१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

धुलिखेलका होटल रिसोर्टलाई खाद्य स्वच्छता लोगो र स्टिकर

खाद्य स्वच्छता स्तरीकरण लोगोयुक्त स्टिकर टाँँस्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव रघुराम विष्ट। तस्बिरः नागरिक

बनेपा – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धुलिखेलका होटल तथा रिसोर्टलाई ‘स्वच्छता स्तरीकरण लोगो र स्टिकर’ प्रदान गरेको छ। विभागले खाद्य स्वच्छताका आधारमा पहिलोपटक स्तरीकरण लोगो र स्टिकर प्रदान गरेको हो।

जिल्लामा विभागको डिभिजन कार्यालय स्थापना भएलगत्तै क्षेत्रीय होटल संघ र धुलिखेल उद्योग वाणिज्य संघको सहकार्यमा होटल तथा रिसोर्टको खाद्य स्वच्छता स्तरीकरण कार्य थालिएको विभागले जानकारी दिएको छ। 

‘विभागले जारी गरेको खाद्य स्वच्छताका आधारमा होटल रेस्टुरेन्ट स्तरीकरण गर्ने निर्देशिका–२०७४ मा उल्लेखित ५० वटा सूचकका आधारमा होटल तथा रिसोर्टहरुको अनुगमन गरेका थियौं,’ डिभिजन प्रमुख एवं खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले भने, ‘अनुगमनपछिको स्तरीकरण मूल्यांकनका आधारमा उनीहरुलाई चार किसिमले वर्गीकरण गरेका छौं।’ 

विभागले पहिलो चरणमा मूल्यांकनमा समावेश गरेका १८ वटा होटल तथा रिसोर्टको प्राप्तांकका आधारमा अति उत्तम, उत्तम, सन्तोषजनक श्रेणीका लोगोसहितको हरियो र सामान्यस्तरका लागि पहेँलो स्टिकर प्रदान गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव रघुराम विष्टले होटल रिसोर्टमै पुगेर स्टिकर टाँस्नुका साथै स्तरीकरण प्रमाणपत्र प्रदान गरेका थिए। मूल्यांकनमा एउटा होटलले अति उत्तम (तीन तारा), तीनवटाले उत्तम (दुई तारा), सातवटाले उत्तम (एक तारा), ६ वटाले सन्तोषजनक र एउटाले सामान्य स्टिकर पाएका थिए।

विभागले पहिलो चरणमा मूल्यांकनमा समावेश गरेका १८ वटा होटल तथा रिसोर्टको प्राप्तांकका आधारमा अति उत्तम, उत्तम, सन्तोषजनक श्रेणीका लोगोसहितको हरियो र सामान्यस्तरका लागि पहेँलो स्टिकर प्रदान गरेको छ।

अति उत्तम स्तरीकरणमा परेको द्वारिकाज सांग्रिला भिलेज रिसोर्टले तीन तारा स्टिकर पाए। उत्तम श्रेणीमा पर्न सफल धुलिखेल लज रिसोर्ट, होटल माउण्ट प्रिन्सेस र होटल अरनिकोले दुई तारा लोगो पाए। त्यस्तै, हिमालय होराइजन, धुलिखेल भिलेज रिसोर्ट, गाया होलिडे होम, धुलिखेल बुटिक होटल, सोजर्न हिमालय रिसोर्ट, मिराबेल होटल रिसोर्ट र धुलिखेल एडभेन्चर रिसोर्टले स्तरीकरण मूल्यांकनमा एक तारा पाएका छन्।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले डिभिजनले मूल्यांकन गरेका होटलहरुमध्ये द्वारिकाज रिसोर्टको रेस्टुरेन्ट र किचेनको छड्के निरीक्षणसमेत गरेका थिए। ‘धुलिखेलका होटल रिसोर्टहरुले पहिल्यैदेखि खाद्य स्वच्छतामा ध्यान दिँदै आएका भएपनि विभागले स्तरीकरण गरेको थिएन,’ अनुमगनपछि महानिर्देशक कर्णले भने, ‘अब हामीले प्रदान गरेको स्तरीकरण लोगो र प्रमाणपत्र हेरेर पनि उपभोक्ताले ढुक्क भएर खानेकुरा खान सक्नुहुने अवस्था बनाएका छौं।’

हालको स्तरीकरणमा औंल्याइएका कमी कमजोरीलाई सुधार गरेका होटल रिसोर्टहरुले पुनः मूल्यांकनका लागि आवेदन दिन सक्ने उनले जानकारी दिए। ‘पहिलोपटक स्तरीकरण भएको हुँदा निर्देशिकामा रहेको ५० वटै सूचकका बारेमा सबैले राम्ररी थाहा नपाएको पनि पाइयो। निर्देशिकाले सबै सूचक पूरा गर्न सकेँ कि सकिनँ भनेर आफैंले पनि ‘सेल्फ अडिट’ गर्न सक्ने व्यवस्था गरेको छ,’ कर्णले भने। डिभिजनले यसअघि नमूनाको रुपमा धुलिखेलका सामान्य होटल, रेस्टुरेन्ट तथा सरकारी कार्यालयका क्यान्टिनलाई खाद्य स्वच्छताबारे दुई दिने तालिम प्रदान गररेको थियो। तालिमप्राप्त गरेका व्यवसायीको सामान्य होटल, रेस्टुरेन्ट र क्यान्टिनको समेत स्तरीकरण मूल्यांकन गरेर लोगो वितरण गरिने उनले बताए।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जूले आफ्नो नगरभित्र सञ्चालित होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्यान्टिनमा खाद्य स्वच्छताका प्रत्याभूति गराउनका लागि सक्दो सहयोग गर्ने बताए। ‘खाद्य स्वच्छता निर्देशिकाले व्यवस्था गरेको स्थानीय खाद्य स्वच्छता समूहको गठन र त्यसको परिचालनका लागि नगरपालिकाले सहयोग गर्नेछ,’ उनले भने, ‘नगरलाई पर्यटनमैत्री सहरका रुपमा विकास गरिरहेका छौं। यहाँ आएका स्वदेशी÷विदेशी पर्यटकले स्वच्छ खानेकुरा खान पायौं भन्दा हाम्रो सकारात्मक प्रचारप्रसार हुन्छ।’

धुलिखेलको पहिलो नगरसभाले नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यको पहिचान बनाएको नगर बनाउने उद्घोषसहित पर्यटन गुरुयोजना र लगानीमैत्री वातावरण सिर्जना गर्ने निर्णय गरेको उनले स्मरण गराए। साथै, धुलिखेलमा पछिल्लो समय होटल, रिसोर्ट र रेस्टुरेन्टमा लगानीकर्ता आकर्षित भइरहेको नगरप्रमुख ब्यान्जूको भनाइ छ। 

‘पर्यटन वर्ष सन् २०२० लाई लक्षित गर्दै धुलिखेल–११(साविक पात्लेखेत गाविस) मा ओमस्टोन एसिया क्यापिटल नेपाल प्रालिले दुसित थानी हिमालयन रिसोर्ट एण्ड स्पाको निर्माण गरिरहेको छ,’ उनले भने, ‘थाइल्याण्डको हस्पिटालिटी कम्पनी ‘दुसित थानी पब्लिक लिमिटेड’को व्यवस्थापनमा निर्माणाधीन रिसोर्टले त्यहाँबाट निस्कने पानीजन्य फोहोर व्यवस्थापनका लागि सिवेज ट्रिटमेन्ट प्लान्ट(एसटिपी) जडान गर्न लागेको छ।’ खाद्य स्वच्छताकै सूचकको रुपमा रहेको फोहोरपानी व्यवस्थापन कार्यका लागि नगरपालिकाले करमा थप छुट दिएको उनले बताए।

प्रकाशित: २९ फाल्गुन २०७५ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App