१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

झापाको घैलाडुब्बा सबस्टेसन सञ्चालनमा

काठमाडौं – झापाको सुरुंगा, घैलाडुब्बा, कुमारथोक, राजगढ लगायत स्थानमा विद्युत् आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको घैलाडुब्बा सबस्टेसन सञ्चालनमा आएको छ। सरकार, नेपाल विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलित ऋणमा निर्माण भएको ३३÷११ केभी घैलाडुब्बा सबस्टेसन शनिबारबाट सञ्चालन (चार्ज)मा आएको हो। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएपछि लामो दुरी र ओभरलोडिङका कारणले पटकपटक लाइन ट्रिप हुने र लाइन हुँदा पनि कम भोल्टेजका कारण त्यस क्षेत्रमा बत्ती, पंखा, मोटरलगायतका विद्युतीय उपकरण नचल्ने समस्या समाधान हुने बताए। ‘अब त्यस क्षेत्रको भोल्टेज सुधार हुन्छ, प्रणालीको चुहावट घट्छ र विद्युत् आपूर्तिको विश्वनसीयता बढ्छ,’ घिसिङले भने।  

प्राधिकरणले अब अनारमनी सबस्टेसनबाट ३३ केभी वितरण लाइनमार्फत घैलाडुब्बा सबस्टेसनमा बिजुली ल्याउने छ। घैलाडुब्बा सबस्टेसनबाट ११ केभीको एउटा वितरण लाइनमार्फत घैलाडुब्बा र ११ केभीको अर्को लाइनमार्फत सुरुंगातर्फका क्षेत्रमा विद्युत् आपूर्ति गरिने इन्जिनियर सैलेश सापकोटाले जानकारी दिए। अहिले अनारमनीबाट ११ केभी वितरण लाइनमार्फत घैलाडुब्बा र सुरुंगातर्फका क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो। 

लामो दूरी र ओभरलोडिङको कारणले त्यस क्षेत्रमा पटकपटक लाइन ट्रिप हुने र लाइन भएको समयमा पनि भोल्टेज निकै कम हुने समस्याले उपभोक्ता हैरान थिए। घैलाडुब्बा सबस्टेसनबाट विद्युत् वितरण सुरु भएपछि उपभोक्ताले अविछिन्न रुपमा गुणस्तरीय बिजुली उपभोग गर्न पाउने प्राधिकरणले जनाएको छ।  

प्राधिकरणले विद्युत्को पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नयाँ सबस्टेसन निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ। 

मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसन निर्माण र स्तरोन्नति गरिसक्ने प्राधिकरणको योजना छ। 

चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र आठ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुनेछन्। प्राधिकरणले एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ।

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ। यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायत काम गरिरहेको छ।

प्रकाशित: १९ फाल्गुन २०७५ ०६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App