२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादनमा जोड

मिनराज भण्डारी

काठमाडौं - राजधानीको भृकुटीमण्डपमा ३०औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी सुरु भएको छ।
बुधबार सुरु प्रदर्शनी जेठ २६ सम्म चल्नेछ। आर्थिक समृद्धिको लागि उद्योग खोलौं, औद्योगिकीकरणका लागि सबै जुटौं नाराका साथ जारी प्रदर्शनीमा स्वेदेशी उत्पादनको प्रदर्शनमा जोड दिइएको छ। स्थानीय कच्चा पदार्थ र सीपको सदुपयोग गर्दै प्रविधिको बारेमा पर्याप्त जानकारी दिने प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ।

उद्योग विभागको आयोजना र नेपाल घरलु उद्योग तथा साना उद्योगको सहआयोजना रहेको प्रदर्शनीबाट पाँच करोडको व्यापार हुने अनुमान छ। दुई सय स्टल रहेको र करिब डेढ लाख सर्वसाधारणले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा देशभरका स्वदेशी उत्पादकहरुको सहभागिता छ।

लघु तथा घरेलु उद्योगको उत्पादनमा जोड दिन देशभरका साना तथा मझौला उद्योगीलाई एउटै छानामुनि ल्याउन र स्वदेशी उत्पादनमा जोड दिन प्रदर्शनी आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योगका उपाध्यक्ष सूर्यबहादुर कँडेलले बताए।देशभर कहाँ के–कस्ता उत्पादन हुन्छन र दुर्लभ उत्पादित वस्तुहरु विज्ञापनको अभावमा कसरी पछि परिरहेका छन् भन्ने जानकारी दिन पनि प्रदर्शनीले महŒवपूर्ण भुमिका खेल्ने कँडेलको भनाइ छ।

प्रदर्शनी उद्घाटनमा अर्थमन्त्री युवराज खतिवडाले सरकारले औद्योगिकीकरणमा जोड दिएको जनाउँदै उद्योग संरक्षणमा विशेष नीति ल्याएको जानकारी गराए। प्रस्ताव गरेका कार्यक्रममा परम्परागत सीप र कलालाई बजारमा पु-याउन निर्यात नीतिमा सरकारको जोड रहेको उनको भनाइ छ। जारी बजेटले पनि स्वदेशी वस्तुको निर्यातमा भन्सार दस्तुरलाई ख्याल गरेको बताउँदै बैंक कर्जामा पनि जोड दिइएको उनको भनाइ छ। स्वदेशी वस्तुलाई देशभित्रै खपत हुने बाध्यकारी व्यवस्था गर्न सरकारले प्रयास गरिरहेको खतिवडाले बताए।

‘रेशम, ऊन, रेसाजन्य वनस्पतिको माध्ययमबाट २४ वस्तुमा आत्मनिर्भर बनाउने प्रयत्न सरकारले गरेको छ,’ उनले भने। उद्योगलाई बजेटबाट उत्साहित गर्न खोजेको भन्दै वित्तीय प्रणालीमा जोड दिन युवा पुस्तालाई औैद्योगिकीकरणमा ल्याउन आवश्यक तयारीमा सरकार लागेकाले प्रविधिको विकाससँगै स्वदेशी उत्पादन र उपभोगमा सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ रहेको छ।

‘विदेशी नागरिक नेपाल आउँदा तथा विदेशस्थित नेपाली नियोगमा भिजाको प्रक्रियामा आउँदादेखि नै नेपाली उत्पादनमा जोड दिन आवश्यक छ,’ खतिवडाले भने। मेला तथा प्रदर्शनीले स्वदेशी उत्पादनको क्षेत्रमा प्रतिस्पर्धा र सहकार्य ल्याउन सहयोग पुग्ने जनाउँदै साना तथा मझौला उद्योगलाई हौसला दिन सरकार तयार रहेको उनले प्रस्ट पारे।
उद्योग वाण्ज्यि तथा आपूर्तिमन्त्री मातृका यादवले देशमा अहिले चार लाख १८ हजार ५२ घरेलु उद्योग दर्ता भएकोमा आर्थिक वर्ष ०७४÷७५ सम्म नवीकरण भई दर्ता कायम रहेका घरेलु तथा साना उद्योगको संख्या दुई लाख ९९ हजार तीन सय ११ रहेको जनाए। उनले उद्योग अन्र्तगत २६ लाख ६ हजार ८६ ले प्रत्यक्ष रोजगार पाएको पनि जनाए। मुलुकभर पाँच लाख लघु उद्यम, व्यवसाय सञ्चालनमा रहेको उनको भनाइ छ।

नेपालीहरुले ब्रान्डमा विश्वास गर्ने क्रम दिनानुदिन बढिरहेको जनाउँदै उनले स्वदेशी उत्पादनलाई पनि ब्रान्डको रुपमा विकास गर्न आवश्यक रहेको बताए। नेपाली उत्पादनप्रति विदेशीको मोह र आकर्षण बढ्दै गइरहेको भन्दै मन्त्री यादवले नयाँ प्रविधिको प्रयोग गरी अन्र्तराष्ट्रिय बजारमा निर्यात तथा बजारीकरण आजको आवश्यकता रहेको बताए।
‘उत्पादन भएका वस्तुहरु प्याकेजिङ गर्दा आकर्षक मात्र बनाउने हो भने विदेशीको ध्यान केन्द्रित गराउन सहयोग पुग्छ,’ उनले भने, ‘अब नेपालीले आन्दोलनको मानसिकता त्यागेर उत्पादनमुखी क्रान्तिको बाटो रोज्नु पर्छ।’

नेपालमा सियो पनि उत्पादन हुँदैन भन्नेहरुको लागि जारी प्रदर्शनीले मुख बन्द गर्न सहयोग पुग्ने पनि उनको भनाइ छ। बिक्री तथा प्रदर्शनी केन्द्र निमार्णमा सरकार लागिरहेको र उद्योग मन्त्रालयले चाँडै नै चोभारमा अन्तर्राष्ट्रिय मापदण्डको प्रदर्शनी केन्द्र निर्माण योजना तयार पारेको जनाए। अहिले निजी क्षेत्रले सरकारसँग सहकार्य गर्ने वातावरण बनेकोले ऐन, नियम तथा कानुनमा सुधार हुँदै आएको उनको धारणा छ।

हिजोका दिनमा करमुखी अर्थतन्त्रमा सरकारले जोड दिएको जनाउँदै अब सरकारको ध्यान करको दायरा बढाउनेतर्फ उन्मुख भएको उनले जनाए। समावेशी, आत्मनिर्भर अर्थतन्त्रमा जोड दिन आवश्यक रहेको बताएका मन्त्री यादवले समृद्ध नेपाल सुखी नेपालको अभियान सफल पार्न सबै क्षेत्रबाट भ्रष्टाचारको अन्त्य हुनुपर्ने धारणा राखे।

जारी प्रदर्शनीमा अल्लोका सामग्री बिक्रेता तथा अल्लो उद्यमी संघ नेपालका अध्यक्ष बुद्धि पुर्जाले सरकारले राष्ट्रिय पोसाककै रुपमा अल्लोबाट निर्मित कपडालाई प्रोत्साहन गर्नुपर्ने बताए। निजामती कर्मचारी तथा सेना र प्रहरीले प्रयोग गर्ने पोसाकमा अल्लोबाट बनाइएका कपडा प्रयोग गर्दा अन्तर्राष्ट्रिय रुपमा स्वदेशी उत्पादनको माग बढदै जाने उनको बुझाइ छ।

प्रदर्शनीमा राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले तालिमको बेला उत्पादन भएका वस्तु प्रदर्शन गर्दै केन्द्रबाट विभिन्न १४ प्रकारका तालिम निःशुल्क रुपमा दिइएको जनाएको छ। सरकारी लगानीमा सीपमूलक तालिमको माध्यमबाट देशमा विद्यमान बेरोजगारी तथा अर्धबेरोजगारीको समस्या समाधानको लागि केन्द्रबाट प्रदान गरिने तालिमले साना तथा घरेलु उद्योगको विकास एवं विस्तारमा टेवा पु-याउने केन्द्रको धारणा रहेको छ।

प्रदर्शनीमा हस्तकला, खाद्य, कृषिजन्य समाग्री, बेतबाँसका कलात्मक वस्तु, दैनिक उपभोग्यका सामान, स्वदेशी कपडा, अल्लोबाट निर्मित सामग्री, खुकुरी, आयुर्वेदिक औषधि, तयारी पोसाक, केरा तथा रेसम किराबाट बनेका सामग्री, गलैँचा, स्वदेशी जुत्ता–चप्पल, फलफूल, मसला लगायत राखिएका छन्।

प्रकाशित: २३ जेष्ठ २०७६ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App