३ मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

तातोपानीको विकल्प तातोपानी

सिन्धुपाल्चाेक– भूकम्प आएको चार वर्षदेखि बन्द रहेको सबैभन्दा पुरानो तातोपानी नाका बुधबारदेखि सञ्चालनमा आउँदै छ। त्यो पनि चीनले नै बनाइ दिएको अत्याधुनिक सुक्खा बन्दरगाहबाट। तर कुन ‘मोडालिटी’मा नाका सञ्चालनमा आउन लागेको हो भन्ने चाहिँ खुलाइएको छैन। नाका पूरानै आकार र परिमाणमा व्यापार हुने गरी सञ्चालनमा आउन लागेको हो या नेपाललको हार्दिक, विनम्रतापूर्वकको अनुरोधमा ‘बन्द नाका खुल्यो’ भन्नका लागि मात्र खुलाउन लागिएको हो ?

पुरानै लयमा फर्काउँने गरी खुलाउन लागिएको हो भने उत्तरी नाकामध्येमा तातोपानीको विकल्प तातोपानी नै हो। मुलुकको केन्द्रीय राजधानी काठमाडौंलाई राजमार्गद्वारा सिधा जोड्ने, कम दूरी र भौगोलिक अवस्थाका कारण तातोपानीको विकल्प अरु नाका हुन सक्दैन। चीनले अहिले भूकम्पअघिसम्म सहायक नाका रहेको रसुवागढीलाई तातोपानीको विकल्पको रुपमा प्रोत्साहन गरिरहेको छ। यसमा उसको प्रष्ट स्वार्थ छ, ऊ रसुवागढी नाका भएर दक्षिण एसियामा आफ्नो व्यापार छेड्न चाहन्छ।

तर नेपाल–चीन व्यापार विस्तार, दीर्घकालीन सहज आपूर्ति गर्न र एउटा मात्र मुलुकसँगको व्यापार परनिर्भरता हटाउन तातोपानी जति अनुकूल नाका अरु छैनन्। भौगोलिक हिसाबले तातोपानीको तुलनामा रसुवागढी झनै कठिन रहेको आयातकर्ताको अनुभव छ। दूरीका हिसाबले पनि रसुवागढी तातोपानीभन्दा टाढा पर्छ। रसुवागढी–काठमाडौं दूरी एक सय ७० किलोमिटर छ। रसुवागढी–केरुङको दूरी २६ किमि छ। केरुङ–रसुवागढी–काठमाडौं दूरी एक सय ९६ किमि हुन आउँछ।

तातोपानी नाका यो भन्दा ७० किमि छोटो देखिन्छ। काठमाडौंबाट तातोपानीको दूरी एक सय १४ किमि छ भने खासासम्मको दूरी एक सय २६ किमि हुन आउँछ। तिब्बत–राजधानी काठमाडौं सबैभन्दा छोटो सडक दूरीले जोड्ने अरनिको राजमार्गलाई फास्ट ट्र्याक (द्रुत्ततरमार्ग) बनाएर हामी चीनसँग व्यापारिक लाभ लिन सक्छौँ। यसको पहिलो उपयूक्त विकल्प नजिकको तातोपानी नै हो।

नाकामा अत्याधुनिक सुक्खा बन्दरगाह बनिसकेको र नजिकै तिब्बतको सिगात्से सहरसम्म रेलमार्ग आइपुगेकाले एक सय १४ किमि दूरीको तातोपानी–काठमाडौं सडकलाई ‘फास्ट ट्र्याक रोड’का रुपमा विकास गर्न सकिन्छ। तर यसका लागि अरनिको राजमार्गलाई थप फराकिलो बनाउनु पर्ने हुन्छ। सडक विस्तार गर्न तातोपानीको भूगोल कमजोर र कठिन रहे पनि रसुवागढी जति होइन। काठमाडौं–बाह्रविसे ८८ किमि सडक अहिले पनि राम्रै छ। समस्या बाह्रविसे–तातोपानी २६ किमि दूरीमा मात्र हो।

बाह्रविसे–तातोपानी खण्ड मर्मत तथा सुधार गरे मात्रै आयात/निर्यात निकै सहज हुन्छ। पूरै राजमार्गलाई चार लेनमा विस्तार गर्न सके सुनमा सुगन्ध थपिन्थ्यो। भक्तपुरसम्मको सडक आठ लेनमा विस्तार भइसकेको छ भने त्यहाँबाट धुलिखेलसम्मको सडकलाई तत्काल चार लेनमा विस्तार गर्न चीनले नै चासो दिइरहेको छ। त्यतिमात्र होइन भूकम्पअघि तातोपानीसम्मकै सडक सुधार र फराकिलो बनाउन उसैले प्रारम्भिक सर्भे गरेको थियो। राजमार्ग दायाँ–बायाँ २५–२५ मिटर क्षेत्राधिकार कायम गरी तातोपानी–काठमाडौं सडक फराकिलो बनाउने सरकारको पुरानो योजना छँदै छ।

आधुनिक शैलीमा विकास भइरहेको सिगात्से तिब्बतको क्षेत्रीय कार्यालय रहेको सहर हो। तातोपानी नाकाबाट सबैभन्दा नजिकको सिगात्से खासाबाट चार सय ९१ किमि दूरीमा पर्छ। दूरी लामो रहे पनि फराकिलो र राम्रो सडक रहेकाले खासाबाट सवारी साधन ६–७ घण्टामै पुग्छन्। त्यहाँबाट करिब तीन सय किमि दूरीमा तिब्बतको राजधानी ल्हासा पर्छ। केही वर्षअघि नै त्यहाँ रेलमार्ग आइपुगेकाले सबैखाले आपूर्ति सम्भव छ। पेट्रोलियम पदार्थ र चामलबाहेक दक्षिणी नाकाबाट आपूर्ति हुने सबैखाले सामग्री चीनबाट आपूर्ति हुने सरकारी तथ्यांकले देखाउँछ। चीनले ठूलो परिमाणमा चामल र पेट्रोलियम पदार्थ तेस्रो मुलुक निर्यात गर्छ।

खासा–काठमाडौं एक सय २६ किमि दूरी चार–पाँच घण्टाको बाटो हो। सिगात्सेबाट एकै दिन काठमाडौंमा आपूर्ति सम्भव देखिन्छ। सिगात्से–काठमाडौं दूरी ६ सय १७ किमि हो। यो दूरी काठमाडौं–मेची नाकाभन्दा कम हो। काठमाडौं–मेची नाका दूरी ६ सय ७१ छ। ६७ प्रतिशत व्यापार हिस्सा बोकेको भारतबाट सबैभन्दा धेरै आपूर्ति हुने नाका विराटनगर, वीरगन्ज र मेची नै हुन्। सिगात्से–काठमाडौं दूरी विराटनगर र मेची नाकाभन्दा धेरै छैन।

त्यसैले सडक लगायत पूर्वाधार विकास गरेर फास्ट ट्र्याक रोड सञ्चालनमा ल्याउन सके यो नाका नेपाल–चीन व्यापार ट्रान्जिट बन्नेमा द्विविधा छैन। दक्षिणी छिमेकी भारतको कुनै भर छैन। कतिखेर रिसाएर नाका बन्द गराउँछ पत्तो हुँदैन। जस्तै, २०७२ असोजमा संविधानसभाले नयाँ संविधान जारी गरेपछि उसले ६ महिना लामो अघोषित नाकाबन्दी गर्दा नेपालीले ठूलो मार खेपे। अर्को भरपर्दो विकल्प नहुनु कै उपज थियो यो।

तातोपानी नाकाबाट वार्षिक २० अर्वको आयात र साढे दुई अर्ब रुपैयाँको निर्यात व्यापार हुँदै आएको थियो। राज्यले वार्षिक पाँच अर्ब रुपैयाँ पाउँथ्यो। पूर्वाधार अभावबीच हरेक चार–पाँच वर्षमा आयात, निर्यात र राजस्व असुली दोब्बर भएको भन्सार तथ्यांक छ। परम्परागत तातोपानी नाका हुँदै कृषि उपज र नुन सटहीबाट सुरु चीन–नेपाल व्यापारले छोटो समयमै ठूलो फड्को मारेको थियो। नेपालले विगतमा निर्यात गर्ने कृषि उपज अहिले चीनबाटै आयात हुन्छ।

स्याउ, लसुन, प्याज, तयारी पोसाक, कपडा, इलेक्ट्रोनिक्स समान, गाडी, तिनका पार्टपूर्जा चीनबाट आयात हुने सरकारी तथ्यांक छ। पछिल्लो सयम चिनियाँ कम्पनीद्वारा नेपालमा निर्माण भइरहेका पूर्वाधारमा छड, सिमेन्ट, फलाम उतैबाट आयात हुन थालेका छन्। चीनले एक अर्ब २० करोड खर्चेर बनाइ दिएको उत्तरी नाकाको पहिलो बन्दरगाहबाट फाइदा लिन नेपालले अवसर चिन्न सक्नुपर्छ।

एउटा छिमेकीले अफ्ठेरो पार्दा पैँचो तिर्ने हिसाबले भन्दा पनि द्विदेशीय व्यापार अभिवृद्धि गर्न उत्तरी नाकाको विकास र विस्तारमा ध्यान दिन विज्ञले सुझाउँदै आएका छन्। सिगात्सेबाट सिधै पेट्रोलिम पदार्थसमेत तातोपानी नै भएर आपूर्ति गर्न सम्भव छ। तर यसका लागि विद्यमान कानुनी अड्चन फुकाउनु र व्यापारिक सम्झौता भने गर्नुपर्ने हुन्छ। चीनबाट सरकारले नै पेट्रोलिम आपूर्ति गर्नुपर्छ भन्ने छैन। निजी क्षेत्रलाई दिने हो भने सुलभ र सहज प्रक्रियाद्वारा पेट्रोलियम आपूर्ति हुन्छ। त्यो भारतबाट आउने भन्दा सस्तोसमेत पर्न जान्छ।

 

प्रकाशित: १५ जेष्ठ २०७६ ०५:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App