टिप्पणी भइरहँदा पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथुमका गाउँमा पनि अत्यधिक प्रयोग भइरहेको छ।

जनसंख्याको ठूलाो हिस्सा कृषि क्षेत्रमा रहेको तथ्यांक भए पनि पूर्वी पहाडका सदरमुकाम, ग्रामीण बजार तथा ग्रामीण बस्तीसम्म भारतीय कृषिजन्य उपजको प्रयोग बढिरहेको छ। ‘सडक बनेपछि गाडी आएसँगै भारतीय कृषि उपज गाउँगाउँमा पुगे। हामीले उत्पादन गरेका तरकारी, फलफूल बिक्री हुँदैन। तर, भारतबाट आयातित कृषि उपज गाउँगाउँको भान्सामा पुगेको छ। यताका किसान तरकारी, फलफूल नबिकेर हैरान भइरहँदा उताको उत्पादनको प्रयोग बढिरहेको छ,’ कृषक समूह महासंघ पाँचथरका अध्यक्ष तथा कृषिसम्बन्धी जानकार गणेश पोखरेल भन्छन्, ‘हाम्रो बारीबाट टिपेर ल्याइएको तरकारी एकदिन राख्नै नपाई बिग्रिन थाल्छ। तर भारतबाट आएको तरकारी, फलफूल हप्तौं टिक्नु भनेको विषादीको अत्यधिक प्रयोग हुनु हो।’ भान्सामा भारतीय उत्पादनले महत्वपूर्ण हिस्सा ओगटिरहेको उनले बताए। उत्पादन लागत बढी हुने हुँदा पनि प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएको उनको बुझाइ छ।

अहिले पहाडका भित्री गाउँका भान्सामा आयातित तरकारी पाकिरहेका छन्। त्यस्तै फलफूल पनि भारतीय नै पाइन्छ।

पोखरेलले भनेझै दैनिक प्रयोगमा आउने सब्जी तथा अन्य खाद्यान्न भारतीय बजारबाट आउँछ। दाल, कोपी, प्याज, लसुन, गोलभेंडा, बेसार, स्याउ, सुन्तला, खुर्सानी, आलु, आँप, लिची, काँक्रा, करेला, मुला, केरालगायत दर्जनौं कृषि उत्पादन भारतीय उत्पादनमा भर पर्ने अवस्था आएको छ। पहाडी जिल्लाका ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनभन्दा पनि भारतीय उत्पादनले भरिभराउ भएको छ।

पाँचथरको ग्रामीण मिक्लाजुङ गाउँपालिकाको कुरुम्बामा केही साताअघि एउटा उद्घाटन कार्यक्रम थियो। यहाँ आएका पाहुनालाई स्थानीयले बिहानको खाने व्यवस्था गरेका थिए। यहाँ सलादको रुपमा दिइएको काँक्रा, मुला र प्याज देखेपछि केही पाहुनाले टिप्पणी गरे, ‘गाउँगाउँमा भारतको विषादीयुक्त कृषि उत्पादन आइपुगिसकेछ।’

यहीबीचमा रहेका स्थानीय भकेन्द्र लावतीले भने, ‘यहाँ पर्याप्त उत्पादन हुँदैन। बाहिरबाट ल्याइएको कृषि उपजको प्रयोग बढेर गएको छ।’

सडक पुगेका अधिकतर गाउँमा भारतीय कृषि उत्पादन पुगेको छ। सदरमुकाममा लाग्ने हटियामा भारतीय बजारको उत्पादन बढ्दै गइरहेको छ। यहाँका होटलले अधिकतर तरकारी भारतीय बजारबाट आएको नै प्रयोग गर्ने गरेको देखिन्छ। पाँचथरको उत्तरी च्याङ्थापुका डिल्ली ओली भन्छन्, ‘गाउँमा कहाँ उत्पादन हुन्छ र ? सिजनमा लगाइएको तरकारीलगायत बालीले यहाँको माग धान्दैन। नगदेबालीका कारण बजारमा किन्न पाइहालिन्छ नि भन्ने मानसिकता बढेर गएको छ।’

ओलीले भनेझैं ग्रामीण क्षेत्रमा कृषि पेसाप्रतिको निराशा बढ्दै गएको छ। भारतीय बजारबाट आएका उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने समस्या पनि उत्तिकै छ। कृषि कर्मलाई हेर्ने दृष्टिकोण तथा लगानी अनुसारको प्रतिफल नआउने भन्दै कृषि पेसातिर निराशा बढेको देखिन्छ। ‘बाबु श्रम गर्ने मान्छे नपाएर बिजोगमा छ। उता सहरमा छोरो काम नपाइरहेको अवस्था छ,’ पोखरेल भन्छन्, ‘भारतबाट आएको उत्पादनले जनस्वास्थ्यमा असर गर्छ नै। हाम्रो कृषि उत्पादन पनि प्रोत्साहित हुन सकेन।’

करेसाबारीमै उत्पादन हुने कृषि उपजमा पनि परनिर्भरता बढ्दै गएको देखिन्छ। कोदो, मकैजस्ता बालीसमेत भारतीय बजारको भर पर्नुपर्ने अवस्था रहेको छ। यो क्रम बढ्दै जाने हो भने स्थानीय तवरमा उत्पादन घट्दै जाने विज्ञको बुझाइ छ। यहाँका गाउँमा कोसेलीका रुपमा आउने तथा जाने अंगुर, केरा, स्याउजस्ता फलफूल भारतीय बजारबाट नै आएका हुन्।

‘गाउँमा त गाउँकै उत्पादन पाइन्छ भन्ने हुन्छ। तर, अचेल त्यस्तो हुन छाड्यो। सडक पुगेपछि हरेक टोलामा स–साना बजार बन्ने क्रम जारी छ। यहाँका पसलमा भारतीय उत्पादन आइपुग्ने गरेका छन्,’ तेह्रथुमको सक्रान्तीका उमेश गिरीले भने, ‘स्थानीय उत्पादनलाई प्रोत्साहन दिन आवश्यक देखिन थालेको छ। भान्सा भान्सामा तरकारीसँगै विष आइपुगेको छ।’

तथ्यांक हेर्ने हो भने त्यस्तै देखिन्छ। मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्यांक हेर्ने हो भने यस्तै पुष्टि गर्छ। कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा नौ करोड ७१ लाख २६ हजार दुई सय ८० केजी तरकारी र फलफूल भित्रिएको  देखिन्छ। यो चार अर्ब चार करोड ४९ लाख १९ हजार एक सय १३ रुपैयाँ बराबरको भएको कार्यालयले जनाएको छ। त्यस्तै, पूर्वी पहाडका लागि जोगवनी नाकाबाट पनि तरकारी र फलफूल भित्रिन्छ।

प्रकाशित: ३१ असार २०७६ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App