२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

कमजोर पुलबाटै सवारी वारपार

पोखरा प्रवेशको मूल नाका विजयपुरको डाइभर्सन बगेपछि बाटोमै रोकिएका मालबाहक ट्रक। तस्बिर : उमेश पुन/नागरिक

पोखरा – पोखरा प्रवेशको मूल नाका विजयपुर खोलाको डाइभर्सन बगेपछि लेखनाथ क्षेत्रमा रोकिएका धेरै सवारीसाधनलाई कमजोर भनिएको पुलबाटै पार गराइएको छ। अधिक भार बोकेका सवारी भने अहिले पनि लेखनाथ क्षेत्रमै रोकिएका छन्। तर, केही कम भार बोकेका सवारीलाई रातिको समय पारेर वारपार गराइएको छ।

कास्कीका ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर मुरारी मिश्रले ३० टन तौलसम्मका सवारीलाई पुलबाटै पार गराइएको बताए। ‘सबै गाडी ३० टन तौलका थिएनन्। ३० टनसम्मको भार बोकेका केही सवारीको सामान अर्कैमा सारेर भए पनि तौल घटाएपछि पुलबाटै पार गराइएको हो,’ मिश्रले भने, ‘अत्यावश्यक वस्तुलाई भने हामीले पहिलो प्राथमिकता दिएका छौंं। दूध र पेट्रोलियम पदार्थ र छिटो नोक्सान हुने वस्तु बोकेका सवारीलाई पहिलो प्राथमिकता दिएका छौंं।’

विजयपुर खोलाको डाइभर्सन आइतबार राति बाढीले बगाउँदा १० टनभन्दा बढी भार बोकेर भित्रिँदै गरेका सयौं ट्रक सडकमै रोकिएका थिए। खोलामाथिको पक्की पुल कमजोर भएपछि केही महिनाअघि खोलामा डाइभर्सन बनाएर गह्रौं सवारीलाई वारपार गराउँदै आइएको थियो। त्यही डाइभर्सन पनि खोलाले बगाएपछि गह्रौं सवारीको आउजाउ ठप्प भएको थियो। विजयपुर खोलामा रहेको पक्की पुल जीर्ण भएपछि १० टनभन्दा बढी भार बोकेका सवारीलाई डाइभर्सनमार्फत वारपार गराइएको थियो।

डाइभर्सन बगेपछि रोकिएका सवारीलाई सडक विभागका प्राविधिकको निगरानीमा पुलबाटै पार गराएको मिश्रले बताए। ‘एकपटकमा एकमात्र सवारी मात्र पुलमा पर्ने गरी निश्चित गतिमा मात्र गुड्ने गरी हामीले रातको समयमा सवारी पार गराएका हौं,’ उनले भने, ‘पुलमा एउटा मात्र सवारीको भार पर्नेगरी व्यवस्थापन गरेका हौं।’ मिश्रका अनुसार सोमबार राति ९देखि १२ बजेसम्म सवारी पार गराउँदा एक सय ४० सवारी पुलबाट कटेका थिए। ‘निकै कठिनका साथ सोमबार राति ९ देखि राति १२ बजेसम्म झन्डै एक सय ४० सवारी पार गरायौं,’ मिश्रले भने, ‘३२ वटा सवारी त निकै नै भार बोकेका सवारी थिए। चलाउनै सक्ने अवस्थामा थिएनन्। निकै भार बोकेका कारण ३२ सवारी पार गराउन सकएिको छैन।’

मिल्ने सामान निकालेर तौल घटाउने र साना गाडीमा पठाएर भए पनि सडकमा रोकिएका सवारीलाई पार गराउने प्रयास भइरहेको उनले बताए। उनका अनुसार मंगलबार पनि भार बोकेका झन्डै एक सय ६० सवारी लेखनाथ क्षेत्रमै रोकिएका छन्। ती सवारीमध्ये केहीलाई रातको समयमा पार गराउने तयारी भएको उनले बताए। ‘पुल पूरै खाली गर्नुपर्छ। पुलमा एउटा सवारीको मात्र भार पर्नेगरी व्यवस्थित गर्ने हो,’ उनले भने।

सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेलले सामान घटाउन मिल्ने अवस्थामा हलुका बनाएर पार गराइएको बताए। ‘हामीले पुललाई बढी भार नपर्ने गरी व्यवस्थापन गरेका छौंं। एकपटकमा पुलमा एउटा मात्र सवारी पर्ने गरी सकेसम्म हलुका बनाएर पार गराएका छौंं,’ पोखरेलले भने, ‘सामान घटाउन मिल्ने अवस्थामा घटाएर हलुका बनाएका छौंं। सिमेन्ट, खाद्यान्नलगायत वस्तु बोकेका गह्रौं सवारीको सामान अर्काे सवारीमा सारेर तौल घटाएर पुल कटाएका छौंं।’ कमजोर भनिएकै पुलबाट सवारी पार गराए पनि समस्या नरहेको पोखरेलले बताए। मंगलबार राति पनि पनि प्राविधिकको सल्लाहमा सवारी पार गराउने उनले बताए।

विमानस्थल निर्माणका धेरै सवारी रोकिए
विजयपुर खोलाको डाइभर्सन बग्दा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ल्याउँदै गरिएको झन्डै ४० ट्रक निर्माण सामग्री बाटैमा रोकिएका छन्। सिमेन्ट र फलामे रड बोकेका ती ट्रक बाटोमा रोकिएको निर्माण कम्पनीका जनसम्पर्क अधिकृत कृष्ण चापागाइँले बताए। त्यस्तै विमानस्थलका लागि भारतबाट ल्याइएका भारी इन्जिनयुक्त सवारी पनि फर्किन नपाएको उनले बताए।

विमानस्थलका लागि आवश्यक परेपछि झन्डै १८ टन तौलसम्म हेभी इन्जिनयुक्त सवारी भारतबाट पोखरा ल्याइएको थियो। भारतबाट ल्याइएका ती सवारी अहिले काम सकिएर फर्किने तयारीमा थिए। ती सवारी पनि रोकिएको चापागाइँले बताए। उनका अनुसार झन्डै २५ वटा सवारी अहिले भारत फर्किने तयारीमा थिए। तर, डाइभर्सन बगेपछि पोखराबाट छुट्न नपाएको उनले बताए। सामान रोकिए पनि काममा अवरोध भने नरहेको उनले बताए।

डाइभर्सन निर्माण सुरु
आइतबार राति बगेको विजयपुर खोलामा डाइभर्सन बनाउन थालिएको छ। सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेलले डाइभर्सन बनाउन थालिएको बताए। ‘जतिसक्दो छिटो हामीले मंगलबारदेखि डाइभर्सन बनाउन थालेका छौं,’ पोखरेलले भने, ‘अवरोध नभए एक दिनमै डाइभर्सन तयार भइसक्छ।’ डाइभर्सन बनाउन एक्साभेटर लगाएका उपकरण प्रयोग गरिएको पोखरेलले बताए।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले पनि डाइभर्सन बनाउन प्राविधिक रुपमा सघाएको छ। चिनियाँ कम्पनीका साधन प्रयोग गरेर खोलामा फराकिलो डाइभर्सन बनाउन थालिएको कम्पनीका जनसम्पर्क अधिकृत कृष्ण चापागाइँले बताए। पहिले नौवटा ह्युम पाइपसहितको डाइभर्सन बनाएकामा अहिले ६ वटा पाइप थपेर १५ वटा ह्युमपाइपको डाइभर्सन बन्नेछ।

पोखराबाट विजयपुर करिब पाँच किलोमिटर पर पर्छ। पोखरा भित्रिने यो नै मूल नाका हो। गह्रौं सवारी रोकिँदा सडक साँघुरो भएको छ। त्यसले गर्दा अरु सवारीको आउजाउ पनि अप्ठेरो भएको ट्राफिक प्रहरीले बताएको छ। गण्डकी प्रदेशको राजधानी पोखरालाई काठमाडौंसहित पूर्वी तराईसँग जोड्ने सडक पनि यही हो। पृथ्वी राजमार्गमा पर्ने यो खण्ड हुँदै दैनिक करिब ६ हजार ठूलासाना सवारी आउजाउ हुने ट्राफिक प्रहरीको अनुमान छ। गण्डकी अञ्चलका कास्की र स्याङ्जासहित धवलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जाने मूल सडक नै यही हो। पोखरामात्र नभई धवलागिरीका अन्य जिल्लाका लागि ढुवानी हुने निर्माण सामग्री र खाद्यान्न पनि यही मार्ग हुँदै भित्रिन्छ।

प्रकाशित: २५ असार २०७६ ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App