१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

थिएटर मल  सञ्चालनमा

काठमाडौं  – नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अवसर पारेर कीर्तिपुरमा पुनः थिएटर मल सञ्चालनमा ल्याइएको छ। मंगलबार राराहिल मेमोरियल स्कुलमा आयोजित कार्यक्रममा कीर्तिपुरका मेयर रमेश महर्जनले कीर्तिपुर रंगमञ्चको उद्घाटन गरे।

मेयर महर्जनले काठमाडौंबाहिर सञ्चालनमा आएको थिएटर मलले स्कुले विद्यार्थीहरूलाई रंगमञ्चमा लाग्न प्रोत्साहित गर्ने प्रतिक्रिया दिए। ‘यो थिएटर मलले यस क्षेत्रका स्कुले विद्यार्थीहरूलाई रंगमञ्च बुझ्न प्रोत्साहित गर्नेछ,’उनले भने। उद्घाटन लगत्तै गोविन्दबहादुर मल्ल ‘गोठाले’ ले २०३४ सालमा लेखेको एकांकी ‘भोको घर’ मञ्चन गरिएको थियो। निर्देशक केदार श्रेष्ठको परिकल्पना र निर्देशन रहेको नाटक मध्यमवर्गीय परिवारमा आर्थिक अभाव निम्त्याएपछिको समस्यामा केन्द्रित थियो।

आर्थिक संकटका कारण भोकले रन्थनिएका परिवारका सदस्यहरू बेसुरमा स्टेजमा देखिन्छन्। बुबा, आमा र छोराछोरीहरूको भोकको परिभाषा फरक छ। कसैको ध्यान खानमा मात्र केन्द्रित छ त कोही काल्पनिक कथामा रमाएका छन्। ‘भोको घर’ले आर्थिक रूपमा कमजोर बनेको परिवारको टुटेको सपनाको कुरा गर्दछ। नाटकमा शान्ति गिरी, सञ्चिता सञ्जी र केदार श्रेष्ठलगायतले अभिनय गरेका छन्। 

काठमाडौं मलमा करिव दुई वर्षअघि नयाँ व्यवस्थापकको प्रवेश भएपछि बन्द भएको ‘थियटर मल, हाउस अफ आर्ट एन्ड कल्चर’ले कीर्तिपुरमा नियमित नाटक मञ्चनसहित बालबालिकाहरूलाई केन्द्रित गरेर नाटकको कोर्स गराउँदैछ। 

राराहिल फाउन्डेसनसँग १० वर्षको निःशुल्क सम्झौता गरेर सञ्चालनमा आएको थिएटर मल करिब १२ लाखमा निर्माण भएको हो। यसअघि थिएटर मलले ६ नाटक उत्पादन गरिसकेको छ। नाटकघर र आर्ट ग्यालरीको लागि राराहिल मेमोरियलले हल उपलब्ध गराएको थियो। ‘निशुल्क १० वर्षको लागि राराहिल फाउन्डेसनले थिएटर मललाई भेन्यु उपलब्ध गराइदिएको छ। यसबापत थिएटर मलले स्कुलका विद्यार्थीहरूलाई नाटक सिकाउनेछ,’थिएटर मलका केदारले भने,‘ यो नाटकघरमा नियमित नाटकबाहेक अभिनय र नाट्य प्रशिक्षण र कला प्रदर्शनी आयोजना हुनेछ।’ सुस्केरा कला समूह र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालले मलको संयुक्त रूपमा निर्माण गरेको थिएटर मलले कीर्तिपुर क्षेत्रका स्थानीयहरूलाई केन्द्रित गरेर नाटकहरु तयार गरेर प्रदर्शन गर्ने जानकारी उनले गराए। 
महोत्सव अन्तर्गत काठमाडौंका चार थिएटरहरूमा नियमित नाटक मञ्चन भइरहेका छन्। कीर्तिपुरस्थित थिएटर मल, अनामनगरस्थित मण्डला थिएटर, बत्तिसपुतलीको शिल्पी थिएटर र टेकुको कौसी थिएटरमा नेपाल, भारत, बंगलादेश, नर्वे र इटाली लगायत ८ देशका ३० वटा नाटकहरु मञ्चन हुनेछन्।

 

प्रकाशित: १५ फाल्गुन २०७५ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App