४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रसुवागढी र सान्जेनले साधारण सेयर जारी गर्ने

रसुवा– रसुवामा निर्माण भइरहेका तीनवटा जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएका छन्। 
एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गर्ने रसुवागढी हाइड्रोपावर कम्पनीका साथै सान्जेन र माथिल्लो सान्जेन निर्माण गर्ने सान्जेन हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गर्न लागेका हुन्।

यी दुवै कम्पनीले आउँदो वैशाखको पहिलो हप्ताभित्र सर्वसाधारणका लागि १५ प्रतिशत साधारण सेयर निष्कासन गर्ने छन्। गत फागुन अन्तिम साताबाट आइपिओ जारी गर्ने तयारी गरिएको थियो। रसुवागढीले स्थानीयका लागि पछि सेयर निष्कासन गर्ने गरी सर्वसाधारणलाई एक अर्ब दुई करोड ६३ लाख १५ हजार मूल्यको एक करोड दुई लाख ६३ हजार एक सय ५० कित्ता सेयर निष्कासन गर्दैछ।

सान्जेनले ५४ करोड ७५ लाख मूल्यको ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने जनाएको छ। यी दुवै कम्पनीले आइतबार सेयर निष्कासनको अनुमति पाएका हुन्। यसअघि स्थानीयलाई १० प्रतिशत सेयर निष्कासन गरेपछि मात्रै सर्वसाधारणका लागि सेयर निष्कासन हुने गरेको थियो। 

रसुवागढीले स्थानीयका लागि छुट्याइएको ६८ करोड ४२ लाख १० हजार मूल्यको ६८ लाख ४२ हजार एक सय कित्ता र सान्जेनले ३६ करोड ५० लाख रुपैयाँ मूल्यको ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने छ।नेपालमा स्थानीयलाई सेयर दिने सुरुवात रसुवाबाटै भएको थियो भने सर्वसाधारणलाई सुरुमा सेयर निष्कासन गर्ने काम पनि रसुवाकै जलविद्युत् आयोजनाबाट सुरु भएको छ। जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको ६८ प्रतिशत काम पूरा भएको छ। २०७६ फागुन ७ गतेसम्म विद्युत् उत्पादन सुरु गर्ने आयोजनाले जनाएको छ। 

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको ८० प्रतिशत काम पूरा भएको छ। २०७६ पुसभित्र काम सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ। यसको उत्पादन क्षमता १४.८ मेगावाट रहेको छ।त्यस्तै ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत् आयोजनाको ७० प्रतिशत काम सकिएको छ। यो आयोजनाले २०७७ जेठभित्र बिद्युत उत्पादन सुरु गर्ने छ।

 

प्रकाशित: १४ चैत्र २०७५ ०५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App