९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

निर्माण सकिनुपर्ने बेला आधामात्र

निर्माणमा ढिलाइ भइरहेको वीरगन्ज–पथलैया ६ लेनको व्यापारिक मार्ग। तस्बिरः उपेन्द्र/नागरिक

बारा– दुई वर्षमा सक्नुपर्ने वीरगन्ज–पथलैया ६ लेन व्यापारिक मार्गको निर्माण तीन वर्षमा आधामात्र सकिएको छ।

सरकारले वीरगन्ज–पथलैया सडक खण्डमा हुने ट्राफिक जाम कम गरी व्यापारलाई सहजीकरणमा सहयोग पु-याउने उद्देश्यले निर्माण गर्न लागेको हो। २६ किलोमिटर लामो ६ लेनको यो मार्गको निर्माण सरकारी निकाय र निर्माण कम्पनीको लापरबाहीले ढिलो भएको हो।

आर्थिक वर्ष २०७३ असार २८ मा दुई वर्षभित्र उक्त मार्ग निर्माण गर्न एएमआर/पप्पु/कन–टेक जेभी, श्रेष्ठ/बिरुवा/एपेक्स जेभी, पप्पु/लुम्बनी जेभी, शर्मा/युनिटेक बिल्डर्स/दिवा निर्माण सेवा जेभी, एएमआर/कन–टेक जेभीले ६ वटा प्याकेजमा ठेक्का सम्झौता गरी काम सुरु गरेको योजना कार्यालय पथलैयाले जनाएको छ।

निर्माण कम्पनी र मन्त्रालयको लापरबाहीले गर्दा २०७५ को असार मसान्तभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने काम अहिलेसम्म आधामात्रै सकिएको छ।

तोकिएको समयमा आयोजना सम्पन्न नहुने भएपछि सुरुमा ६ महिनाको म्याद थप गरिएको व्यापारिक मार्ग विस्तार योजना कार्यालयले जनाएको छ।

थपिएको समयमा पनि काम नसकेपछि पुनः ६ महिना थपिएको थियो। दोस्रोपटक थपेको म्याद २०७६ असार मसान्तसम्म रहेको कार्यालयका इन्जिनियर अशोक यादवले बताए।

दोस्रोपटक थप गरिएको म्याद सकिन दुई महिना जति रहे पनि निर्माण कार्य ५० प्रतिशत  मात्रै सकिएको यादवले जनाए।

बाराको पथलैयादेखि पर्साको सुक्खा बन्दरगाह रहेको सिर्सियासम्म २६ किलोमिटर ६ लेनको व्यापारिक मार्ग निर्माण गर्न ६ वटा प्याकेजमा ती निर्माण कम्पनीले तीन अर्ब १२ करोड ४१ लाखमा ठेक्का लिएका हुन्।

निर्माण कम्पनीको लापरबाही र सडकमा रहको बिजुलीका पोल, तार र घर–टहरा काममा अवरोधको रुपमा देखिएको यादवले बताए। सडक खण्डमा पर्ने पर्सा राष्ट्रिय निकुञ्ज, जितपुर बजार, सिर्सिया, बहुवरी, परवानीपुर लगायत स्थानका घर, टहरा खाली नगराउँदा निर्माण कार्यमा ढिलाइ भएको उनको भनाइ छ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथलैयादेखि दक्षिण त्रिभुवन राजपथको परवानीपुरसम्म लगभग १६ किलोमिटरको एउटा खण्ड र परवानीपुरदेखि सिर्सियाको सुक्खा बन्दरगाहसम्म लगभग १० किलोमिटरसम्मको अर्को खण्ड गरी दुई खण्डमा काम सुरु गरिएको थियो।

पथलैया–परवानीपुर खण्ड एएमआर/कनटेक जेभी, शर्मा/युनिटेक बिल्डर्स/दिवा निर्माण सेवा जेभी र एएमआर/कनटेक जेभीले लगभग एक अर्ब ८१ करोड २६ लाखमा ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेका छन्।

परवानीपुर–सिर्सियाको लगभग १० किलोमिटर खण्ड एएमआर/पप्पु/कनटेक जेभी वीरगन्ज, श्रेष्ठ/बिरुवा/एपेक्स जेभी हेटौंडा र पप्पु/लुम्बनी जेभी वीरगन्जले एक अर्ब ३१ करोड १५ लाखमा ठेक्का लिएको कार्यालयका अधिकारीले बताए।

 

 

प्रकाशित: १९ जेष्ठ २०७६ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App