११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

१५ अर्ब लगानीमा सिमेन्ट उद्योग सञ्चालन हुँदै

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. २ ताल्तिमा सञ्चालन हुन लागेको सिमेन्ट उद्योगको शिलान्यास गर्दै प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा। तस्बिर : सरिता/नागरिक

धादिङ - चिनियाँ कम्पनीको लगानीमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तिमा सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ। चिनियाँ लगानीकर्ताहरुको ह्वासिन् सिमेन्ट नारायणी प्रालिले नेपालकै सबैभन्दा ठूलो लगानी र उत्पादन क्षमता भएको सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको हो।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला नेपालमा १५ अर्ब लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन दुई देशबीच ह्वासिन्सँग सहमति भएको थियो। सोही सहमति अनुसार ह्वासिन्ले धादिङको ताल्तीलाई आफ्नो उत्पादन स्थल रोजेको हो। उक्त सिमेन्ट उद्योगको प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले शिलान्यास गरेका हुन्। दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको सिमेन्ट उद्योग सन् २०२० को जनवरीसम्म निर्माण भइसक्ने कम्पनीले जानकारी दिएको छ। वैदेशिक लगानी भित्र्याई मुलुकमा समृद्धिको ढोकालाई फराकिलो बनाउन लागेको बेला चिनियाँ कम्पनी ह्वासिन्ले सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन लागेको हो।

उद्योगमा विश्वकै अत्याधुनिक प्रविधिबाट सिमेन्ट उत्पादन गरिने कम्पनीका प्रतिनिधि तुलसीजंग थापाले बताए। ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने सबैभन्दा ठूलो कम्पनी भएको हो,’ थापाले भने, ‘सिमेन्ट उद्योगमा चिनियाँ कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनीको २० प्रतिशत सेयर रहने छ।’ ह्वासिन नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने सबैभन्दा ठूलो कम्पनी हो। कम्पनीमा नेपाली लगानीकर्ताको प्रतिनिधित्व बैद्य गुप्रका तर्फबाट सुरज बैद्यले र चिनियाँ लगानीकर्ताको प्रतिनिधित्व ह्वासिन सेन्ट्रल एसिया इन्भेस्टमेन्ट (हुवान) कम्पनी लिमिटेडले गरिरहेको छ। नेपालमा चिनियाँ लगानीकर्ताको आकर्षण बढाउने उद्देश्यले नेपाल सरकार र चिनियाँ सरकारबीच भएको भएको द्विपक्षीय सम्झौताअनुसार नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी ह्वासिन सिमेन्ट र नारायणी प्रालिबीच सम्झौता भएको छ। उक्त कम्पनी स्थापना गर्नका लागि १५ अर्ब बराबरको वैदेशिक लगानी नेपाल सरकारको तर्फबाट लगानी बोर्डले स्वीकृत गरिसकेको छ।

उद्योगबाट पहिलो चरणमा तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ। सिमेन्ट उद्योगले आफूलाई चाहिने कच्चा पदार्थ स्थानीय कच्चा सामग्री प्रयोग गरेर आफै उत्पादन गर्ने कम्पनीका अर्का प्रतिनिधि डिल्ली पोखरेलले बताए। ‘पहिलो पटक नेपालमा टनेल खानी प्रविधिबाट सिमेन्ट उत्पादन हुने र सबैभन्दा बढी वातावरणमैत्री हुनेछ,’ पोखरेलले भने, ‘सिमेन्ट उद्योग सञ्चालनमा आउँदासम्म प्रत्यक्ष रुपमा तीन सय र अप्रत्यक्ष रुपमा एक हजार जनशक्तिले रोजगारी पाउनेछन्।’ उद्योग स्थापनाबाट नेपालका लागि बहुआयामिक सकारात्मक योगदान पुग्ने कम्पनीको अपेक्षा छ। उद्योग क्षेत्रका बासिन्दाका लागि पनि उद्योगले सडक, पानी, विद्युत्लगायत पूर्वाधार विकासमा समेत सहयोग गर्ने भएको छ। पृथ्वी राजमार्गको मलेखुदेखि उद्योग रहेको स्थानसम्म मलेखुखोलाको किनारैकिनार भएर सडक निर्माण हुँदै छ। चीनको हुवेई प्रान्तस्थित बुहास सहरमा केन्द्रीय कार्यालय रहेको ह्वासिन् सिमेन्ट कम्पनी लिमिटेडले हाल चीनका १० वटा प्रान्तमा आफ्ना उद्योग सञ्चालन गर्दै आइरहेको छ भने देशबाहिर ताजकिस्तान र कम्बोडियामा पनि सिमेन्ट उद्योग सञ्चालन गरिहेको छ।

प्रकाशित: १९ फाल्गुन २०७५ ०५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App