२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

भैरहवा भन्सारको व्यापार घाटा आठ महिनामै डेढ खर्ब नाघ्यो

रुपन्देहीको बेलहिया नाकामा भारतबाट सामान बोकेर नेपाल प्रवेश गरेका मालबाहक गाडी र नेपालबाट सामान लिन जाँदै रित्ता ट्रक । तस्बिर : रेखा/नागरिक

बुटवल- देशकै दोस्रो ठूलो नाका भैरहवा भन्सारको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ। चालु वर्षको आठ महिनामा यो भन्सारको व्यापार घाटा डेढ खर्ब नाघेको छ।

साउनदेखि फागुन मसान्तसम्मको व्यापार घाटा एक खर्ब ५५ अर्ब १८ करोड ८३ लाख पुगेको भन्सार कार्यालयले जनाएको छ। गत वर्षको तुलनामा चालु वर्षको घाटा १८ अर्ब ४१ करोड ३२ लाखले बढी हो। गत वर्षको सोही अवधिको घाटा एक खर्ब ३६ करोड ७७ लाख थियो। यो नाकाबाट निर्यात हुने वस्तुको तुलनामा भारत तथा तेस्रो मुलुकबाट आयात हुने मालसामानको परिमाण उच्च छ। औद्योगिक कच्चा पदार्थका साथै सवारी साधन, इन्धन र उपभोगजन्य वस्तुको आयात दर बर्सेनि बढ्दो छ। आयातमुखी अर्थतन्त्रका कारण व्यापार घाटाको ग्राफ बर्सेनि बढ्दै गएको भन्सार अधिकारीको भनाइ छ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भैरहवा भन्सारबाट एक खर्ब ५७ अर्ब ५९ करोड ३० लाख मूल्यका मालसामान आयात भएको छ। यो अवधिमा जम्मा दुई अर्ब ४० करोड ४७ लाखको वस्तु निर्यात भएको छ। भैरहवा भन्सारका सूचना अधिकृत कलिराम पौडेलले आयात बर्सेनि बढ्दै गए पनि निर्यात भने खासै बढ्न नसकेको बताए। गत आर्थिक वर्ष २०७४/७५ को सोही अवधिमा एक खर्ब ३८ अर्ब ९१ करोड १० लाखका मालसामान आयात भएको थियो भने दुई अर्ब १३ करोड ५८ लाखको निर्यात भएको थियो ।

मूल्यका आधारमा धेरै आयात हुने मुख्य पाँच वस्तु क्रमशः एमएस बिलेट, डिजेल, पेट्रोल, मोटरसाइकल, चामल, जिप, कार र भ्यान हो। तर राजस्व संकलनको योगदानलाई हेर्ने हो भने एक नम्बरमा मोटरसाइकल र दोस्रोमा जिप, कार र भ्यान रहेको छ। तेस्रोमा एमएस बिलेट, चौथोमा पेट्रोलियम पदार्थ र पाँचौमा टायल मार्बल रहेको छ।

आठ महिनामा १८ अर्ब २२ करोडको एमएस बिलेट अर्थात फलामका पाता आयात भएको छ। यो नाकाबाट १० अर्ब २२ करोडको डिजेल र दुई अर्ब ४४ करोडभन्दा बढी मूल्यको पेट्रोल आयात भएको छ। सात अर्ब ४० करोडका ८९ हजार आठ सय चार मोटरसाइकल आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ७६ हजार तीन सय तीन मोटरसाइकल आयात भएका थिए। त्यस्तै पाँच अर्ब ९३ करोडको चामल आयात भएको छ।

आठ महिनामा तीन अर्ब २४ करोडको चार हजार आठ सय २७ जिप, कार र भ्यान भैरहवा नाकाबाट भित्रिएका छन्। गत वर्ष पाँच हजार ८९ गाडी आयात भएको भन्सार कार्यालयले जनाएको छ। यो वर्ष मोटरसाइकल आयात बढ्दो र साना गाडी तथा माइक्रो बस, ट्रक आयात घट्दो देखिएको भन्सारका सूचना अधिकृत पौडेलले बताए। आठ महिनामा तीन अर्ब चार करोडको टायल र एक अर्ब ७९ करोडको मार्बल आयात भएको छ। दुई अर्ब २५ करोडको सिमेन्ट र क्लिंकर आयात भएको छ भने दुई अर्ब १५ करोड मूल्यका ट्रक, मिनिट्रक र एक अर्ब ३१ करोडको पिकअप गाडी आयात भएको छ।

रुपन्देही र नवलपरासीसँगै पश्चिम नेपालका जिल्लामा रहेका स्टिल उद्योगले उत्पादन बढाउँदै लगेकाले त्यसको कच्चा पदार्थ एसएस बिलेटको आयात पनि बर्सेनि बढ्दो छ। नेपालमै भएका खानी पत्ता लगाई तिनको सदुपयोग गर्न नसक्दा बर्सेनि अर्बौं रुपैयाँ कच्चा पदार्थको आयातमा विदेसिएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष अरुण गोयन्काले बताए। ‘निर्माणजन्य सामग्रीमा हामी आत्मनिर्भर हुँदै छौं। तर त्यतिले मात्रै हुँदैन। व्यापार घाटा कम गर्ने हो भने ती उद्योगलाई चाहिने कच्चा पदार्थमा पनि आत्मनिर्भर हुने बाटो खोज्नुपर्छ।’ उद्योगी गोयन्का भन्छन्, ‘यसका लागि सरकारले खानी तथा भूगर्भ विभागलाई सक्रिय बनाउनु पर्छ।’ युवाशक्तिको विदेश पलायनले जनशक्ति पनि आयात गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत हुनु पर्नेमा उनले जोड दिए।

त्यसो त भैरहवा नाकाबाट हुने आयातमा उपभोगजन्य वस्तुको आयात पनि उच्च बनाएको छ। आठ महिनामा खाद्यान्न र तरकारी मात्रै ११ अर्बको आयात भएको छ। कृषिजन्य वस्तुको आयात उच्च हुनु सबैभन्दा बढी चिन्ताको विषय भएको बताउँछन् बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल। ‘जल र जमिन प्रशस्त छ। बर्सेनि अर्बौंको बजेट पनि खर्च भइरहेको छ तैपनि खाद्यान्न परनिर्भता नघट्नुले राज्यका नीति नियम र बजेट कार्यान्वयनमै खोट रहेको पुष्टि गर्छ,’ अध्यक्ष हमालले भने। कृषिका अनुदान र बजेट कृषकसम्म पु-याउन र उत्पादन बढाउन स्वदेशी लगानीमा ठूला परियोजना सञ्चालन गर्नुपर्ने खाँचो हमालले औल्याए।

यो नाकाबाट निर्यात हुने मुख्य वस्तु अदुवा, दालचिनी, चिराइतो, रद्दी कागज, रोजिन टार्पेन्टाइन, पिनाजस्ता सीमित वस्तु छन्। भैरहवाको विशेष आर्थिक क्षेत्रमा उद्योग सञ्चालन भए  निर्यात उल्लेख्य बढ्ने र यो नाकाको व्यापार घाटा केही कम हुने आशा गरिएको छ। संसोधित सेज ऐनअनुसार उत्पादनको ६० प्रतिशत विदेश निर्यात गर्नुपर्ने भएकाले सेजका उद्योगले भैरहवा नाकाको आयात निर्यातको आकडालाई सन्तुलित गराउने अपेक्षा लिइएको हो। आठ महिनाका लागि ५९ अर्ब १९ करोड राजस्व असुलीको लक्ष्य पाएको यो भन्सारले फागुन मसान्तसम्म ५३ अर्ब ३८ करोड राजस्व सकंलन गरेको छ ।

प्रकाशित: १२ चैत्र २०७५ ०५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App