२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

गाउँको स्कुललाई सवा ६ करोड सहयोग

व्यवसायी ढकाल दाजुभाइको सहयोगमा निर्माण गरिएको पृथ्वी उच्च माविमा चन्दादातालाई सम्मान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर: नागरिक

बागलुङ - आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले आफ्नो जन्म गाउँको विद्यालय बनाउन सवा ६ करोड रुपैयाँ सहयोग गरेका छन्। बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको पृथ्वी उच्च माविको भवन निर्माणका लागि पाँच करोड २८ लाख र अन्य पूर्वाधार निर्माणका लागि एक करोड गरी ६ करोड २८ लाख रुपैयाँ सहयोग गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकाल र भाई हेमराजको सहयोगमा पृथ्वी उच्च माविमा १४ कोठे सुविधा सम्पन्न भवन बनाइएको छ। उक्त भवनको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्।
आफ्ना स्वर्गीय पिता हिरण्य ढकालको स्मृतिमा भवन निर्माणमा सहयोग गरेपछि विद्यालयको नाम परिवर्तन गरेर पृथ्वी हिरण्य माध्यमिक विद्यालय नामाकरण गरिएको छ।

नजिकका विद्यालयमा नहुँदा आफूले घर नजिकै अध्ययन गर्न नपाएका कारण पनि विद्यालयलाई सहयोग गरेको व्यावसायी ढकालले बताए। ‘बुबा सानैमा बित्नुभयो, मैले अध्ययन गर्ने बेलामा धेरै सघर्ष गर्नुप¥यो,’ ढकालले भने, ‘गाउँका बालबालिकाले सहजै अध्ययन गर्न सकुन भनेर सहयोग गरेका हौं।’
ढकालले प्राथमिक तहसम्म अध्ययन गरेर मावि तहको शिक्षा साविकको छिमेकी गाविस पैंयुपाटा पढेका थिए। आफूले बाहिर गएर पढे पनि भाइ हेमराज बहिनीहरुले पृथ्वी माविबाटै अध्ययन गरेकोले पनि सहयोग गर्न थप प्रेरणा मिलेको उनको भनाई छ।

विद्यालय भवनसंगै ढकाल परिवारले बाबु हिरण्यप्रसाद ढकालको शालिक विद्यालय परिसरमा निर्माण गरेका छन्। शालिकको पनि राष्ट्रपति भण्डारीले अनावरण गरिन्। आफू सामान्य परिवारबाट माथि उठेको र त्यसका लागि शिक्षानै सबै भन्दा महत्वपूर्ण भएकाले शैक्षिक क्षेत्रमा सहयोग गरेको हेमराजले बताए।

विद्यालयको सुविधा सम्पन्न भवन बाहेक पनि ढकालले अन्य करिब एक करोड रुपैयाँ विद्यालयको पूर्वाधार निर्माणमा खर्च गरेका छन्। निर्माणाधिन अवस्थामा अलपत्र परेको दुई कोठे भवन, चार कोठे शौचालय र खेल मैदान निर्माणका लागि ढकालले सहयोग गरेको पृथ्वी हिरण्य माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम चापागाईले बताए। ‘पाँच करोड २८ लाख रुपैयाँ भवन निर्माणमा सहयोग गर्नुभयोे,’ प्रअ चापागाईले भने, ‘खेल मैदान, शौचालय र अलपत्र भवनको निर्माण पूरा गर्नका लागि थप एक करोड रुपैयाँ खर्च हुन्छ।’  ढकालले माविलाई उच्च मावि सञ्चालन गर्ने बेला ५० हजार रुपैयाँ फर्निचर निर्माणमा सहयोग गरेको प्रअ चापागाईले बताए।

ढकालले जिल्लाको विकासमा पनि योगदान पु-याउँदै आएका छन्। ढकालले बागलुङ बलेवा नारायणस्थानको कृष्ण गण्डकी क्याम्पसलाई १५ लाख रुपैयाँ सहयोग गरेका थिए। भूकम्पले भत्किएको जिल्लाकै विद्यामन्दिर उच्च माविको भवन निर्माणमा १२ लाख ५० हजार ,शान्ति उच्च मावि जैमिनी नगरपालिका—१ कुस्मीसेरामा ५ लाख सहयोग गरेका थिए। शैक्षिक क्षेत्रसंगै बानपा—१३ पैयुँपाटामा स्वास्थ्यचौकी निर्माणका लागि १० लाख र बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा भौतिक संरचना निर्माणका लागि २५ लाख रुपैयाँ सहयोग गरेका छन्। ‘आफूले पढ्नका लागि संघर्ष गर्नुपरेकाले शैक्षिक क्षेत्रमा अलि बढि सहयोग छ,’ चन्द्रले भने , ‘स्वास्थ्य र पर्यटनको क्षेत्रमा पनि मैले सहयोग गर्ने गरेको छु।’ व्यवसायिक सफलता हाँसिल गरेर काठमाडौंमै बसे पनि ढकालले आफ्नो जन्मथलोको विकासमा सघाउँदै आएका छन्।

उक्त विद्यालयमा पुस्तकालय निर्माण गर्नका लागि युवा उद्यमी तथा राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले पनि २५ लाख रुपैयाँ सहयोग गरेका थिए। पौडेलले आफ्ना बाबुको स्मृतीमा २५ लाख रुपैयाँ खर्चिएर ‘भिम पुस्तकालय’ स्थापना गरेका छन्। विद्यालयमा गैर आवासीय नेपाली र पूर्व विद्यार्थीले पनि सहयोग गरेका छन्। विद्यालयमा  सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, कम्प्युटर कक्ष, मल्टिमिडिया कक्षका लागि सघाएको पूर्व विद्यार्थी संघका अध्यक्ष डा. हेमराज शर्माले बताए।

प्रकाशित: २४ वैशाख २०७६ ०१:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App