(सिंगटी) दोलखा – हाइड्रो ‘हब’ दोलखाको उत्तरी भेगमा निजी क्षेत्रबाट निर्माण हुँदै गरेका जलविद्युत् आयोजनामध्ये तीनवटा आयोजनाबाट आउदो दसैंअघि राष्ट्रिय प्रसारण लाइनमा ४१ मेगावाट बिजुली थपिने भएको छ।
दोलखा उत्तरमा निर्माण हुँदै गरेका आधा दर्जन विद्युत् आयोजनामध्ये तीनवटा दसैंअघि नै निर्माण सम्पन्न हुँदैछन्। विद्युत् विकास विभागका अनुसार उत्तरी भेगको सिंगटी आसपासका खोला र नदीबाट २१ स्थानमा बिजुली उत्पादन गर्न लाइसेन्स जारी भइसकेको छ।
जिल्लाको सिंगटी खोला जलविद्युत् आयोजना दसैंअघि नै पूरा हुँदैछ। २५ मेगावाटको यो आयोजनाले आगामी भदौदेखि परीक्षण उत्पादन सुरु गर्ने भएको छ। सिगंटी हाइड्रो इनर्जी प्रालिले निर्माण गरिरहेको यो आयोजना भदौ पहिलो सातादेखि परीक्षण उत्पादन गर्ने गरी काममा तीव्रता दिइएको र प्रायः कामहरु अन्तिम चरणमा पुगेको आयोजनाका इन्जिनियर रमेश सुवेदीले जानकारी दिए। उनका अनुसार बाँधस्थल र विद्युत् गृहका सानातिना बाहेक प्रायः सबै काम सकिएका छन्।
सोरुङ खोलामा नौ मिटर अग्लो र ३६ मिटर लम्बाइको बाँध बाँधेर पाँच हजार ६ सय सात मिटरको सुरुङ र एक हजार १६ मिटरको पेनस्टक पाइपमार्फत पानी ल्याएर सिंगटी बजारभन्दा केही माथि कालिञ्चोक गाउँपालिका–३ मा पर्ने सिरिस घारीमा दुइटा टर्बाइन घुमाएर २५ मेगावाट बिजुली उत्पादन गरिने सुवेदीले जानकारी दिए। उनका अनुसार १२.५ मेगावाट क्षमताका दुइटा भर्टिकल पेल्टन टर्बाइनमार्फत उत्पादन भएको बिजुली आयोजनास्थल नजिकै रहेको विद्युत् प्राधिकरणको सबस्टेसनमा जोडिनेछ। यसअघि साउन पहिलो साता उत्पादन गर्ने तयारी थालिएको यो आयोजना केही ढिला हुन पुगेको हो।
गौरीशंकर गाउँपालिका–५ को सुरीदोभानमा निर्माण भइरहेको ११ मेगावाटको तल्लो खारे खोलासमेत साउन भित्र राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी कामलाई तीव्रता दिइएको छ। युनिभर्सल पावर कम्पनीले दुई अर्ब चार करोड लागतमा बनाइएको यो आयोजनाकोपनि प्रायः सबै काम सकिएका छन्। आयोजनाका इन्जिनियर गणेश गौतमका अनुसार २०७३ पुसदेखि आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। ‘अब सानातिना काम मात्र बाँकी छन्,’ उनले भने, ‘साउन मसान्तभित्र बत्ती बाल्छौं।’
सोही गाउँपालिका–६ को चंखुको खारे खोलाको दुम्सेदिङ भन्ने स्थानमा बाँध बाँधेर तीन हजार तीन सय २५ मिटर पेनस्टक पाइपमार्फत सुरीदोभानमा रहेको पावर हाउसमा दुइटा टर्बाइन घुमाएर बिजुली निकालिँदैछ। आयोजनाको विद्युत् गृहदेखि सिंगटी सबस्टेसनसम्म १५ वटा टावर खडा गरेर ट्रान्समिसन लाइन निर्माणको कामसमेत अन्तिम चरणमा रहेको गौतमले बताए।
यस्तै गौरीशंकर गाउँपालिका–७ मार्बु गाउँमा निर्माण भइरहेको ५ मेगावाटको घट्टेखोला जलविद्युत् आयोजनासमेत निर्माणको अन्तिम चरणमा पुगेको छ। असारको दोस्रो सातादेखि परीक्षण उत्पादन थालिने आयोजनाका साइट इन्चार्ज ओम गुरुङले जानकारी दिए। मनकामना इन्जिनियरिङ हाइड्रोपावरले एक अर्ब १५ करोड लागतमा दुई वर्षअघि आयोजना निर्माण सुरु गरेको थियो।
मार्बुको घट्टेखोलाको पानी फर्काएर तीन हजार दुई सय मिटर पेनस्टक पाइपमार्फत थुम्बुफेदीमा रहेको पावरहाउसमा पु-याएर बिजुली उत्पादन गरिँदैछ। गुरुङका अनुसार सिंगटी सबस्टेसनसम्म ट्रान्समिसन लाइनका पोलमार्फत बिजुली पु-याउन पोल निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ।
गौरीशंकर गाउँपालिकामा मात्र ४० मेगावाटको खानीखोला १, ३० मेगावाटको खानीखोला, एक मेगावाटको सुरीखोला जलविद्युत् आयोजना धमाधम निर्माण भइरहेको छ। गाउँपालिकाका अध्यक्ष स्वयंबहादुर खड्काका अनुसार उत्तरमा लाइसेन्स लिएका २१ आयोजनामध्ये १३ वटा गौरीशंकर गाउँपालिकामा पर्छन्। तीमध्ये दुइटा तत्कालै र बाँकी तीनवटा ६ महिनाभित्र बिजुली उत्पादन थाल्ने तयारीमा छन्।
सिंगटी आसपासमा यी बाहेक राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी धमाधम निर्माण भइरहेको छ। यस्तै तामाकोसी पाँचौंजस्ता आयोजना निर्माणको तयारीमा छ। १० मेगावाटको सिप्रिङ खोला निर्माणको चरणमा छ।
प्राधिकरणकै सबस्टेसन र प्रसारण लाइनमा ढिलाइ
निजी उत्पादक कम्पनीले दोलखा उत्तरबाट विद्युत् उत्पादन अन्तिम चरणमा पु-याइसक्दा पनि प्राधिकरणको सिंगटी सबस्टेसन र उक्त सबस्टेसनबाट लामोसाँघुसम्मको प्रसारण लाइन निर्माण भइसकेको छैन।
ठेकेदारको ढिलासुस्तीका कारण प्रसारण लाइन र सबस्टेसन निर्माणसमेत ढिलो हुन पुगेको छ। सबस्टेसन निर्माण अन्तिम चरणमा पुगे पनि सिंगटीदेखि लामोसाँघुसम्म एक सय ३२ केभी क्षमताको प्रसारण लाइनका एक सय २४ टावरमध्ये ७७ वटा मात्र ठड्याइएको छ।
तर सबस्टेसन एवं प्रसारण लाइन आयोजनाका प्रमुख राजन ढुंगेलले निजी कम्पनीले उत्पादन गरेको बिजुली खेर जाने गरी प्रसारण लाइन निर्माणमा ढिलाइ नभएको दाबी गरे। ‘छिटोमा सके तीनवटा आयोजनाले दसैं अगाडि नै बिजुली बाल्ने बताएका छन्,’ उनले भने, ‘हामी त्योभन्दा अगाडि सबस्टेसन र प्रसारण लाइन निर्माण गरिसक्छौं।’ उनले टावर बनिसकेका स्थानमा यही साताबाट तार टाङ्ने कामसमेत सुरु हुने जानकारी दिए।
प्रकाशित: ८ असार २०७६ ०६:५८ आइतबार