मुस्ताङमा जन्मेका देवमान हिराचन गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष हुन्। साढे चार दशकदेखि जापानमा जेम्स, ट्राभल, आइटी, रियलस्टेटलगायत व्यवसाय गर्दै आएका हिराचनले नेपालमा अर्गानिक कृषि अभियान सञ्चालन गरेका छन्। हिराचन नेपाल वायु सेवा निगमका जापान प्रतिनिधि पनि हुन्। जापानलाई कर्मथलो बनाएका ६६ वर्षीय हिराचनले स्वदेशमा ग्लोबल क्यापिलट इन्भेस्टमेन्ट कम्पनीमार्फत अर्गानिक कृषि, पर्यटनसहित विभिन्न परियोजनामा लगानी गरेका छन्। नेपालमा लगानीको वातावरण, पर्यटन, मुलुकको विकासमा एनआरएनको भूमिकालगायत विषयमा हिराचनसँग नागरिकका लागि दिलीप पौडेलले गरेको कुराकानी :
यहाँले नेपालमा के–कस्ता परियोजना सञ्चालन गर्नु भएको छ ?
कृषि, पर्यटनलगायत क्षेत्रमा काम गर्दै आएका छौं। विगत आठ वर्षदेखि नेपाललाई अर्गानिक देश बनाउनुपर्छ भनेर कृषिमा अभियान सञ्चालन गरेको छु। काठमाडौंको सितापाइला रामकोटमा ३० रोपनी क्षेत्रफलमा कृषि फार्मसहित तालिम केन्द्रमा अहिलेसम्म २५ हजार जनालाई अर्गानिक कृषिको तालिम दिएका छौं। अर्गानिक मुलुक बनाउनुपर्छ। विषादी प्रयोग गरेको तरकारी खाएर धेरै नेपाली बिरामी भएको देखेर आफ्नै नेतृत्वमा ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट कम्पनीमार्फत अर्गानिक खेती अभियानलाई अघि बढाएको छु। कृषिसहित विभिन्न क्षेत्रमा काम गरेका छौं। चितवनको भरतपुरमा पाँच हजार रोपनीमा मोडल फार्म बनाउन त्यहाँका मेयरसँग कुरा भइरहेको छ। अहिले विभिन्न गाउँमा जेटिए र कृषिका विशेषज्ञलाई पठाएका छौं। हामी मल, बिउ दिएर खेती गर्ने तरिका सिकाउने र उनीहरुको उत्पादन खरिद गर्छौं। कृषि उत्पादन बिक्री गर्न सानेपा, गौरीधारा, बागबजारमा हाम्रो फेम्ली मार्ट तथा अर्गानिक हाउस खोलेका छौं। म जापानमा बस्ने भएकाले त्यहाँबाट मुलुकको पर्यटनको विकासका लागि पनि जोड दिएको छु। पर्यटकीय नगरी पोखरामा फाइभ स्टार होटल निर्माण गर्ने तयारीमा छौं।
नेपालमा कसरी पर्यटनको विकास गर्न सकिन्छ ?
हाम्रो देश पर्याप्त पर्यटकीय सम्भावना बोकेको मुलुक हो। प्रकृतिमा हामी धनि छौं। पर्यटक रिल्याक्स गर्न यहाँ आउँछन्। पैसा खर्च गर्ने ठाउँ बनाइदिनु प-यो। विदेशी पर्यटक यहाँ आएर खुसी भएर फर्किए भने उसले आफ्नो साथीभाइलाई भनेर प्रचार गर्छ। त्यसले थप पर्यटक आउन सहयोग पुग्छ। पर्यटकले रमाइलो भयो भन्ने छाप पार्न यहाँको सुरक्षा, ट्राभल एजेन्सी, होटल तथा रेस्टुरेन्टमा राम्रो सर्भिस दिन सक्नुपर्छ। सडक पूर्वाधारको विकास र कनेक्टिभिटीमा ध्यान दिनुपर्छ। विदेशी आउनका लागि सहज एक्सेस आवश्यक छ। जस्तै हामी जापानबाट आउँदा ट्रान्जिटसहित १५ देखि १७ घण्टा लाग्छ। सिधा हवाई सेवा हुनुपर्छ। पर्यटक ट्रान्जिटमा बस्दा धेरै पैसा खर्च गरिसकेको हुन्छ। सिधा यहाँ आउने वातावरण मिलाउने हो भने त्यो पैसा यहीँ आएर खर्च गर्छ। यस्तो विषयमा सरकारले सोच्नुपर्छ।
जापानी पर्यटकलाई नेपाल भित्र्याउन के गर्नुपर्छ ?
अहिले जापानबाट वार्षिक दुई करोड ३० लाख मान्छे विदेश घुम्न जान्छन् भने तीन करोड ५० मान्छे त्यहाँ आउँछन्। पर्यटनले देशको अर्थतन्त्रलाई टेवा पु-याउँछ। जापानीलाई नेपालमा ल्याउन पनि सघाइरहेका छौं। यहाँ आउने पर्यटकलाई भाषाको सहजता हुनुपर्छ। यहाँको सिस्टमबारे पूर्वजानकारी गराउनु पर्छ। एक पटक नेपाल घुम्न जानैपर्छ है भन्नका लागि सेवा दिनुपर्छ। उनीहरु यहाँ आउने भनेको प्रकृतिसँग रमाउन हो। ट्रेकिङमा जाँदा बगेको खोला, पहाडमा चराचुरुंगीको आवाज, वन्यजन्तु, कला, संस्कृति, स्थानीय जनजीवन, पहाड, रमणीय स्थलले आकर्षित गर्न सकिन्छ। जापानीले उपयुक्त गन्तव्य पाएका छैनन्। यस्तो अवस्थामा प्रकृतिकसँग रमाउन नेपालमा आकर्षित गर्छ सक्छौं। अर्को कुरा नेपालसँग जापानको सिधा हवाई सम्पर्क हुँदा पर्यटक आगमन बढाउन सकिन्छ।
जापानसँग सिधा हवाई सेवा आवश्यक छ भन्नुभयो ? नेपाल वायु सेवा निगमले जापानमा उडान भर्ने तयारी गरेको छ ? यहाँ निगमको प्रतिनिधि पनि भएकाले प्रक्रिया के भइरहेको छ ?
पहिला जापानसँग हाम्रो हवाई सम्पर्क भए पनि सिधा उड्न सक्ने अवस्था थिएन। सानो ७५७ बोइङ थियो। त्यसको उडान बन्द भयो। त्यसपछि नेपाल वायु सेवा निगमले मलाई जापानमा रहेको कार्यालय व्यवस्थापन गरिदिनुप-यो भनेपछि त्यहाँ भएका सामानको जिम्मा लगाएपछि लिएँ। निगमले मलाई जापान प्रतिनिधिको जिम्मेवारी दिएपछि अफिस लिएर नेपाल एयरलाइन्सको अफिस सिफ्ट गरें। अहिले आएर नेपाल एयरलाइन्सको अनुमतिका लागि कुरा भएपछि नेपालको प्रतिनिधित्व गर्दै जापानबाट लिनुपर्ने सबै अनुमति लिएँ। ओसाका पहिला फ्लाइट भएकाले त्यहाँबाट अनुमति लिन सजिलो हुन्छ भनेर त्यहाँका लागि नेपाल एयरलाइन्सले अुनमति लियौं। त्यो अनुमति लिएपछि जुलाई ४ मा उड्ने तालिका थियो। त्यो क्यान्सिल भयो। फेरि अगस्ट २९ को तालिका नेपाल एयरलाइन्स
ले सार्वजनिक गरेको छ। त्यो समय तालिकामा पनि उड्छ भन्ने आधार छैन। काठमाडौंको केन्द्रीय कार्यालयले बोलेको समयमा काम गर्न सकेन। उडान गर्ने घोषणा गरेपछि पनि उडान स्थगित गर्दा गलत सन्देश गयो। यो नेपाल एयरलाइन्सको फ्लाइट उड्ने/नउड्ने विषयमा व्यवस्थापनले स्ट्रोङ निर्णय निर्णय लिनुपर्छ। यो चालले नेपाल एयरलाइन्स जापान उड्न कठिन छ। जापानीमाझ विश्वास घट्दै गएको छ। नेपाल एयरलाइन्स पक्का आउँछ त ? भनेर जापानीले प्रश्न गर्न थालेका छन्।
तपाईं नेपाल वायु सेवा निगमको जापान प्रतिनिधि भए पनि पछिल्लो समय भूमिकाविहीन बनाइयो भन्ने पनि छ नि ?
यो प्रश्न नेपाल एयरलाइन्सको हेड अफिसका उच्च नेतृत्वलाई सोध्दा राम्रो होला। यसमा मैले पनि बुझ्न सकेको छैन। मेरोतर्फबाट गर्नुपर्ने सबै काम गरें। नेपाल एयरलाइन्सको जापान उडानलाई सफल पार्न सक्छु भन्ने मेरो पूर्ण आत्मविश्वास छ। मैले नेपालको प्रतिनिधि भएर अनुमति लिएर उडान गर्नका लागि तयारी गरेको हो। तर अहिले आएर हिराचनले गल्ती गरेको जस्तो गरिँदैछ ? मैले गल्ती गरेको हो र ? गल्ती हो भने सजाय भोग्न तयार छु। नेपाल एयरलाइन्स जनताको हो। यसलाई कसरी सफल बनाउने भन्ने दायित्व सबैको हो। दिनरात गरेर अनुमति लिएर आएँ। तर, अहिले एयरलाइन्सको सिस्टम र काममा ढिलाइ भएको छ। वायु सेवा निगमको कार्यकारी अध्यक्ष मदन खरेलसँग भेटेर मौखिक रुपमा सहमति थियो। ८० प्रतिशत अकुपेन्सी भराउन सक्छु भनेर लिखित रुपमा पनि दिएको छु। जापान उडानको अनुमति लिएर आएपछि हिराचनसँग टाढा हुनुपर्ने के छ ? उहाँले मैले के गल्ती गरें भन्दिनुप-यो। ४६ वर्ष जापान बसेको मान्छेले नेपालको प्रमोसन कसरी गर्ने, जापानी कुन–कुन ठाउँबाट आउँछन भन्ने मलाई थाहा छ। ११ वर्षसम्म नेपाल एयरलाइन्सको अफिस मैले धानें। अहिले नेपाल एयरलाइन्स उड्ने तयारी भएपछि बिगार्नु भएन।
यहाँ प्रतिनिधि भए पनि निगमका अधिकारीले तपाईंसँग सम्पर्क गरेका छैनन् ?
यसमै म आज अचम्मित भएको छु। मेरो जापानमा भएको घर ग्यारेन्टी राखेर अनुमति लिएको छ। बायु सेवा निगमको जापान उडान अनुमति लिन भूमिका खेलेर के गल्ती गरें ? मैले गलत गरेको छु भने भन्नुप-यो। जापानका सबै निकायमा प्रतिनिधिको रुपमा मेरो नाम छ। कार्यकारी अध्यक्ष पनि म नेपालमै भएका बेला जापान गएर आउनु भयो रे। मसँग सम्पर्क पनि गर्नु भएन। यसले जापानीमाझ गलत सन्देश गएको छ। त्यहाँ एयरपोर्टको ह्यान्डलिङदेखि भिसा प्रक्रिया सबैमा म ग्यारेन्टी बस्नुपर्छ। भोली केही समस्या आएमा त्यहाँ बसोबास गरेको आधिकारिक मान्छे खोज्छ। त्यसमा मैले जवाफ दिनुपर्छ।
लामो समयदेखि जापानमा व्यवसाय गर्दै आउनु भएको छ। त्यहाँको विकास मोडललाई नेपालमा कसरी प्रयोगमा ल्याउन सकिन्छ ?
एकदम सकिन्छ। म मुस्ताङमा जन्मेको थकालीको छोरा। पोखरा, काठमाडौं अध्ययन गरेर २० वर्षको उमेरमा जापान गएँ। एनआरएनएको अध्यक्ष भएर संसारभर घुमें। जहाँ गए पनि सबैसँग समय दिनमा २४ घण्टामात्र छ। यसको अर्थ जापानले कसरी विकास ग-यो त ? उनीहरु २४ घण्टामा १८ घण्टा काम गर्छन्। नेपालीले नेपालमा दिनमा तीन–चार घण्टा काम गर्छन्। जापानीले कसरी विकास गरे भन्ने गतिलो प्रमाण नै यही हो। हामी नेपाली समय बर्बाद गरिरहेका छौं। जापान जाने अधिकांश नेपाली १८ घण्टा काम गर्छन्। त्यहाँ काम गर्न हुने यहाँ काम गर्न नहुने ? विदेशमा गएर मेहनत गर्ने नेपालीले आफ्नै मुलुकमा गर्न किन नसक्ने ? यसको अर्थ समयमा काम फत्ते गर्दै जाने हो भने मुलुकको विकास सम्भव छ। उदाहरणका लािग मेरो ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट कम्पनी छ। मेरो कम्पनीमा भोली भन्ने शब्द हामी प्रयोग गर्न दिँदैनौं। आजको काम आजै हुनुपर्छ। विदेशीले गर्न सक्ने हामीले गर्न किन नसक्ने ? अहिले पनि नेपालमा ४० प्रतिशत जमिन खाली छ। १५ वर्षअघि चामल, तरकारी निर्यात गथ्र्यौं। अहिले सबै सामान विदेशबाट आयात भइरहेको छ। यहीँ उत्पादन गर्न सक्ने खर्बौं रुपैयाँको कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको छ। यहाँ खपत हुने वस्तु उत्पादन गर्न हामीले किन नसक्ने ? यहाँ उत्पादन गर्न सक्ने वस्तु त उत्पादन गर्नुप-यो नि। यस्ता अन्य धेरै उदाहरण छन्।
सरकारले विकाससँगै समृद्धिको कुरा गरिरहेको छ। यो कसरी सम्भव छ त ?
सरकारले जनतालाई जाँगरिलो बनाउनु प-यो। जापान र नेपालको हावा, पानी, माटो उस्तै हो। नेपालका किसान बिहानदेखि बेलुकासम्म काम गरेर खान पुग्दैन। यस्तो पनि पेसा हुन्छ ? कृषकलाई सफल बनाउन उत्पादन र आम्दानी बढाउनुपर्छ। अन्य क्षेत्रको अवस्था पनि त्यही हो। कुनै पनि क्षेत्रमा फाइदा भएन भने जनता आकर्षित हुँदैनन्। हामीले सञ्चालन गरेको रामकोटको कृषि फार्ममा नौ सय ग्रामसम्मको गोलभेंडा फल्छ। काठमाडौकै बजारमा १० देखि ३० ग्रामको गोलभेंडा बजारमा देखिन्छ। त्यसलाई एक–दुई सय ग्राम उत्पादन बढाउन सक्यो भने फाइदा हुन्छ होला ? उत्पादन बढाउन सरकारले तालिम, प्रविधि दिएर प्रणालीको विकास गर्नुपर्छ। हरेक ठाउँमा हुने राजनीतिकरणलाई अन्त्य गर्नुपर्छ। सिस्टमको विकास गर्नुपर्छ।
गैरआवासीय नेपाली संघ (एनआरएन)को नेतृत्व गर्नुभयो। मुलुकको समृद्धिमा सघाउन एनआरएनको भूमिका कस्तो छ ?
एनआरएनको काम विदेशमा रहेका नेपाली–नेपालीबीच र नेपालबाट विदेशमा रहेका नेपालीबीच पुलको काम गर्ने हो। नेपालमा लगानी गर्न सुरक्षित वातावरण हुनुप-यो। अहिले नेपाल र विदेशमा बस्ने नेपालीको नेटवर्क तयार भएको छ। अब सबैबीच हातेमालो गरेर जानुपर्छ। रातारात धनि हुने सपना पनि देख्नु भएन। मेहनत गर्नुपर्छ। विदेशबाट आएको पुँजी र सीपको सदुपयोग गर्नुपर्छ। सरकारले लगानी गर्न आउ भनेर मात्रै भएन सुरक्षाको ग्यारेन्टी हुनुपर्छ।
लगानीका लागि कस्तो वातावरण आवश्यक छ ?
सबैभन्दा सुरक्षाको प्रत्याभूति नै दिलाउनु पर्छ। विदेशी लगानीकर्ताले झन्झट मन पराउँदैनन्। यहाँ ह्रस्व, दीर्घ मिलेन भनेर महिनौं फाइल अड्काउँछन्। काम गर्ने वातावरण दिन छिटो निर्णय गर्ने प्रणालीको विकास गर्नुपर्छ। मेरा साथीहरु यहाँ लगानी गर्न चाहँन्छन्। तर, यहाँ आउने वातावरण छैन। उनीहरुलाई यहाँ ल्याएर फसियो भने अपजस लिनुपर्छ। मेरा विदेशी साथी जापानबाटै दुई–तीन पटक यहाँ लगानी गर्न आए। एउटा कम्पनी दर्ता गर्न नै ६ महिनादेखि एक वर्ष लाग्छ। अनि कसरी विदेशी लगानी गर्न आउँछ ? दर्ता गर्न त यस्तो समस्या छ भने नाफा कमाएर पैसा लैजान कसरी सकिन्छ भनेर डराए। उद्योगधन्दा सञ्चालनमा ल्याउनु पर्छ।
कुनै नयाँ परियोजना सुरु गर्ने योजना पनि बनाउनु भएको छ कि ?
म २० वर्षको उमेरमा जापान गएको हुँ। यद्यपि आउनेजाने गर्छु। अहिले ६६ वर्षको भएँ। जन्मभूमि नेपाल भए पनि कर्मभूमि जापान हो। म नेपालमा नेपाली भएर मर्न चाहान्छु। नेपालमा थप केही मेघा परियोजना सुरु गर्ने तयारीमा छु। कम्प्युटरको नयाँ टेक्नोलोजी, हर्बल, बैंकिङ सिस्टममा काम गर्ने योजना छ। म नेपालमा कर तिर्न चाहन्छु। काम गर्ने वातावरण सरकारले बनाइदिनु प-यो।
प्रकाशित: १३ असार २०७६ ०३:२१ शुक्रबार