१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

तातोपानी नाका जेठ १७ देखि

तस्बिर: ध्रुव/नागरिक

सिन्धुपाल्चोक - उत्तरी चीन जोड्ने मुख्य नाका तातोपानी आगामी जेठबाट सञ्चालनमा ल्याउने तयारी भएको छ। २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि उक्त नाका चार वर्षदेखि बन्द छ।

नाका खुल्ने सन्देश दिँदै पछिल्लो समय भौतिक पूर्वाधार निर्माणमा भएको प्रगति अवलोकन गर्न गत साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा सरकारी प्रतिनिधिमण्डल तातोपानी पुगेको थियो। ‘आगामी मे ३१ (जेठ १७) बाट नाका सञ्चालनमा ल्याउने नेपाल र चीन सरकारको तयारी छ,’ प्रतिनिधिमण्डलका सदस्य पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले नागरिकसँग भने। प्रधानमन्त्री केपी शर्मा ओलीले नाका सञ्चालनमा आउनुपूर्व त्यहाँको अवस्था बुझ्न अन्तिमपटक आफ्नोतर्फबाट प्रतिनिधिमण्डल पठाएको स्रोतले बतायो।

नाका खुल्नुअघि आवश्यक भौतिक पूर्वाधार विकासको जानकारी लिन सरकारी प्रतिनिधिमण्डल तातोपानी पुगेको सापकोटाले बताए। ‘नाका खुल्नेमा अब सन्देश रहेन,’ दुवै सरकारको तयारीबारे जानकारी दिँदै उनले नागरिकसँग भने, ‘जेठ १७ मै नाका खुल्नेछ।’ प्रतिनिधिमण्डलमा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, यसै क्षेत्रबाट निर्वाचित सांसद सापकोटा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई, यातायात सचिव मधुसूदन अधिकारी र सडक विभागका महानिर्देशक राजेन्द्र शर्मालगायत थिए।

पछिल्लो ६ महिनामा भौतिक पूर्वाधारमन्त्री महासेठले तीनपटक नाका भ्रमण गरेका छन्। गत असोजको पहिलो भ्रमणमा उनले नेपाल र चीन सरकारबीच जेठ १७ बाट नाका सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिएका थिए।  प्रतिनिधिमण्डलले बाढी, पहिरो र भूकम्पले बढी क्षति पु¥याएको अरनिको राजमार्गको जुरेदेखि लिपिङ बजारसम्म एक दर्जन ठाउँमा ओर्लेर अवलोकन गरेको थियो। राजमार्गको लिपिङदेखि बसेरीसम्म चीन र त्यहाँदेखि बाह्रबिसेसम्म नेपाल सरकारले सडक, पुल, नदी कटान नियन्त्रणलगायत क्षेत्रमा काम गरिरहेका छन्।

‘चीनले आफ्नो क्षेत्रमा तीन सिफ्टमा चौबीसै घन्टा काम गरिरहेको छ,’ अवलोकन भ्रमणपछि नेकपा नेतासमेत रहेका सापकोटाले भने, ‘यताबाट सडक डिभिजनले काम अघि बढाइरहेको छ।’ उनका अनुसार चीनले मितेरी पुल, लिपिङदेखि बसेरीसम्म सडक स्तरोन्नति र लार्चामा सुक्खा बन्दरगाहको काम अन्तिम चरणमा पु-याएको ।

मन्त्री ज्ञवाली नेतृत्वको टोलीले सीमा सडक र बन्दरगाह निर्माण गरिरहेको चिनियाँ कम्पनी सिआरसीका अधिकारीलाई भेटेको थियो। भेटका क्रममा सिआरसीका अधिकारीले मे ३१ बाट नाका सञ्चालनमा ल्याउन मे १५ भित्र सडक र २० भित्र बन्दरगाह हस्तान्तरण गर्ने गरी काम सक्न चीन सरकारले निर्देशन दिएको बताएका थिए।

‘चीनले निर्धारित समयभित्र काम नसके पनि जेठमा नाका सञ्चालनमा ल्याउने सरकारको तयारी छ,’ सापकोटाले भने, ‘नाका सञ्चालनमा आउँछ बाँकी काम पनि हुँदै जान्छन्।’ मन्त्री महासेठले आफ्नोतर्फबाट पनि निर्धारित समयअघि नै पूर्वाधार निर्माणको काम सक्ने प्रतिनिधिमण्डलका सदस्यलाई बताएका थिए। उनले सडक डिभिजनलाई बाह्रबिसेको साधी खोलामा १५ दिनभित्र बेलिब्रिज राख्न निर्देशन दिएका थिए । गत बर्खाको बाढीले त्यहाँको मोटरेबल पुल बगाएको थियो। त्यहाँ पक्की पुल पनि क्रमशः बन्दै जाने उनले अवगत गराएका थिए।
चीनले एक महिनाभित्रै मितेरी पुल सक्ने गरी कामलाई तीव्रता दिएको छ। स्पान (फाउन्डेसन) उठिसकेको उक्त पुल ढलान हाल्ने अवस्थामा पुगेको छ।

नाकाबाट ६ किलोमिटर तल लार्चामा निर्माणाधीन आधुनिक बन्दरगाहको भौतिक निर्माणको काम सकिएको जानकारी सरकारी टोलीलाई गराइएको थियो । बन्दरगाह पुग्न भोटेकोसी नदीमाथि पुल हाल्ने कामसमेत सकिएको छ । बन्दरगाह संरचनामा पानी, बत्ती र रंगरोगनको अन्तिम काम भइरहेको छ ।

प्रकाशित: ३ वैशाख २०७६ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App