खोटाङ - किराँत समुदायको महान चाड साकेला उभौली सुरु भएको छ। वैशाख पूर्णिमा अवसरमा शनिबारबाट सुरु भएको साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङसहित उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरलगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै मनाउने गरिन्छ।
किराँत राई यायोक्खा खोटाङका उपाध्यक्ष सञ्जयकुमार राईले राई, लिम्बू, याक्खा, सुनुवारलगायतका समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आई नलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहिआएको बताए। साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाच्न सुरु गरिन्छ। किराँत समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णिमा र अन्नबाली उठाउने याम मंसिर पूर्णिमामा एक/एक महिनासम्म मनाउने गरिन्छ।
साकेलाको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै एक आपसमा शुभकामना आदानप्रदान गरेर साकेला मनाउने चलन छ। चराचुरुङ्गी बेंसीबाट लेकतिर जाने गर्मी याममा उभौली तथा लेकबाट बेंसीतिर झर्ने जाडो याममा उद्यौली पर्व मान्ने प्रचलन छ। साकेन्वा, साकेवा, साकलालगायतका नामबाट चिनिने साकेलाको अवसरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको क्रियाकलापलाई चित्रण गर्दै नाच्ने गरिन्छ।
चराचुरुङ्गी बेंसीबाट लेकतिर जाने गर्मी याममा उभौली तथा लेकबाट बेंसीतिर झर्ने जाडो याममा उद्यौली पर्व मान्ने प्रचलन छ।
किराँत समुदाय बसोबास रहेको प्रत्येक गाउँ युवायुवती, केटाकेटी, बुढापाकाको जमघट तथा साकेला गीत र नाचले दिनरात गुञ्जयमान हुने गरेको छ। आफन्त, साथीभाइ, नरनाता, छरछिमेकबीच पारिवारिक तथा व्यक्ति–व्यक्तिबीचमा उभौली चाडको शुभकामना आदानप्रदान गर्दै परिकार खाएर रमाइलो गर्ने गरिन्छ। विभिन्न जातजातिको मिश्रित बसोबास रहेको ठाउँका गैर–किराँतीले समेत जातीय सद्भाव र सांस्कृतिक सहअस्तित्वका रूपमा साकेला नाच्ने गरेका छन्।
साकेला उभौलीको अवसरमा शनिबार खोटाङका ऐतिहासिक तथा पर्यटकीयस्थलहरूमा साकेला नाचिएको छ। साकेला उभौलीको सुरुका दिन हरेक वर्ष किराँती तथा गैर–किराँतीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलस्थित मझुवागढी, रुपाकोट, बुइपा, जन्तेढुंगा गाउँपालिकाको जन्तेढुङ्गा, छोङ्खा, हलेसी तुवाचुङ नगरपालिकाको हलेसीलगायतका ऐतिहासिक महत्व बोकेका पर्यटकीय स्थलमा पुगेर साकेला नाच्ने गरेका छन्।
उभौलीको स्वागतमा दिनभर पर्यटकीयस्थलहरू ढोल, झ्याम्टाको आवाज र गीतले गुञ्जयमान बनेको छ। खोटाङमा साकेला उभौलीको पहिलो दिन रमाइलो गर्न वनभोजको शैलीमा ऐतिहासिक एवं पर्यटकीयस्थलमा साकेला नाच्न जाने प्रचलन किराँत राई यायोक्खाले एक दशकअघिबाट मात्र सुरु गरेको हो। हरेक वर्ष दिक्तेलस्थित किराँत राई यायोक्खाको कार्यालयमा पूजाआजापछि दिक्तेलमा औपचारिक रूपमा साकेला उद्घाटन गर्ने गरिएको छ। साकेला उद्घाटन लगत्तै ढोल झ्याम्टाको तालमा नाचगान गर्दै मझुवागढी पुगेर दिनभर नाचेर साँझमा फर्कने प्रचलन छ। जिल्लाका विभिन्न स्थानमा धुमधामकासाथ मनाइने साकेला उभौली आगामी जेठ ३२ गते माटिकोरे खेलमैदानमा प्रदर्शनी गर्दै समापन गरिने उपाध्यक्ष राईले बताए।
साकेला पर्व र साकेला नाचको शुरुवातका विषयमा विभिन्न ठाउँमा फरक–फरक मिथक तथा भनाइहरू पाइन्छन्। यसको शुरुवातका विषयमा किराँत समुदायमा आ–आझ्नै तर्क र भनाइहरू छन्। यद्यपी, किराँत समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको शुरुवात गरेको किंवदन्तीमा सबै एक मत छन्।
प्रकाशित: ५ जेष्ठ २०७६ ०३:५६ आइतबार