८ वैशाख २०८१ शनिबार
अर्थ

मैलुङ–स्याफ्रुबेंसी सडकमा ब्लास्टिङ सुरु

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेंसी सडक खण्डमा मंगलबारदेखि ब्लास्टिङको काम सुरु भएको छ। ब्लास्टिङ गर्नका लागि अनुमति नपाउँदा सडक खुल्न सकेको थिएन। १७ किलोमिटर सडकमध्ये दुई सय मिटर सडकको काम मात्रै बाँकी छ। अनुमति पाउनका लागि करिब एक महिना लागेको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। 

ब्लास्टिङको काम सुरु भएको र हप्ता १० दिनभित्र बाटो सञ्चालनमा आउने योजना प्रमुख सुवोधकुमार देवकोटाले बताए। ‘सडक स्तरोन्नतिको काम भइरहेको छ,’ उनले भने, ‘ब्लास्टिङको काम सकिएपछि सवारी सञ्चालनका लागि अनुमति दिन्छौं।’ माथिल्लो त्रिशुली एक जलविद्युत् आयोजनाबाट सामग्री दिँदादिँदै पनि प्रयोग गर्न अनुमति पाएको थिएन। ‘ब्लास्टिङको काम सकिएपछि टेन्डर प्रक्रिया सुरु गरिने छ,’ उनले भने। मैलुङ–स्याफ्रुबेंसी सडकमा नियमित रूपमा सवारी सञ्चालन गर्दा काममा अवरोध आउने भएकाले यसको विकल्प सोच्नुपर्ने योजनाले जनाएको छ। 

डेढ वर्षभित्र गल्छी–मैलुङ खण्ड, दुई वर्षभित्र मैलुङ–स्याफ्रुबेंसी खण्ड र तीन वर्षभित्र स्याफ्रुबेंसी सडक पूर्ण रूपमा स्तरोन्नति भइसक्ने योजनाले जनाएको छ। सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गर्नु परेकाले स्तरोन्नतिमा ढिलाइ भएको थियो।  गत पुस अन्तिम साताबाट स्तरोन्नतिको काम सुरु भएको हो। २०७२ वैशाख १ गतेदेखि निर्माण कार्य सुरु भएको सडकको गत जेठ ६ गते ट्र्याक खोल्ने कार्य सम्पन्न भएको थियो। ट्र्याक खोलेपछि केही दिन सवारी सञ्चालनका लागि अनुमति दिइएको थियो। यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो। 

राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना (२०७५/७६–०७७/७८) मा उल्लेख भएअनुसार आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजना २०७५/७६ भित्र निर्माण तथा स्तरोन्नति हुने उल्लेख छ।  यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ। 

पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन। काठमाडौंदेखि गल्छी ४४ किमि, गल्छीदेखि बट्टार २२ किमि, बट्टारदेखि बेत्रावती ११ किमि, बेत्रावतीदेखि मैलुङ १२ किमि र मैलुङदेखि स्याफ्रु १६ किमि दूरी रहेको छ।  बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट जाँदा कुनै पनि घुम्ती पार गर्नु पर्दैन।  मैलुङ–स्याफ्रुबेंसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ देखि पासाङ ल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App