२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

वैशाख पहिलो हप्तादेखि पाइपबाट पेट्रोल

लामो समय रोकिएको पर्सा निकुञ्ज क्षेत्रको रुख कटान गरी गाडिएको पेट्रोलियम पाइप। तस्बिर:नागरिक

बारा - बहुप्रतीक्षित मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपबाट वैशाख पहिलो हप्तादेखि इन्धन आपूर्ति गरिने भएको छ। पाइप बिछ्याउने काममा अवरोध बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख कटान सुरु गरिएकाले वैशाखबाटै तेल ल्याउन सकिने स्थिति बनेको हो।

निकुञ्जको नौ किलोमिटर क्षेत्रको रुख कटान गरी पाइपलाइन बिछ्याउने काम सुरु भइसकेको र वैशाख पहिलो हप्ता निर्माण सम्पन्न हुने आयोजनाका अधिकारीहरुले बताएका छन्। आयोजना प्रमुख प्रदिप यादव भन्छन्, ‘पाइपलाइनको ८० प्रतिशत काम सकिएको छ। बाँकी रहेको पाइप बिछ्याउने कार्य एक महिनाभित्रमा पूरा हुन्छ।’

यादवका अनुसार भारतको मोतिहारीदेखि अमलेखगन्जसम्मको ६९ किलोमिटर पाइपलाइनमध्ये नेपालतर्फ पर्ने आठ किलोमिटर मात्रै पूरा गर्न बाँकी छ। पाइपलाइनको काम अघि बढाउन अवरोधको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको रुख कटान आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले चैत ४ गते सुरु गरेपछि धमाधम पाइप बिछ्याउने काम भइरहेको यादवले बताए।

पाइपलाइन बिछ्याउने ठेक्का लिएको भारतीय निर्माण कम्पनी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिको प्राविधिक टोलीले वैशाख पहिलो हप्तादेखि पाइपबाट पेट्रोल ल्याउन युद्धस्तरमा काम गरिरहेको आयोजना प्रमुख यादवले जानकारी दिए।
उनका अनुसार पाइपलाइनको ३६.२० किलोमिटर नेपालमा र ३२.८० किलोमिटर भारतीय भूमिमा पर्छ। एक किलोमिटर पाइपलाइन निर्माण गर्दा पाँच करोड भारतीय (आठ करोड नेपाली) रुपैयाँ खर्च हुने अनुमान गरिएको आयल निगमका अधिकारी बताउँछन्। पाइपलाइनमा लाग्ने पाँच अर्ब १८ करोड रकम भारत सरकारले नै उपलब्ध गराएको हो।

पाइपलाइन बनेपछि ढुवानी खर्च कटौती भई पेट्रोलियम पदार्थको लागत सस्तो हुने, ट्यांकरबाट ढुवानी गर्दा बाटोमा हुने चोरी, चुहावट र मिसावट रोकिने र तेल ट्यांकर हिँड्दा वीरगन्ज–पथलैया सडक खण्डमा हुने ट्राफिक जाम र प्रदूषण समेत कम हुने विश्वास गरिएको छ। ‘निकुञ्ज क्षेत्रमा टुक्राटुक्रामा रहेको पाइपलाई जोडेर वेल्डिङ गर्ने काममा प्राविधिक टोली व्यस्त छ,’ आयोजना प्रमुख यादव भन्छन्, ‘पाइप जोडिसकेपछि जमिनमुनि गाड्न सुरु हुन्छ।’

अहिले निर्माण भइरहको वीरगन्ज–पथलैया ६ लेन व्यापारिक मार्गको माथिल्लो सतहदेखि २.५ मिटर तलबाट पाइपलाई निगमको अमलेखगन्ज डिपोसम्म ल्याइने छ। अन्तर्राष्ट्रिय स्तरको यो पाइपलाइनबाट प्रतिघन्टा दुई सय किलोलिटरसम्म पेट्रोलियम पदार्थ मोतिहारीबाट अमलेखगन्ज डिपोमा आपूर्ति गर्न सकिने आयोजना प्रमुख यादवले बताए। हजार लिटरको एक किलोलिटर हुन्छ।

अमलेखगन्जभन्दा मोतिहारी गहिरो ठाउँमा रहेकाले पाइपलाइन बिछ्याइसकेपछि परीक्षण गर्ने योजना रहेको उनको भनाइ छ। परीक्षण सफल हुनेबित्तिकै डिजेल आपूर्ति सुरु हुनेछ। पछि पेट्रोल, मट्टीतेल, हवाई इन्धन समेत ल्याउने योजना छ। २०७१ साउनमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट नेपालमा पेट्रोलियम पदार्थ आपूर्तिका लागि इन्डियन आयल निगमले मोतिहारीदेखि अमलेखगन्जसम्म अनुदानमा पाइपलाइन बनाइदिने घोषणा गरेका थिए।

मोदीको घोषणापछि ३० महिनाभित्र पाइपलाइन निर्माण गर्ने गरी २४ अगस्ट २०१५ मा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौता गरेका थिए। २०७२ असोजमा जारी संविधानप्रति असन्तुष्टि जनाएको भारतले मधेस आन्दोलनका नाममा नेपालमाथि अघोषित नाकाबन्दी लगाएपछि दुई देशबीचको सम्बन्ध चिसियो। सम्बन्ध चिसिएसँगै पाइपलाइन निर्माण ओझेलमा प-यो।
सुरुमा रक्सौलबाट अमलेखगन्जसम्म पाइपलाइन निर्माण गर्ने सम्झौता भए पनि अहिले रक्सौलभन्दा २८ किलोमिटर परको मोतिहारीबाट निर्माण गरिएको छ। पाइपलाइन बनेपछि अमलेखगन्ज नेपालको पेट्रोलियम हब बन्नेछ। अमलेखगन्ज मानव बस्तीबाट टाढा र सुरक्षित ठाउँ भएकाले यहाँबाट पेट्रोलियम पदार्थ वितरण गर्न उपयुक्त मानिएको छ।
‘पाइपलाइन निर्माण भएपछि निगमको वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च जोगिने अनुमान छ,’ यादवले भने, ‘बन्द–हडताल हुँदा समेत भारतबाट इन्धन ओसारपसारमा कुनै असर पर्दैन।’ इन्डियन आयल निगमले अनुदानमा पाइपलाइन निर्माण गरिदिएकाले अबको १५ वर्षसम्म ऊसँग मात्रै पेट्रोलियम पदार्थ किन्नुपर्ने सर्त छ।

प्रकाशित: ८ चैत्र २०७५ ०५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App