६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनकोशी तेस्रो जलाशययुक्त विद्युत् आयोजना पनि समावेश

बनेपा - दोस्रो लगानी सम्मेलनमा सरकारले पाँच सय ३६ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई पनि जलविद्युत् क्षेत्रबाट समावेश गरेपछि काभ्रेली खुसी छाएको छ।

२.४ मेगावाटको पनौती जलविद्युत् केन्द्र निर्माण भएको ५३ वर्षसम्म जिल्लाभरमा मेगावाट क्षमताका एउटै आयोजना निर्माण नभएको अवस्थामा यो प्रस्ताव आउँदा खुसी हुनु स्वाभाविकै रहेको काभ्रे सेवा समाजका पूर्वअध्यक्ष प्रह्लाद केसीको भनाइ छ। ‘काभ्रेमा पूर्वाधार तथा सामाजिक विकासमा क्रियाशील हामी काभ्रेलीलाई सरकारको यो प्रस्तावले खुसी बनाएको छ। विगतमा हाम्रै पहलमा स–साना जलविद्युत्मा लगानीका लागि व्यवसायी उत्साहित हुँदै आएका थिए। यस पटक लगानी सम्मेलनमै वृहत परियोजना प्रस्तावित हुनु काभ्रेलीका लागि समृद्धिको ढोका खुल्नु हो,’ उनले भने।

२०२२ मा नेपालकै तेस्रो जलविद्युत् आयोजनाका रुपमा खोपासीमा पनौती जलविद्युत् केन्द्र सुरु भएपछिको आधा दशकभन्दा बढी अवधिमा सो केन्द्रबाहेक काभ्रेमा करिब सात सय किलोवाटमात्रै बिजुली उत्पादन भइरहेको छ। त्यो पनि तत्कालीन काभ्रे जिविस/जिल्ला ऊर्जा तथा वातावरण शाखा र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा यत्तिको परिमाणमा बिजुली उत्पादन भएको हो।

काभ्रेका लागि सुनकोशी तेस्रो जलाशयसहित पाँच परियोजना ‘सो–केस’मा, करिब ७१ करोड डलर लगानीको सम्भावना

‘विगतमा बिजुलीमात्रै हाम्रो आवश्यकता थियो। तर यतिखेर बिजुलीसँगै पर्यटनलगायत अन्य पूर्वाधार पनि ‘प्याकेज’मा विकास हुनुपर्ने आवश्यकता छ। सुनकोशी तेस्रो प्रस्तावित हुनुलाई सकारात्मक रुपमा लिनुपर्छ,’ तत्कालीन संविधान सभा (पहिलो)का सभासद् एवं विकेन्द्रीकरणविज्ञ कृष्णप्रसाद सापकोटाले भने, ‘तर, हामीले प्याकेजकै रुपमा विकास गर्न सकिने ईन्द्रावती जलाशययुक्त बहुद्देश्यीय आयोजनालाई लगानी सम्मेलनमा सबैले बिर्सेका छन्। दोलालघाटदेखि सिपाघाटसम्मका काभ्रे र सिन्धुपाल्चोक दुवै जिल्लाका नागरिक यसका बहु–क्रियाकलापबाट लाभान्वित हुने उपयुक्त परियोजनालाई पनि सम्मेलनमा सम्झनु पर्ने थियो,’ उनले गुनासो गरे।

ईन्द्रावती जलाशययुक्त परियोजनाबाट विद्युत्का साथै माछापालन, गिट्टीबालुवा, बोटिङको सम्भवना रहेको उनको भनाइ छ। ‘पर्यटकीय गन्तव्य नगरकोटबाट मण्डनदेउपुर हुँदै सिपाघाट पुग्न सकिने अवस्था छ। अर्को पर्यटकीय गन्तव्य धुलिखेल हुँदै ईन्द्रावतीको वारिपट्टि हेलम्बु राजमार्ग र पारिपट्टि सिन्धुपाल्चोकमा पुष्पलाल मध्यपहाडी लोकमार्ग जाँदै गरेको अवस्थामा काठमाडौं उपत्यका र आसपासबाट पर्यटकलाई आकर्षित गर्न सकिने प्रचूर सम्भावना थियो। तर, यी सबै कुरालाई बिर्सन थालियो,’ सापकोटाले थपे।

सरकारले लगानी सम्मलेनको ‘सो–केस’मा राखेको सुनकोशी तेस्रोलाई जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका)ले सन् १९८५ मै सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) गरेको थियो। उसले अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त आयोजनामध्ये सुनकोशी तेस्रोलाई पनि एउटा मानिन्छ। काभ्रेको तेमाल, पचुवारघाटमा पर्ने परियोजनालाई प्रसारण लाइनको खर्चबाहेक त्यतिखेरै ५८ करोड २० लाख अमेरिकी डलर लागत रकमको अनुमान गरिएको थियो। हाल परियोजना स्थलसम्म पहुँचमार्गसमेत बनिसकेको अवस्था र प्रसारण लाइनका लागि काठमाडौं ५० किलोमिटर र ढल्केबर ६० किलोमिटर दूरीमा रहेकाले लगानीकर्ताको ध्यान आकर्षित हुने अनुमान गरिएको छ।

तर, रिपोर्टले सुनकोशी तेस्रो परियोजनामा एक सय ४० मिटर अग्लो बाँध बनाइने उल्लेख गरेको छ। यसबाट धेरै बस्ती डुबानमा पर्नुका साथै सप्तकोशीमध्येको एक सुनकोशी नदीमा बाँधलगायत जलविद्युत् पूर्वाधार निर्माणका क्रममा छिमेकी भारतको भूमिकाले प्रभावित पार्न सक्ने भएकाले लगानीकर्तालाई सरकारले पूर्ण आश्वस्त बनाउन सक्नुपर्ने एक जलस्रोत विज्ञको सुझाव छ।

केयु स्कुल अफ मेडिकल साइन्सेज क्षेत्र, पनौती–५, चौकोट। यसको अगुवाइमा धुलिखेल मेडिसिटीको परियोजना बनाइएको हो। यसमा सात करोड ४० लाख अमेरिकी डलर लगानीको प्रक्षेपण गरिएको हो।

सम्मेलनकै ‘सो–केस’मा दोस्रो ठूलो परियोजनाका रुपमा स्वास्थ्य क्षेत्रबाट धुलिखेल मेडिसिटीलाई अघि सारिएको छ। काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको टिचिङ अस्पताल, ट्रमा सेन्टर, नसर्ने रोगहरुको विशिष्ट अनुसन्धान केन्द्र, योग, आयुर्वेद र मेडिटेसनका पूर्वाधारमा सार्वजनिक–निजी साझेदारी (पिपिपि) मोडेलमा लगानी आह्वान गरिएको हो। यसका लागि सात करोड ४० लाख अमेरिकी डलरको लागत अनुमान गरिएको छ। यस्तै, धुलिखेल नगरपालिकाका तत्कालीन मेयर बेलप्रसाद श्रेष्ठले अघि सारेका ‘धुलिखेल ड्रिमल्यान्ड’ परियोजनालाई पनि तेस्रो परियोजनाका रुपमा पर्यटन क्षेत्रबाट ‘सो–केस’मा राखिएको छ। पिपिपी मोडलमा लगानीका लागि आह्वान गरिएको यस परियोजनका लागि चार करोड ३० लाख अमेरिकी डलर लागत अनुमान गरिएको छ।

यसअन्तर्गत कृत्रिम ताल, सौन्दर्ययुक्त केबलकार, अम्युजमेन्ट पार्क, सांस्कृतिक, जातीय र परम्परागत कलाकौशलयुक्त भवनलगायत संरचना रहेका छन्। नेपाल पर्यटन बोर्डको सहयोगमा नगरपालिकाले सन् २००५ मै यसको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)समेत गराइसकेको छ। बनेपा, धुलिखेल, पनौती, पाँचखाल र नमोबुद्ध नगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि एकीकृत फोहोरमैला व्यवस्थापन–धुलिखेल प्याकेज परियोजनालाई काभ्रेको चौथो परियोजनाका रुपमा ‘सो–केस’मा राखिएको छ। ४३ लाख अमेरिकी डलर लागतको यस परियोजनाले पाँचवटै नगरका दुई लाख ३१ हजार नगरवासीले दैनिक निष्काशन गर्ने ७३ मेट्रिक टन फोहोरमैलाको व्यवस्थापन गर्ने लक्ष राखिएको छ। यसबाट मिथेन ग्यास उत्पादन तथा बोटलिङ गरेर बेच्ने र अर्गानिक मल बेच्ने उद्देश्य राखिएको छ।

यस्तै, बनेपा र चितवनका लागि एकीकृत कृषि पूर्वाधार संयुक्त परियोजना कृषि क्षेत्रबाट ‘सो–केस’मा रहेको छ। बनेपा चार हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोरेज स्थापना एवं चितवनको रामनगरमा १० हजार मेट्रिक टन क्षमताको भण्डारण गोदाम (वेयर हाउस) रहने उल्लेख छ। बनेपाको कोल्ड स्टोरमा स्थानीय र छिमेकी जिल्लामा उत्पादित सुन्तला तथा सुन्तलाजात फलफूल एवं आयातित स्याउ भण्डार गरिने उद्देश्य रहेको छ। यस्तै रामनगरको वेयरहाउसमा मकै तथा धान भण्डारणका लागि ‘साइलो’ राखिने उल्लेख छ। यो प्याकेजका लागि ४४ लाख ३० हजार अमेरिकी डलर लागत प्रस्तावित गरिएको छ। यी सबै परियोजनामा लगानीकर्ताले इच्छा देखाएको अवस्थामा काभ्रे जिल्लाको इतिहासमै हालसम्मकै ठूलो धनराशी ७० करोड ७७ लाख ३० हजार अमेरिकी डलरको परियोजना भित्रन सक्ने सम्भावना रहेकोमा जिल्लावासीमा खुसी छाएको हो।

प्रकाशित: ८ चैत्र २०७५ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App