२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

आजबाट ऊर्जा प्रदर्शनी

काठमाडौ– नेपालस्थित जर्मन दूतावासको आयोजनामा आजबाट ऊर्जासम्बन्धी प्रदर्शनी हुँदैछ। १६ दिन चल्ने प्रदर्शनी पुल्चोक क्याम्पसको सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुने दूतावासले जनाएको छ। ‘जर्मन ऊर्जा रुपान्तरण: जर्मनीको ऊर्जा प्रणालीमा परिवर्तन’ नाम दिइएको प्रदर्शनी वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ। विश्व नै स्वच्छ र नवीकरणीय ऊर्जाको स्रोत खोज्नेतर्फ अग्रसर भइरहेका बेला जर्मनीले सन् २०५० सम्ममा कार्बन तटस्थताको लक्ष्य हासिल गर्ने बाटोमा अघि बढिरहेको छ। नेपालमा पनि नवीकरणीय ऊर्जा उत्पादनको ठूलो सम्भावना रहेको र यसका लागि जलविद्युत्, सौर्य ऊर्जा तथा ऊर्जा खपत कम गर्ने माध्यमहरु पनि रहेकाले प्रदर्शनी आयोजना गर्न लागिएको बताइएको छ।

प्रदर्शनीले जर्मनीको आर्थिक परिवर्तन पुनःप्रयोग गर्न सकिने ऊर्जाका स्रोततर्फ केन्द्रित भएको संकेत गर्नेछ। ऊर्जा संक्रमण के हो ? हालसम्म के प्राप्त भयो र के चुनौती बाँकी छन् ? जस्ता विषयमा प्रदर्शनीमा छलफल हुनेछ। नेपाल सरकारले वातावरणमैत्री ऊर्जा उत्पादनमा गरेका प्रयासको सराहना तथा यसबारेमा जानकारी पनि गराइने छ। यस्तो किसिमको प्रदर्शनी हालसम्म ३० भन्दा बढी मुलुकका ८० ठाउँमा गरिएको काठमाडौंस्थित जर्मन दूतावासले जनाएको छ। प्रदर्शनीमा विद्यार्थी, नवीकरणीय ऊर्जा क्षेत्रमा व्यावसायिक रुपमा काम गरिरहेकाहरु तथा नीति निर्माता र विज्ञहरुले सहभागी भएर यस क्षेत्रमा भएको पछिल्लो विकासबारे जानकारी लिन सक्नेछन्। प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था छ। प्रदर्शनीमा नेपाल–जर्मनी मित्रताको ६०औं वर्षगाँठको अवसरमा दुई देशका नागरिकको मित्रतासँग सम्बन्धित फोटोहरु पनि राखिने दूतावासले जनाएको छ।

प्रकाशित: २९ चैत्र २०७५ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App