१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिमेन्ट उद्योगमा १९ अर्बको लगानी प्रतिबद्धता

काठमाडौं –  चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार पाँच सय रुपैयाँ बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र एक हजार सात सय ५० जनालाई रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको हो।

उद्योग विभागमा दर्ता भएका आधारमा पछिल्लो समय निजी क्षेत्र सिमेन्ट उद्योग स्थापनाका लागि आकर्षित भएको र ठूलो मात्रामा लगानी गर्न तयार भएको देखिएको छ। खाना पकाउने ग्यासको व्यवसाय गर्दै आएका उद्योगी शिवप्रसाद घिमिरेसहित नयाँ उद्योगीले समेत सिमेन्ट उद्योगमा लगानी गर्ने इच्छा देखाएका हुन्। 

विभागको विवरणअनुसार पछिल्लो समय झापाको तोपगाछीमा ए प्लस सिमेन्ट उद्योग स्थापना गर्ने भन्दै उद्योगी गुणराज खत्रीले आवेदन दिएका छन्। कुल पुँजी ४० करोड ८० लाख बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ। सो उद्योगले ६ हजार मेट्रिक टन पिपिसी र ६ हजार मेट्रिक टन ओपिसी सिमेन्ट उत्पादन गर्ने र ६० जनालाई रोजगारी दिनेछ। 

यस्तै, स्याङ्जाको वालिङ–१ मा अथर्व सिमेन्ट उद्योग स्थापना गर्ने गरी उद्योगी पिताम्बर गैरेले विभागमा उद्योग दर्ता गराएका छन्। यो उद्योगमा एक अर्ब ५० करोड बराबरको लगानी हुनेछ। सो उद्योगले दुई सय ५० जनालाई रोजगारी दिनेछ। उद्योगले एक लाख ५० हजार मेट्रिक टन ओपिसी, एक लाख ५९ हजार मेट्रिक टन पिपिसी र ८८ हजार नौ सय ८० मेट्रिक टन क्लिंकर उत्पादन गर्ने जनाएको छ। 

कपिलवस्तुको शिवराज नगरपालिका–८ मा उद्योग स्थापना गर्ने गरी उद्योगी राहुलकुमार अग्रवालले सिनर्जी सिमेन्ट प्रालिले विभागमा उद्योग दर्ता गराएका छन्। सो उद्योगमा नौै अर्ब ७८ करोड लगानी हुनेछ। उद्योगले तीन सय ९९ जनालाई रोजगारी दिनेछ। विभागमा प्रस्तुत गरिएको विवरणअनुसार उद्योगले आठ लाख ३८ हजार दुई सय मेट्रिक टन ओपिसी र तीन लाख ३० हजार मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन गर्नेछ। 

यस्तै हाल सञ्चालनमा रहेको मारुती सिमेन्ट उद्योगले सिरहा गोलबजार–९ मा सोही उद्योगको नयाँ शाखा उद्योग स्थापना गर्ने भएको छ। सो उद्योगले दुई अर्ब ५७ करोड लगानी गर्नेछ। उद्योगले पाँच सय ८७ जनालाई रोजगारी दिने र ६ लाख ६० हजार मेट्रिक टन ओपिसी र १३ हजार दुई सय मेट्रिक टन क्लिंकर उत्पादन गर्नेछ। 

उद्योगी देवीप्रसाद मैनालीले काबेली सिमेन्ट इन्ड्रस्ट्रिज दर्ता गराएका छन्। झापा हल्दिबारीमा उद्योग स्थापना गर्ने तयारी गरिएको छ। ५० करोड लगानी गर्ने उद्योगले ७६ जनालाई रोजगारी दिने लक्ष्य राखेको छ। यसले एक लाख ५० हजार मेट्रिक टन ओपिसी र एक लाख मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन गर्नेछ। 

ग्यास व्यवसायी शिवप्रसाद घिमिरेले पनि गरुड सिमेन्ट उद्योग स्थापना गर्ने तयारी गरेका छन्। तीन सय ७८ जनालाई रोजगारी दिने लक्ष्यसहित सो उद्योगमा व्यवसायी घिमिरेले चार अर्ब ८९ करोड लगानी गर्ने तयारी गरेका छन्। उद्योगले ६ लाख २३ हजार सात सय मेट्रिक टन ओपिसी सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ। 

सरकारले लिएको नीतिका कारण नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ। सो उद्योगमा दुई खर्बको लगानी भएको र वार्षिक एक खर्ब ५० अर्बको कारोबार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यसै वर्षदेखि आत्मनिर्भर भएको हो। निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले अर्को वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने बताए। 

संसारमा सन् १८४५ देखि सिमेन्ट उत्पादन सुरु भए पनि नेपालमा सन् १९६० देखि मात्रै उत्पादन सुरु गरिएको थियो। नेपालमा हिमाल सिमेन्टले पहिलो उत्पादन सुरु गरेको थियो। निजी क्षेत्रबाट भने १६ वर्ष पहिलेदेखि मात्रै लगानी सुरु गरिएको हो। नेपालमा हाल ५६ सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन्। उदयपुर र हेटौंडा सिमेन्ट उद्योग सरकारी स्वामित्वको हो। 

नेपालमा गत वर्ष ९० लाख टन सिमेन्ट उत्पादन र झण्डै त्यत्ति नै खपत भएको छ। नेपालका उद्योगको क्षमता भने एक करोड ३० लाख टन छ। विश्वमा सिमेन्टको कुल उत्पादन वार्षिक चार अर्ब २० करोड टन रहेकामा सबैभन्दा बढी चीनले उत्पादन गर्छ। कुल उत्पादनको ५५ प्रतिशत चीनले उत्पादन गर्ने गरेको छ। खानी तथा भूगर्भ विभागका अनुसार एक सय ६८ उद्योगलाई उत्खनन अनुमति दिइएको छ भने ४० वटालाई उत्खनन अनुमति प्रक्रिया चलिरहेको छ।

प्रकाशित: १३ फाल्गुन २०७५ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App