२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

होमस्टेकाे अनुदान रकम ‘पिकनिक स्पट’ बनाइँदै

पोखरामा शुक्रबार र शनिबार सञ्चालित ग्रामीण पर्यटन मार्ट। तस्बिर : नागरिक

पोखरा - कास्कीको मादी गाउँपालिका–२, ताङतिङमा २०६७ देखि होमस्टे सञ्चालनमा छ। १३ घरमा होमस्टे सञ्चालन गरिरहेको त्यो गाउँले अहिले गण्डकी प्रदेश सरकारबाट पाएको अनुदान रकम ‘पिकनिक स्पट’ बनाउन खर्च गर्दैेछ। प्रदेश सरकारबाट १० लाख रुपैयाँ पाउने पक्का भएपछि ताङतिङ सामुदायिक होमस्टे समितिले गाउँको कोलोको डाँडामा ‘पिकनिक स्पट’ बनाउन थालेको हो।  

होमस्टे समिति अध्यक्ष पसमाया गुरुङले प्रदेश सरकारबाट पाउने रकमले ‘पिकनिक स्पट’ बनाउन थालेको बताइन्। ‘अहिलेसम्म हामीले तीन लाख रुपैयाँ लगिसकेका छौं। ‘पिकनिक स्पट’ बनाउन ठूलो रकम खर्च हुँदैछ,’ उनले भनिन्, ‘होमस्टेले पाएको रकम त्यही खर्च हुँदैछ।’ उनका अनुसार ‘पिकनिक स्पट’मा पानीको धारा, शौचालय, भान्सालगायत पूर्वाधार बन्नेछन्।

सरकारी अनुदानमा ‘पिकनिक स्पट’ बनाउन थालेको होमस्टे समितिका पदाधिकारीलाई अहिलेसम्म त्यो गाउँमा कुनै समूह ‘पिकनिक’ गएको जानकारी छैन। ‘पिकनिक’ खान आएको त अहिलेसम्म हामीले देखेका छैनौ। आएका मान्छे पनि होमस्टेमा बसेर फर्किन्छन्,’ उनले भनिन्, ‘होमस्टेमा त आएका छन्। तर, ‘पिकनिक’ गएको थाहा छैन। सबैको सल्लाहमा रकम खर्च हुन थालेको छ।’

मादी–२ का वडाध्यक्ष एकजंग गुरुङले होमस्टेमा आएका पाहुनाको समूह ठूलो हुँदा उनीहरुलाई समूहमा बसाउने, खुवाउनका लागि समस्या भएपछि ‘पिकनिक स्पट’ बनाएको बताए। ‘ठूलो भोजभतेर गर्न गाउँमा ठाउँ छैन। त्यही भएर ‘पिकनिक स्पट’ बनाएका हौं,’ उनले भने। उनका अनुसार ५० लाख रुपैयाँमा ‘पिकनिक स्पट’ बन्दैछ। यो वर्ष प्रदेश सरकारले दिएको १० लाख रुपैयाँ खर्च हँुँदैछ। वडाले पनि आगामी वर्ष केही बजेट छुट्याउने उनले बताए। ‘पिकनिक खान अहिले गाउँमा समूह आउन थाले। उनीहरुलाई पूर्वाधार अभाव भएपछि हामीले बनाउन थालेका हौं,’ उनले भने। यो गाउँ पोखराबाट करिब १८ किमि टाढा पर्छ।

गण्डकी प्रदेश सरकारले होमस्टे सञ्चालनमा मात्र ३० करोड रुपैयाँ यो वर्ष अनुदान बाँड्दैछ। त्यही अनुसार प्रदेशभित्र तीन सय होमस्टे सञ्चालन गर्ने र ती होमस्टेलाई १० लाख रुपैयाँका दरले अनुदान दिने भन्दै प्रस्ताव आह्वान ग¥यो। दुई चरणमा छानिएका दुई सय ७३ होमस्टेले १० लाख रुपैयाँका दरले अनुदान पाउँदैछन्। अनुदानको पहिलो किस्ता केही होमस्टेले बुझिसकेका छन्। अनुदान पाएका होमस्टेले पाएको रकम कुन काममा खर्च गरेका छन् भन्ने यो नै बलियो उदाहरण हो। तर, प्रदेशका पर्यटनमन्त्री विकास लम्साल गाउँमा ‘पिकनिक स्पट’ खुल्दा पर्यटन प्रवद्र्धन हुने बताउँछन्। अनुदान रकमले पिकनिक स्पट बनाउँदा गाउँमा पुगेका पाहुनालाई रमाउने ठाउँ हुने उनले बताए। ‘पिकनिक स्पट बनाउन खर्च भएको रकमले त्यो गाउँका बासिन्दाको गतिविधि बढाउँछ,’ उनले भने, ‘कम्तिमा अरु गाउँबाट पनि पाहुना त्यो ठाउँमा रमाउन पुग्दा गाउँलाई नै फाइदा हुन्छ।’

लम्सालले प्रदेश सरकारले होमस्टेलाई अनुदान दिए पनि त्यो रकम व्यक्तिको घरमा सिरक किन्न खर्च नभएको बताए। ‘हामीले कसैको घरमा सिरक किन्न १० लाख रुपैयाँ दिएका होइनौ,’ लम्सालले भने, ‘होमस्टेलाई अनुदान दिँदा रिस डाह नगरौ। होमस्टेका नाममा दिएको रकम व्यक्तिगत खातामा गएको छैन।’ अहिले १० लाख पाएका केही होमस्टेमध्ये राम्रो गर्ने मध्ये अझै ३०–४० वटालाई पाँच लाख रुपैयाँ थपिदिने पनि उनले बताए। ‘गाउँको बस्ती नै खालि हुने अवस्था आएको र युवालाई विदेश जानबाट रोक्न र उनीहरुलाई उद्यमशील बनाउन यो अनुदान दिएका हौ,’ उनले भने।

वर्षाैदेखि चलिरहेका र बल्ल चल्ने तयारीमा रहेका होमस्टेलाई एकैखाले अनुदान दिँदा त्यसको प्रभावकारिता नहुने होमस्टे सञ्चालकले बताए। आवश्यक पूर्वाधार बनाउन दिएको १० लाख रुपैयाँले होमस्टे नै उभो नलाग्ने उनीहरुको भनाइ छ। एकैपटक ठूलो संख्यामा होमस्टे खोल्दा त्यसको प्रभावकारिता कम हुने स्याङ्जा सिरुवारी होमस्टेका जुम गुरुङले बताए। ‘सबैतिर होमस्टे खोलेर सबै चल्छन् भन्नेमा हामी ढुक्क नभए हुन्छ,’ पर्यटन बोर्डको आयोजनामा पोखरामा दुई दिनसम्म चलेको ग्रामीण पर्यटन मार्टको छलफलमा सहभागी हुँदै गुरुङले भने, ‘एकैपटक धेरैतिर कनिका छर्नुभन्दा ठूलो रकम दिन मिल्नेगरी थोरै संख्याका होमस्टेलाई दिएको भए हुन्थ्यो। पालैपालो ठूलो आकारमा अनुदान दिए बल्ल राहत मिल्थ्यो।’

प्रदेश सरकारले दिएको अनुदानको भरमा होमस्टे सञ्चालन होला भनेर विश्वास गर्न नसकिने उनले बताए। ‘सिरुवारिमा होमस्टे सञ्चालन सहजै भएको होइन। त्यही भएर नयाँ खुल्दैमा पाहुना गाउँमा पुग्ने होइनन्, त्यसका लागि धेरै नै मेहनत चाहिन्छ,’ उनले भने, ‘आर्थिक रुपमा राहत हुनेगरी दिनुको साटो सरकारले एकैपटक धेरैलाई समेट्न खोज्यो। त्यसैले अनुदान रकमले मात्र होमस्टे उभो लाग्छ भन्न सकिन्न।’

पर्वतको चित्रे होमस्टेकी सुशीला गुरुङले जिल्लामा नयाँ खुलेका होमस्टे सञ्चालन हुन धेरै नै कठिन रहेको बताइन्। होमस्टे चलाउने हो भने मेहनत बढी चाहिने उनले बताइन्। ‘नयाँ खुलेका होमस्टे सञ्चालनमै आउन कठिन छ भनेर भन्न मिल्दैन। किनकी मेहनत गर्ने हो भने पक्कै पाहुना पुग्नेछन्,’ उनले भनिन्, ‘फरक फरक गाउँ, ठाउँ र परिवेशको समुदायमा होमस्टे सञ्चालन भएकाले सबै चल्दैनन् भन्न मिल्दैन। तर, नयाँ खुलेका होमस्टेले आफूलाई अब्बल बनाउनुपर्छ।’ गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)का निवर्तमान अध्यक्ष तारानाथ पहारीले होमस्टेको प्रचारप्रसार नै नभएको बताए। ‘होमस्टेले पोखरा सहरमै आएर मार्केटिङ गर्नसक्छ। अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न जरुरी छैन,’ उनले भने, ‘त्यसका लागि होमस्टे सञ्चालक नै सक्रिय हुनुपर्छ।’ प्रचारप्रसार नहुँदा कतिपय राम्रा होमस्टे पनि नियमित रुपमा सञ्चालन हुन नसकेर बन्द भएको उनले बताए।

भिटोफका केन्द्रीय अध्यक्ष ध्रुव सिंखडाले सरकारले अनुदान दिँदा गाउँमा स्वरोजगार सिर्जना हुन सक्ने बताए। होमस्टे सञ्चालन गर्न सकेको खण्डमा त्यो गाउँले गाउमै कमाइ गर्न सक्ने भएकोले पनि सरकारी अनुदानलाई सही रुपमा लिनुपर्ने उनले बताए। ‘होमस्टेमा पाहुना पु¥याउँदा सबैले लाभ पाउँछन्,’ सिंखडाले भने, ‘गाउँको वास्तविकता बुझ्नका लागि होमस्टे उपयोगी हो। तर, यसले भोगेका समस्या धेरै छन्। होमस्टे उचित प्रचारप्रसार नपाएकै हो।’ उनका अनुसार नेपालमा केही होमस्टेले उदाहरणीय रुपमा कमाइ पनि गरेका छन्। तर सबै होमस्टे त्यही रुपमा कमाइ गर्न भने नसकेको उनले बताए।

पर्यटन बोर्ड पोखराका प्रमुख मणि लामिछानेले होमस्टेले गाउँको पहिचान बढाउने भएकाले गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष २०१९ र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल हुने बताए। ‘आन्तरिक भ्रमण वर्ष र नेपाल भ्रमण वर्ष सफल बनाउन सबैको सहकार्य जरुरी छ,’ लामिछानेले भने, ‘पाहुनाको गतिविधि बढाउने हो भने पर्यटनमा लाभ पुग्छ।’

प्रकाशित: २ असार २०७६ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App