७ वैशाख २०८१ शुक्रबार
अर्थ

खेर जाने जडिबुटीले भाउ पाउन थाल्यो

खोटाङ – खोटाङको फेदीबाट एक ट्याक्टर बुढो ओखती (ठूलो ओखती) र सुगन्धवाल निकासी भएको छ। केपीलासगढी गाउँपालिका–१ फेदीबाट सात सय ५० केजी ठूलो ओखती र दुई सय केजी सुगन्धवाल जडिबुटी निकासी भएको हो। फेदीको पत्करु, चित्रे, बर्खे, पिपिन, सुम्दे लगायतका लेकाली क्षेत्रमा उत्पादन हुने बुढो ओखती र सुगन्धवाल संकलन गरेर ट्याक्टरमार्फत काठमाडौं निकासी भएको हो। स्थानीय जडिबुटी संकलक एवं कृषक नरजीत राईले फेदीको पत्करुबाट ट्याक्टरमा हालेर दिक्तेल हुँदै काठमाडौं निर्यात गरेको सव–डिभिजन वन कार्यालय बाक्सिलाका वनरक्षक खबिराज राईले बताए।

फेदीका अधिकांश लेकाली क्षेत्रमा खेर गइरहेका बुढो ओखती र सुगन्धवाल २०७४ सालदेखि संकलन गरेर बिक्री गर्न थालिएको हो। गाउँमा प्रतिकेजी ८० रुपैयाँदेखि सय रुपैयाँमा खरिद गर्न सकिने सुगन्धवालको गानो काठमाडौं प्रतिकेजी डेढ सयदेखि दुई सयसम्ममा बिक्री हुने गरेको छ। यस्तै, संकलनकाक्रममा प्रतिकेजी ३० देखि ५० रुपैयाँ पर्ने बुढा ओखतीको गानो काठमाडौं पुर्‍याएपछि प्रतिकेजी ८० देखि एक सय रुपैयाँका दरले बिक्री हुने गरेको जडिबुटी व्यवसायीको भनाई छ। बारीका कान्ला र पाखामा प्रशस्त मात्रामा उत्पादन हुने बुढो ओखती र सुगन्धवाललाई पछिल्लो समय किसानले संरक्षण गरेर आम्दानीको श्रोत बनाउन थालेका हुन्।

बारीका कान्लामा आफै उम्रिएर खेर गइरहेका ओखती र सुगन्धवाललाई नरजीतले २०७५ साल असारमा तत्कालिन जिल्ला वन कार्यालयमा दर्ता गरेर व्यवसायीकरुपमा खेती नै सुरु गरिसकेका छन्। भाउ पाउन थालेपछि र आम्दानीको माध्यम बन्न थालेपछि अधिकांश किसानले बारीका कान्लामा उम्रिएका ओखती र सुगन्धवाललाई संरक्षण गर्न थालेका छन्। गत वर्ष पनि फेदीबाट ४० केजीको हाराहारीमा ठूलो ओखती निर्यात भएको थियो। ठूलो ओखती एउटै बोटमा एक सय ग्रामदेखि आधा केजीसम्म उत्पादन हुने गरेको किसानको भनाई छ। दिक्तेलबाट फेदी पुग्ने कच्ची सडक बिस्तार भएपछि जडिबुटी निकासी गर्न सहज भएको हो।

प्रकाशित: २० जेष्ठ २०७६ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App