१५ चैत्र २०८० बिहीबार
अर्थ

लगानी गर्नुस्, ढुक्क हुनुस् : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न र प्रतिफल लैजान आग्रह गरेका छन्। शुक्रबार राजधानीमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीको सुरक्षा र प्रतिफलका लागि ढुक्क हुन आग्रह गरेका हुन्।

झन्डै ६ सय विदेशी पाहुनालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार लगानीकर्ताको लगानीको पूर्ण सुरक्षाका लागि कटिबद्ध रहेको समेत बताए। ‘नेपाल लगानी गर्न उपयुक्त ठाउँ हो। ढुक्क भएर लगानी गर्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो प्रतिफल तपाईंले सुरक्षित साथ लैजान सक्नुहुन्छ।’ विदेशी लगानीकर्ताका लागि लगानीको सुरक्षा र प्रतिफल लैजाने ‘ग्यारेन्टी’ सरकारले गरेको उनले स्पष्ट पारे। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले प्रतिफल लैजाने ‘ग्यारेन्टी’ गरेको उनले बताए।

‘विदेशी लगानीकर्ताका लागि लगानीको सुरक्षा र प्रतिफल लैजाने ग्यारेन्टी सरकारले गरेको छ ।’

त्यसैगरी लगानीकर्तालाई सहज र लगानीको वातावरण बनाउनेगरी ऐनकानुनमा सुधार र संशोधन गरेको उनले बताए। पछिल्लो एक वर्षको अवधि यिनै ऐन कानुनको सुरधामा खर्च गरेको भन्दै प्राधानमन्त्री ओली थपे, ‘पछिल्लो वर्ष नीतिगत सुधार र कानुनी संशोधनको वर्ष भएको छ।’ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र सार्वजनिक तथा निजी साझेदरी लगानीसम्बन्धी ऐनले लगानीकर्तालाई सहज र सरल बनाएको उनले बताए। प्रधानमन्त्री ओलीले उद्योग स्थापना र विभिन्न प्रक्रियालाई सरलीकरण, एकद्वार प्रणाली, कम्पनी दर्ता, जग्गा प्राप्ति, संस्थागत सुधार, क्षमता वृद्धिलगायतका विषयमा व्यापक सुधार भएको जानकारी गराए। उनले अनलाइन दर्ता तथा भुक्तानी सुरु गरेको भन्दै यसलाई पूर्णरुपमा सञ्चालन गर्ने बताए।

प्रधानमन्त्री ओलीले नेपालमा तीन चरणको चुनावसँग राजनीतिक स्थिरता आएको र यो स्थिर सरकारले नीतिगत स्थिरता पनि ल्याएको बताए। ‘राजनीतिक स्थिरतामात्र होइन, नीतिगत स्थिरता पनि छ’, प्रधानमन्त्रीले भने, ‘पहिलेदेखि रहेका कानुनी र नीतिगत समस्यालाई समाधान गरिएको छ।’ मुलुकमा आएको राजनीतिक र कानुनी स्थिरताले आर्थिक वृद्धिमा सहयोग पुग्ने उनको विश्वास छ। सन् २०३० सम्म मध्यमस्तरको आय भएको मुलुक बन्ने र दिगो विकास लक्ष्य पूरा गर्ने लक्ष्यमा सरकार लागिपरेको बताउँदै उनले थपे, ‘यो लक्ष्य पूरा गर्न दुई अंकको आर्थिक वृद्धिदर चाहिन्छ। दुई अंकको आर्थिक वृद्धि गर्न पाँच वर्षभित्र ९ सय ७९ दशमलब ९ खर्ब रुपैयाँ आवश्यक पर्छ।’ यो लगानी स्वदेशीले मात्र गर्न नसक्ने भएकाले विदेशी लगानी आवश्यक भएको उनको जोड थियो। ‘यसैका लागि तपाईंहरु लगानी गर्न आउनुहोस्,’ प्रधानमन्त्रीले सम्मेलनमा सहभागी विदेशी पाहुनालाई आग्रह गरे।

सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले नेपाल लगानीका लागि उपयुक्त क्षेत्र हो भनेर चिनाउनु पनि लगानी सम्मेलनको उद्देश्य रहेको बताए। ‘हामीले तयार गरेका केही परियोजना छन्,’ खतिवडाले भने, उहाँहरुलाई जानकारी गराउँदै लगानीकर्ता र सरकारबीच समन्वयन गर्न सम्मेलनले सहयोग गर्नेछ।’ सार्वजनिक–निजी साझेदारी मोडलमा सरकारले निजी क्षेत्रसँग काम गर्न चाहेको उनको भनाइ छ। उनले भने, ‘२०३० सम्म मध्यमस्तरको आय भएको देशमा पुग्ने हाम्रो लक्ष्य छ। नेपालमा लगानीको प्रचुर सम्भावना भएको हुदा नयाँ प्रविधि, रोजगारी सिर्जना, निर्यात वृद्धि, आयात प्रतिस्थापन गर्न विदेशी लगानी आवश्यक छ।’

पूर्वअर्थमन्त्री रामशरण महतले पछिल्लो दुई दशकमा मुलुकले भोगेको समस्या समाधान भएकाले लगानीका लागि उपयुक्त क्षेत्र भएको बताए। अब मुलुकको ध्यान आर्थिक विकासमा हुनुपर्ने उनले बताए। ‘हामीले राजनीतिक विवादमा समय गुजारिरहेका छौं,’ महतले भने, ‘सार्वजनिक र निजी क्षेत्रबाट लगानी बढाएर आर्थिक विकासमा जोड दिन आवश्यक छ।’ मुलुक लगानीका लागि उपयुक्त क्षेत्र भएको र यहाँ ‘क्लाइमेट एड्भान्टेज’ को पनि फाइदा भएको बताउँदै उनले लगानीकर्तालाई लगानीका लागि आग्रह गरे।
एसियन डेभलपमेन्ट बैंक (एडिबी) का भाइस प्रेसिडेन्ट सिजिन चेनले नेपालको आर्थिक विकास गर्न पूर्वाधारमा लगानी गर्नुपर्ने बताए। नेपालको आर्थिक विकास गर्न एडिबी सधैं साथ रहेको उनले स्पष्ट पारे। सिंगापुरको मेइनहाडट ग्रुपका कार्यकारी अध्यक्ष शाहजाद नासिमले प्रधानमन्त्री ओलीले पछिल्लो एक वर्षमा नेपालको ‘प्रोफाइल’ अन्तर्राष्ट्रिय रुपमा बढाएको बताए। सिंगापुरमा प्राकृतिक स्रोतसाधन नभएको अवस्थमा विकास भइरहेको भन्दै उनले नेपाल भने प्राकृतिक स्रोतसाधनमा धनी रहेको बताए। ‘हामीसँग सगरमाथा छैन र पानी पनि छैन,’ उनले भने।

वल्र्ड बैंकका भाइस प्रेसिडेन्ट हार्टविग स्काफरले विभिन्न समस्याका बीच नेपालले उन्नति गरिरहेको बताए। नेपालमा अझै पनि गरिबीको रेखामुनिको जनसंख्या धेरै भएको उल्लेख गर्दै उनले तल्लो तहसम्म सेवा पुग्नेगरी विकासमा जोड दिनुपर्ने बताए।

शनिबार सकिने सम्मेलनमा ४० मुलुकका ६ सय लगानीकर्ता भेला भएका छन्। सरकारले विदेशी लगानीकर्तासमक्ष लगानी गर्न सक्ने ७७ वटा परियोजना प्रस्तुत गरेको छ। मुलुकमा नयाँ संविधान जारी भएपछि दोस्रोपटक लगानी सम्मेलन भएको हो। सरकारले यसअघि २०७३ सालमा लगानी सम्मेलन आयोजना गरेको थियो। सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्तालगायत सहभागी छन्।

प्रकाशित: १६ चैत्र २०७५ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App