काठमाडौं - चालु आर्थिक वर्षको वैशाखसम्ममा सरकारको चालु खाता घाटा दुई खर्ब २१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। गत वर्ष यो घाटा एक खर्ब ९२ अर्ब पाँच करोड रुपैयाँ बराबर थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको १० महिनामा एक अर्ब ८६ करोड रहेको चालु खाता घाटा यो वर्ष एक अर्ब ९५ करोड पुगेको हो। यो अवधिमा सरकारसँग भने एक सय ३७ अर्ब १९ करोड रुपैयाँ नगद छ। यो स्थानीय तहको खातामा रहेको ५५ अर्ब ६२ करोड समेतको हो।
राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन अनुसार यो अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा छ। अघिल्लो वर्ष यो १८ अर्ब ९३ करोडले घाटामा थियो। बैंकका अनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको १० महिनामा १८ करोड ४८ लाखले घाटामा रहेकोमा अहिले ६० करोड दुई लाख छ। यो अवधिमा प्रत्यक्ष वैदेशिक लगानी नौ अर्ब ४७ करोडमा सीमित छ। अघिल्लो वर्ष यो १५ अर्ब ५१ करोड थियोे।
अर्थतन्त्रका परिसूचक
– मूल्य वृद्धिदर ५.८ प्रतिशत
– शोधनान्तर घाटा ६८ अर्ब २० करोड
– वस्तु निर्यात १८.१ प्रतिशत वृद्धि
– वस्तु आयात १९.६ प्रतिशत वृद्धि
– व्यापार घाटा १९.७ प्रतिशतले वृद्धि
– निर्यात–आयात अनुपात ६.७ प्रतिशत
– विप्रेषण आप्रवाह १९.६ प्रतिशतले वृद्धि
– विदेशी विनिमय सञ्चिति १०६० अर्ब
– नगद बचत १३७ अर्ब
राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११ खर्ब दुई अर्ब ५९ करोड रहेकोमा २०७६ वैशाख मसान्तमा यो १० खर्ब ६० अर्ब ७० करोडमा झरेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब आठ करोड रहेकामा अहिले वैशाखमा नौ अर्ब ४२ करोड छ। यो अवधिमा मुलुकको मूल्यवृद्धि ५.८ प्रतिशत र छ। अघिल्लो वर्ष यो अवधिमा मुद्रास्फीति ४.८ प्रतिशत थियो। क्षेत्रगत उपभोक्ता मुद्रास्फीति अनुसार यो वैशाखमा हिमालमा ६.१, काठमाडौं उपत्यकामा ६.०५, पहाडमा ५.० र तराईमा ४. ९ प्रतिशत छ। अघिल्लो वर्ष यो क्रमशः ६.३ प्रतिशत, ३.३ प्रतिशत, ५.७ प्रतिशत र ४.० प्रतिशत थियो। नेपाल र भारतबीच तुलना गर्दा वैशाखमा नेपालको मुद्रास्फीति ५.३ प्रतिशत र भारतको ३.१ प्रतिशत रहेको छ।
बैंकका अनुसार १० महिनामा कुल वस्तु निर्यात १८.१ प्रतिशतले बढेर ७८ अर्ब ५३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात नौ प्रतिशतले वृद्धि भएकोे थियो। भारततर्फ ३१.९ प्रतिशत र अन्य मुलुकतर्फ २.३ प्रतिशतले निर्यात वृद्धि भएको छ। यस्तै चीनतर्फ भने २९ प्रतिशतले निर्यातमा कमी आएको छ।
वस्तुगत आधारमा पोलिस्टर यार्न, जुटका सामान, जस्तापाता, ऊनी गलैंचा, जडीबुटी लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, जुत्ता तथा चप्पल, छाला, तयारी पोसाक, पस्मिना लगायत वस्तुको निर्यात घटेको छ।
यस्तै यो १० महिनामा कुल वस्तु आयात १९.६ प्रतिशतले बढेर ११ अर्ब ७८ अर्ब १४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१.८ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १७.२ प्रतिशत, चीनबाट भएको आयात ३३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.८ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोसाक, हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ। सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजारलगायत वस्तुको आयात घटेको छ।
यो १० महिनामा कुल वस्तु व्यापार घाटा १९.७ प्रतिशतले विस्तार बढेर १० खर्ब ९९ अर्ब ६० करोड पुगेको छ। निर्यात–आयात अनुपात ६.७ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात ६.८ प्रतिशत थियो। यो अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेर सात सय २५ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह एक प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.३ प्रतिशतले बढेको थियो।
नयाँ र वैधानिक आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३८.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या ६ प्रतिशतले घटेको थियो।
बैंकका अनुसार १० महिनामा विस्तृत मुद्राप्रदाय १०.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यो ११.९ प्रतिशतले बढेको थियो। यो अवधिमा सञ्चित मुद्रा ८.१ प्रतिशतले घटेकोे छ। अघिल्लो वर्ष दुई प्रतिशतले घटेको थियो।
यस्तै, कुल आन्तरिक कर्जा १४.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यो कर्जा १५.२ प्रतिशतले बढेको थियो। यो अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११.७ प्रतिशतले बढेको छ। गत वर्ष निक्षेप ११.१ प्रतिशतले बढेको थियो। यो वर्ष बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १८.१ प्रतिशतले बढेको थियो।
प्रकाशित: ५ असार २०७६ ०६:१८ बिहीबार