२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नौ हजार तीर्थयात्री मानसरोवर गए

रसुवा  – रसुवागढी नाका हुँदै नौ हजारभन्दा बढी तीर्थयात्री मानसरोवर गएका छन्। गत वर्षदेखि रसुवागढी नाका हुँदै मानसरोवर जाने क्रम सुरु भएको थियो। गत वर्ष सात हजार दुई सय ४७ र यो वर्षको जेठ २० सम्ममा एक हजार सात सय ८३ गरी नौ हजार ३० तीर्थयात्री मानसरोवर गएका अध्यागमन कार्यालय रसुवाले जनाएको छ। जसमा ९० प्रतिशत भारतीय तीर्थयात्री गएको अध्यागमन अधिकृत विष्णु घर्तीले बताए।

मानसरोवर जाने मौसम सुरु भएसँगै दैनिक ५० जनाको हाराहारीमा तीर्थयात्री गइरहेका छन्। एक दिनमा तीन सय ५३ जनासम्म मानसरोवरका लागि तिब्बत प्रवेश गर्ने गरेका छन्। गत वर्षदेखि नाका प्रयोग गरेर भारतीय तथा विदेशी तीर्थयात्री मानसरोवर जान थालेका हुन्।  भदौ अन्तिमसम्म तीर्थयात्री आउने क्रम जारी रहने उनले जानकारी दिए।

अंग्रेजी महिनाको मेदेखि सेप्टेम्बरसम्म तीर्थयात्री मानसरोवर जाने गरेका छन्। कार्यालयले दिएको जानकारी अनुसार अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड र रुसका नागरिकसमेत मानसरोवर गएका छन्। रसुवागढी नाकाको प्रयोग गरेर जाँदा शुल्क तिर्न नपर्ने तर भिसा एक्सटेन्सन गर्न परे दैनिक तीन डलर र जरिवानावापत ३० डलर शुल्क लाग्ने कार्यालयले जानकारी दिएको छ।

मानसरोवर कैलाश यात्राका लागि करिब दुई दर्जन नेपाली कम्पनीले सेवा दिँदै आएका छन्। मानसरोवर जानका लागि हुम्ला र सिन्धुपाल्चोक तातोपानीको नाका प्रयोग हुँदै आएको छ। समुद्री सतहबाट करिब ६ हजार पाँच सय मिटर उचाइमा रहेको मानसरोवर रसुवागढी नाकाबाट करिब ६ सय किमि टाढा पर्छ। कैलाश पर्वत फेरो लगाउन साढे दुई दिन लाग्ने बताइएको छ। साधारणतया ४० देखि ७० वर्ष उमेरका भारतीय पर्यटक कैलाश पर्वत जाने गर्छन्। नेपालको पशुपतिनाथपछि कैलाश मानसरोवरलाई पवित्र तीर्थस्थल मानिने गरिएको छ। मानसरोवर जानेमध्ये करिब १५ देखि २० प्रतिशत तेस्रो मुलुकका पर्यटक हुने कार्यालयले जनाएको छ।
 

प्रकाशित: २४ जेष्ठ २०७६ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App