२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

हावाहुरी र असिनापानीले करोडौंको क्षति

रौतहट - हावाहुरीसँगै आएको असिना र पानीका कारण रौतहटमा ठूलो क्षति पुर्‍याएको छ। मंगलबार विहान एक्कासी हावाहुरीसँगै आएको असिना र मुसल्धारे पानीका कारण यहाँका सयौं घरमा क्षति पुर्‍याउनुका साथै गहुँ, उखु, मसुरो, मकैका साथै फलफूल एवं तरकारी खेतीसमेत नष्ट हुँदा करोडौँको क्षति भएको छ। एक किलोग्राम तौलसम्मको असिनाले सर्वसाधारणको खपडा, टायल, एल्बेस्टर र टिनाले छाएको घरमा बढी क्षति पुर्‍याएको छ। जिल्लाको आठवटा नगरपालिकाका करिब पाँच सयभन्दा बढी घरमा हावाहुरी र असिना पानीले क्षति पुर्‍याएको हो।

बृन्दावन नगरपालिका–१ खैराटोलका स्थानीय तिलक सहनीको घर भत्किएको छ। घर भत्किँदा घरधनी सहनी चेपिएर गम्भीर घाइते भएका छन्। सहनीको ढाडमा गम्भीर चोट लागेकाले गाउँमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज लगिएको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए। हवाहुरीसँगै आएको असिना र पानीका कारण अधिकांशको पुसको घरको छानो उडाउनुका साथै काठको घरमा समेत क्षति पुर्‍याएको छ। जिल्लाको परोहा नगरपालिकाको विभिन्न वडाका फुुस र टिनले छाएको करिब एक सय घरमा क्षति पुर्‍याएको प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले बताए। हावाहुरीले नगरको १, २, ३ र ४ वडामा ठूलो क्षति पु¥याएको अधिकृत यादवले जानकारी दिए। नगरमा भएको क्षति यकिन गर्न नसकिए पनि कम्तीमा दुई करोडको क्षति भएको प्रारम्भिक अनुमान रहेको अधिकृत यादवको भनाइ छ।
जिल्लाको १६ स्थानीय तहमध्ये आठवटामा हावाहुरी र असिनापानीले क्षति पुर्‍याएको छ।

जिल्लाको देवाही गोनाही, गौर, राजदेवी, राजपुर, वृन्दावन, गढीमाई नगरपालिका र दुर्गा भगवती तथा यमुनामाई गाउँपालिकामा प्राकृतिक प्रकोपले क्षति पुर्‍याएको हो। हावाहुरी र असिना पानीले सैयौं घरमा क्षति पुर्‍याउनुका साथै अन्नवालीमा गहुँ, मकै, आँप, लिची, कटहरलगायतको लागि निकै क्षति पुर्‍याएको जानकारी दिदै एसपी खत्रीले मातहतका प्रहरी युनिटबाट क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताए। यस्तै हावाहुरीको अत्यधिक वेगका कारण गौर भन्सार कार्यालयको फलामको बैरियरसमेत भाँचिएको छ।

त्यस्तै जिल्लाको इँटा उद्योगमा करोडौंको क्षति भएको इँटा उद्योग संघ रौतहटका अध्यक्ष राम विनोद साहले बताएका छन्। केही दिनदेखि परेको पानी र मंगलबार हावाहुरीसहित आएको असिना पानीले जिल्लाको कृषि क्षेत्रमा निकै ठूलो क्षति पु¥याएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ। चालू आर्थिक वर्षमा गहुँ र मसुरोको उत्पादनमा करिब १० प्रतिशतले वृद्धि हुने अनुमान गरिएकामा मंगलबार हावाहुरीसँगै आएको असिना पानीले गहुँ र मसुरो बालीमा गम्भीर क्षति पुर्‍याएकाले उत्पादनको यकिन गर्न गाह्रो भएको ज्ञान केन्द्रका तथ्यांक अधिकृत विप्लव कुमार गुप्ताले बताए। हावाहुरी र असिना पानीले जिल्लाको कृषि क्षेत्रमा अपूरणीय क्षति पुर्‍याएकाले किसानको ढाड नै भाँच्चिएको जनहित कृषि सहकारी संस्थाका अध्यक्ष दीपलाल साहले बताए। यसैबीच संघीय सांसद देवप्रसाद तिमल्सिनाले हावाहुरी र असिनाले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन गरेका छन्। सांसद तिमल्सिनाले वृन्दावन नगरपालिकाको विभिन्न गाउँमा स्थलगत अवलोकन गरेका छन्। सांसद तिमल्सिनाले किसानको घर र खेतमा पुर्‍याएको क्षतिको क्षतिपूर्ति सरकारसित माग गरेका छन्। सांसद तिमल्सिनाले किसानलाई तत्काल राहत पनि दिइनुपर्ने माग गरेका छन्।

 

प्रकाशित: २८ चैत्र २०७५ ००:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App