२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

डेढ सय घरधुरीलाई बिजुली

सोलुखुम्बु – जिल्लाको दुर्गम मानिएको महाकुलुङ गाउँपालिका–१ खिरौले, नाजिङ, छाराखोरलगायत बस्तीमा बिजुली पुगेपछि सर्वसाधारणले राहत महसुस गरेका छन्। सुर्केखोला लघुजलविद्युत् आयोजनाको काम सम्पन्न गरी आइतबार उद्घाटन गरिएपछि ग्रामिण बस्तीका सर्वसाधारण हर्षित भएका हुन्। उक्त आयोजनाबाट करिब डेढ सय घरधुरी उज्यालोमा बस्न पाएका छन्।

दुई करोड ६९ लाखमा निर्माण सम्पन्न आयोजनाको महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती र नेपाल हिल्फे बोन जर्मनीका प्रोफेसर फ्र्याङ्कले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष किराँतीले खिरौले जघुजलविद्युत्ले बिजुली वितरण सुरु गरेपछि गाउँपालिकालाई अध्यारो मुक्त गराउन सहयोग पुगेको बताए। नेपाल हिल्फे बोन जर्मनीका प्रोफेसर फ्र्याङकले दुर्गमका सर्वसाधारणलाई उज्यालो दिने काम सफल भएकामा खुसी व्यक्त गरे।

उपभोक्ता समितिका अध्यक्ष पेम्बा ग्याल्जेन शेर्पाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले आयोजनाको आयव्यय प्रस्तुत गरेका थिए। आयोजना निर्माणको नेतृत्व इको हिमालले गरेको थियो। ३० किलोवाट विद्युत् उत्पादन क्षमताको आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ८५ लाख ५० हजार, तत्कालिन बुङ गाउँ विकास समितिबाट करिब १७ लाख, महाकुलुङ गाउँपालिकाबाट १० लाख, प्रदेश सभा ‘क’अन्तर्गत निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट १५ लाख र नेपाल हिल्फे बोन जर्मनीको ७० लाख लगानीमा निर्माण भएको हो।

प्रकाशित: २४ वैशाख २०७६ ०१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App