३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

कलैया बजारका सटर गैरकानुनी खरिदबिक्री

कलैया उपमहागनरपालिकाको जग्गामा रहेका कलैया हाड बजारका सटर। तस्बिर: नागरिक

बारा - कलैया उपमहानगरपालिकको जग्गामा निर्माण गरिएका सटर मालपोत कार्यालयको मिलेमतोमा गैरकानुनी तरिकाले खरिद–बिक्री हुने गरेको पाइएको छ।

कलैया हाट बजार क्षेत्रमा निर्माण गरिएका सटरलाई सुरुमा उपमहानगरपालिकासँग भाडामा लिएर व्यापार गर्दै आएका केही व्यापारीले गैरकानुनी तरिकाले बेचेका हुन्। उपमहानगरले कलैया हाट क्षेत्रमा निर्माण गरेको लगभग एक सय २६ सटरमा व्यापारीकै मनोमानी चल्दै आएको छ। उपमहानगरपालिकाको एउटा सटर २५ लाख रुपैयाँसम्ममा मालपोत कार्यालय बाराबाट खरिद–बिक्री गरिएको तथ्य सार्वजनिक भएको छ।

कोठा नम्बर ११६ को सटरलाई पुष्पादेवी शर्माले मालपोत कार्यालय बाराबाट २०७५ मंसिरमा २५ लाख रुपैयाँमा रिनादेवी केशरीलाई बिक्री गरेकी छन्। खरिद–बिक्री गरिएको कोठा नम्बर ११६ को सटरमा विगत ३५ वर्षदेखि सरिफ मियाँ धोवीले कपडाको व्यापार गर्दै आएका छन्।

उपमहानगरपालिका स्वामित्वको सटरमा धोवीले उपमहानगरपालिकालाई भाडा दिएर व्यापार गर्दै आए पनि शर्माले गैरकानुनी तरिकाले मालपोत कर्मचारीको मिलेमतोमा केशरीलाई बिक्री गर्न सफल भएको बताइएको छ। गैरकानुनी तरिकाबाट कलैैया उपमहानगरपालिकाको सटर खरिद गरेका केशरीले ती सटर खाली गराइदिन सरिफ मयाँका छोरा सहादत मियाँविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जबाट २०७५ चैत २९ गते अन्तरिक आदेशसमेत जारी गराउन सफल भएका छन्।

कलैया उपमहानगरपालिकाको सटर खरिद गरेका रिनादेवी केशरीका श्रीमान कमलेश केशरीले कानुनी प्रक्रिया पूरा गरेरै आफूहरुले सटर खरिद गरेको दाबी गरेका छन्। कलैया उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवले उपमहानगरको स्वामित्वको जग्गामा निर्माण गरिएका सटर निजी बनाउन खोज्नेलाई कारबाही गरिने बताए। उपमहानगरपालिकाको सम्पत्ति संरक्षण गर्न आफूहरु लागेको र नगरपालिकाको सम्पत्ति कब्जा गर्नेहरु कारबाहीको भागी बन्नुपर्ने प्रमुख यादवले बताए।

उपमहानगरपालिकाको सटर गैरकानुनी तरिकाले खरिद–बिक्री भएको र त्यसलाई रोक्नुपर्ने माग गर्दै अघिल्लो बिहीबार व्यापारीको एक टोलीले कलैया उपमहानगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षणसमेत गराए। व्यापारीको टोलीले कलैया बजार क्षेत्रको सटर गैरकानुनी तरिकाबाट खरिद बिक्री भएको प्रमाण नगरपालिकामा पेस गरेका छन्।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेल्वासेले सटर अरुले बेचेको प्रमाण देखेपछि कलैया बजारका सटर खरिद–बिक्री गर्ने कार्यमा संलग्न मालपोतका कर्मचारीलाई अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी गराएको बताए।

ती सटर कुन प्रक्रियाअन्तर्गत मालपोतबाट खरिद–बिक्री गरिएको हो, सो पत्ता लगाएर दोषीलाई कारबाही गर्न जरुरी देखिएको बेल्वासेले बताए। त्यस्तै, कोठा नम्बर ११६ पनि मालपोत कार्यालयबाट खरिदबिक्री गरिएको छ। आन्तरिक स्रोत बढाउन सटर निर्माण गरी व्यापारीलाई दिइएको र कुन सटरमा कुन व्यापारीले पसल सञ्चालन गरेका हुन् भनेर जानकारीका लागि सुरुमा लगत कायम गरेको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाले कायम गरेको लगतका अधारमा ती सटर निजी भएको भन्दै केही व्यापारीले त्यसलाई खरिद बिक्री गर्ने कार्यमा प्रमाण बनेको मालपोत कार्यालयले जनाएको छ। मालपोत कार्यालय बारा, कलैयाका प्रमुख रामकृष्ण उप्रेतीले कलैया उपमहागरपालिकाको नामको जग्गामा निर्माण गरिएका सटर अन्य व्यक्तिले मालपोत कार्यालयबाट खरिद बिक्री गर्न नसक्ने तर्क गरे।

आफू भर्खरै मात्र सरुवा भएर आएकाले मालपोत कार्यालयले कुन आधारमा नगरपालिकाको सटर खरिद बिक्री गरेको हो त्यसबारे अनुसन्धान गरेर मात्रै केही बोल्ने उप्रेतीले बताए।

प्रकाशित: १८ वैशाख २०७६ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App