१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

जेठ १६ देखि व्यावसायिक उत्पादन

रसुवा - माथिल्लो त्रिशूली थ्री एले आगामी जेठ १६ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ। पहिलो चरणमा पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाले जनाएको छ। आयोजनाले सोमबार रातिदेखि विद्युत्गृहमा पानी खसालेर लोड नदिई परीक्षण गरिरहेको छ। यो काम वैशाख मसान्तसम्म सकिने आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए। ‘हामी परीक्षणको काम गरिरहेका छौं,’ उनले भने, ‘परीक्षण सफल भए ट्रान्सफर्मर प्रोसेसको काम सुरु गर्छौं।’

ट्रान्सफर्मर प्रोसेसको काम सकिएपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुन्छ। ‘जेठ १ गतेदेखि लोड टेस्ट सुरु गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘त्यो दिनदेखि विद्युत् उत्पादन हुने भए पनि व्यावसायिक उत्पादन हुँदैन।’ पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भएपछि दोस्रो युनिटमा नो लोड टेस्ट गरिने छ। पहिलो युनिटबाट उत्पादन सुरु भएपछि दोस्रो युनिटबाट विद्युत् उत्पादन सहज हुने आयोजनाले जनाएको छ। दुवै युनिटबाट ३०–३० मेगावाट विद्युत् उत्पादन हुन्छ। यसअघि आयोजनाले बाँध र सुरुङको परीक्षण गरिसकेको छ।

रसुवामा बाँध र नुवाकोटमा विद्युत्गृह रहेको आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो। चालु आर्थिक वर्ष ०७५/७६ भित्र दुवै युनिटबाट विद्युत् उत्पादन गरिने लक्ष्य राखिएको छ। यही वैशाख १७ गतदेखि पहिलो युनिटबाट उत्पादन सुरु गर्ने कार्ययोजना थियो। आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रू २०७४ भदौमा भएको थियो। आयोजनाको निर्माण ठेकेदार चाइना गेजुबा ग्रुप अफ कम्पनी (सिजिजिसी)ले गरेको हो। परामर्शदाताको रूपमा नर्थ वेस्ट हाइड्रो इन्जिनियरिङ कर्पोरेसन (एनडब्लुएच) रहेको छ।

आयोजना २०६८ वैशाखदेखि निर्माण सुरु भएको थियो। भूकम्पका कारण करिब २२ महिना निर्माण कार्य प्रभावित बनेको थियो। भूकम्प र नाकाबन्दीले आयोजनाको संरचनामा क्षति पु-याएको थियो। आयोजना निर्माण सम्पन्न गर्न १३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपैयाँ खर्च हुनेछ।

आयोजनाबाट उत्पादन भएको विद्युत् थ्री बी हबदेखि मातातीर्थ सबस्टेसनसम्म ४५ किलोमिटर दुरी रहेको प्रसारण लाइनमार्फत लगिने छ। जसमा पावरहाउस (सिम्ले)देखि थ्री बी हबसम्म १३२ केभी, थ्री बी हबदेखि बाँडभञ्ज्याङसम्म २२० केभी डबल सर्किट र बाँडभञ्ज्याङदेखि मातातीर्थसम्म २२० केभी फोर सर्किट प्रसारण लाइन हुनेछ।

प्रकाशित: ३ जेष्ठ २०७६ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App