१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

विद्युतीय कारोबारमा पूरै विश्वास गर्न सकिन्न : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडा काठमाडौंमा मंगलबार वित्तीय साक्षरतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै। तस्बिरः नागरिक

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले अहिले प्रविधियुक्त बैंकिङ प्रणालीको विकास भइरहे पनि प्रविधिमार्फत गरिने कारोबारप्रति आफू अझैसम्म विश्वस्त हुन नसकेको बताएका छन्।

नेपाल धितोपत्र बोर्डले मंगलबार आयोजना गरेको वित्तीय साक्षरतासम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आफूले २५ वर्षदेखि बैंकिङ क्षेत्रमा काम गरिसक्दा पनि प्रविधिमा आधारित बैंकिङ प्रणालीमा अझै पूर्ण रुपमा विश्वस्त हुन नसकेको बताए।

खतिवडाले प्रविधिको विकाससँगै विश्वको वित्त बजार कागजी नोटबाट अहिले इन्टरनेट बैंकिङमा पुगिसक्दा पनि आफूले यसमा शतप्रतिशत विश्वास गर्न नसकेको बताए। प्रविधिमा बेला–बेला आउने समस्याले कारोबारलाई विश्वस्त बनाउन नसकेको मन्त्री खतिवडाको भनाइ छ।

नेपालीहरुमा पर्याप्त बैंकिङ ज्ञान नपुगेको जनाउँदै उनले प्रश्न गरे, ‘म जस्तो काम गरेको मान्छेलाई अझै प्रविधिमा आधारित बैंकिङ सेवामा विश्वास छैन भने अरु साधारण जनताको हालत के होला ?’

उनले बैंकिङ प्रणालीको विकाससँगै यसको साक्षरतामा पनि जोड दिन आवश्यक रहेको बताए। उनका अनुसार अहिले देशमा पाँच प्रकारका वित्तीय संस्था छन्। यीमध्ये धेरैजसो जनतासँग वित्तीय कारोबार गर्ने संस्था हुन्। ‘यी सबै एकै प्रकारका होलान् भन्ने भ्रम भए पनि त्यो साँचो नभएकोले जनतामा वित्तीय ज्ञानको अभाव छ,’ मन्त्री खतिवडाले भने, ‘कुनै पनि क्षेत्रमा कारोबार गर्दा वा लगानी गर्दा, राम्रोसँग बुझेर मात्रै गर्नुहोस्।’ देशमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न संस्था भए पनि आवश्यकता अनुरुप साक्षरता नपाउँदा उपभोक्ता समस्यामा पर्ने गरेको उनले जनाए।

अहिले विश्वमा प्रविधिको विकाससँगै वित्तीय संस्थाहरुले पनि आफूलाई प्रविधिमैत्री बनाउँदै लगिरहेको जनाउँदै उनले प्रविधिको विकाससँगैै चुनौती पनि थपिँदै जाने र त्यसको सामना गर्न सक्ने प्रणालीको विकास आवश्यक पर्नेमा जोड दिए।

धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले यो सम्मेलनले पुँजी बजारको अभ्यासबारे जानकारी दिने र वित्तीय साक्षरताको कमी हुन नदिन साक्षरतामा जोड दिनु आजको आवश्यकता रहेको बताए। ‘वित्तीय साक्षरता र लगानीकर्ताको सुरक्षाको निम्ति धितोपत्र बोर्डले आफ्नो क्षेत्र तथा अधिकारभित्र रहेर सहयोग गर्नेछ,’ उनले भने।

नेपाल धितोपत्र बोर्ड (सेबोन) र अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयुक्त आयोजनामा जारी सम्मेलनमा भारत, चीन, थाइल्यान्ड, भुटान, सिंगापुर, अस्ट्रेलिया,अमेरिका तथा दक्षिण अफ्रिका लगायत देशका वित्तीय क्षेत्रका विज्ञहरुले सहभागिता जनाएका छन्।

प्रकाशित: १८ असार २०७६ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App