१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

निगमले माग्यो नारितामा उडान अनुमति

काठमाडौं – नेपाल वायुसेवा निगमले गन्तव्य विस्तारको लागि जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न अनुमति मागेको छ। यसअघि जापानकै ओसाका विमानस्थल उडान अनुमति मागेको थियो। तर, उक्त विमानस्थलका अनुमति पाउने वा नपाउने अझै टुंगो नलागेको निगमले जनायो।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार अनुमतिको लागि मंगलबार नारिता अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा आवेदन गरिएको छ। निगम स्रोतका अनुसार ओसाकामा माग गरिएको अनुमति नपाएपछि निगमले नारिता उडानको लागि अनुमति मागेको हो।

खरेल भने ओसाका विमानस्थलको अनुमति प्रक्रियामै रहेको दाबी गर्छन्। ‘ओसाका विमानस्थलको अनुमतिबारे अहिलेसम्म टुंगो लागेको छैन,’ उनले भने, ‘अनुमति पाए ओसाका र नारिता दुवै ठाउँमा उडान गर्न नारितामा पनि अनुमतिको लागि आवेदन दिएका हौं।’ उनका अनुसार जता चाँडो हुन्छ, त्यतै पहिला उडान गरिनेछ। यद्यपि, कार्यकारी अध्यक्ष खरेलले फेब्रुअरी पहिलो साता नै जापानको ओसाकामा उडान गर्ने दाबी गर्दै आएका थिए। तर मध्यमार्च हुँदा समेत उडानको टुंगो लागेको छैन। उडानको टुंगो कहिलेसम्म लाग्छ अनुमान समेत खरेल लगाउन सक्दैनन्।  

कार्यकारी अध्यक्ष खरेलका अनुसार ओसाकामा ग्राउन्ड ह्यान्डलिङ उपलब्ध नहुँदा समस्या भइरहेको छ। ग्राउन्ड ह्यान्डिलङ उपलब्ध गराउने कम्पनीले जुनपछि मात्रै उपलब्ध गराउने जनाइरहेको उनले बताए।

ओसाकामा प्रक्रिया ढिला भएपछि नारितामा चाँडै पाउने अपेक्षा निगमको छ। निगमका अनुसार नारितामा आवेदन दिँदा पनि कतिपय ओसाकाकै कागजपत्र काम लाग्ने भएपछि आवेदन दिन सहज भएको छ। तर, त्यहाँ पनि अनुमति पाउने वा नपाउने टुंगो छैन्। अनुमति पाएपछि करिब एक महिना निगमलाई आन्तरिक तयारी गर्न लाग्छ। त्यसैपछि निगमले जापान उडान थाल्छ।

निगमले यसअघि सन् १९९४ देखि सन् २००७ सम्म बोइङ ७५७ सिरिजको न्यारो बडी विमानमार्फत जापान उडान गर्दै आएको थियो। जहाज अभाव भएको भन्दै उडान स्थागित गरेको निगमले दुइटा एयरबस ‘ए३३०–२००’ वाइड बडी विमान खरिद गरेसँगै जापानमा फेरि उडान गर्न अनुमति माग गरेको थियो।

हाल निगमसँग अन्तर्राष्ट्रिय उडान गर्ने दुई सय ७४ सिटे दुईथान ‘ए३३०–२००’ वाइड बडी, एक सय ५८ सिटे दुईथान ‘ए३२०–२००’ न्यारो बडी सञ्चालनमा छन्। दुईवटा वाइड बडी भने गत असार र साउनमा ल्याइएको हो। हाल यी जहाजहरु दुबई, दोहा, हङकङ, बैंकक, मलेसिया, नयाँदिल्ली लगायत छोटो दुरीका गन्तव्यमा उडिरहेका छन्। 

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App