पोखरा - बैंकहरुले एकतर्फी रुपमा ब्याजदर बढाएको भन्दै पोखराका व्यवसायीले बढाइएको ब्याज माघ मसान्तभित्र घटाउन भनेका छन्। उक्त अवधिभित्र ब्याजदर नघटाए चरणबद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी छ।
पोखरा उद्योग वाणिज्य संघले ‘चर्को ब्याजदर’विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो। संघका अध्यक्ष दामु अधिकारीले भने, ‘हामीले माघ महिनाभित्र अहिलेको ब्याजदर घटाउन समय तोकिदिएका छौं। त्यो अवधिमा पनि नघटेमा चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउँछौ,’ अधिकारीले भने, ‘अहिले त हदै भएको छ। यो ब्याजदरले हामी सबैलाई चुर्लुम्म डुबाएको छ।’
संघले हालै एक विज्ञप्ति जारी गर्दै ब्याजदर घटाउन बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरेको थियो। माघ मसान्तसम्म ब्याजदर समायोजन नभए निजी क्षेत्रका सबैजसो संघ–संंस्थासँग सहकार्य गर्दै आन्दोलन घोषणा गर्ने संघको निर्णय छ। ‘ऋणको ब्याजदर बढ्दा निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत बढेको मात्र नभई नयाँ लगानी पनि निरुत्साहित हुन पुगेको छ,’ अध्यक्ष अधिकारीले भने, ‘ब्याजदर वृद्धिले नागरिकको दैनिक जीवनमा व्ययभार थपिएको छ।’ ऋण लिँदा कम दरमा लिए पनि पछि एकाएक ब्याजदर बढेको भन्दै उनले आपत्ति जनाए।
पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा पोखरास्थित वस्तुगत संघ तथा व्यवसायीको हालै बसेको बृहत् भेलाले पनि बंैक तथा वित्तीय संस्थाले एकतर्फी रुपले ब्याजदर बढाएको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेको थियो। सरकार, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकले यसमा ध्यान दिनुपर्ने बैठकका सहभागीले बताएका थिए।
निजी क्षेत्रले उठाएका यी मागबारे माघ मसान्तसम्म सम्बोधन नभए नेपाल उद्योग वाणिज्य महासंघ तथा अन्य जिल्ला तथा नगर उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै चरणवद्ध आन्दोलनमा जाने समेत भेलाले निर्णय गरेको थियो। ‘हामीले दुई वर्षअघि पनि ब्याजदर घटाउन बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरेका थियौं। तरसुनुवाइ भएन,’ अधिकारीले भने, ‘बल्ल अहिले सबैतिरबाट आवाज उठेको छ।’ दुई वर्षअघि पोखरा उद्योग वाणिज्य संघले बढेको ब्याज नतिर्ने घोषणा गरेको थियो। त्यसमा सबै व्यवसायीले साथ नदिँदा सफल हुन नसकेको अधिकारीले बताए। ‘अहिले भने सबैतिरबाट दबाब परेकोले केही हुन सक्छ,’ उनले भने।
अधिकारीका अनुसार अहिले पोखरामा मात्र नभई देशव्यापी रुपमा बैंकको ब्याजदर घटाउन दबाब छ। अन्य जिल्ला र क्षेत्रका उद्योग वाणिज्य संघले समेत ब्याजदर घटाउन दबाब दिइरहेका छन्। व्यवसायीले आन्दोलनको स्वरुप भने घोषणा गरेका छैनन्। ‘चरणवबद्ध रुपमा आन्लोलनमा जाने हो। बैंकर्स एसोसिएसन, राष्ट्र बैंक र अर्थ मन्त्रालय लगायत निकायसँग यसबारेमा छलफल चलिरहेकोले अहिले नै आन्दोलन के गर्ने भन्ने निर्णय नभएको हो,’ उनले भने। व्यवसायीका अनुसार अहिले ऋणको ब्याजदर झन्डै दोब्बरमा पुगेका छ। ‘सिंगल डिजिट’मा ब्याजदर झर्नुपर्ने व्यवसायीको माग छ। ७–८ प्रतिशत ब्याजदरमा दिएको ऋण अहिले बढेर झन्डै १४–१५ प्रतिशतसम्म पुगेको व्यवसायीको भनाइ छ। ‘बेलाबेला ब्याजदर घट्ने भनेर बैंक र बैंकर्सले नै हल्ला फैलाए। त्यही आसमा बसेका व्यवसायी अब ब्याजदर नघट्ने पक्का जस्तै भएपछि बल्ल आन्दोलनका लागि तयार भएका हुन्,’ उनले भने, ‘बेलाबेलाको आश्वासनले पनि व्यवसायीलाई झस्काएको हो।’
ब्याजदरमा भएको अत्यधिक वृद्धिले उद्योग÷व्यवसायमा लागत बढेर प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आई उद्योग व्यवसायबाट हातै धुनुपर्ने स्थिति आएको उनले बताए। व्यापार÷व्यवसाय गर्दा पाँचदेखि सात प्रतिशत मुनाफा कमाउन मुस्किल हुने तर त्यही पुँजी बैंक, वित्तीय संस्थामा राख्दा १२ प्रतिशतसम्म ब्याज पाइने अवस्था आउन नहुने व्यवसायी बताउँछन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्ष सन्तोष पोखरेलले ब्याजदर बढ्दा व्यावसाय चौपट भएको बताए। एकतर्फी रुपले बढाइएको ब्याजदर नघटाउने हो भने व्यवसाय बन्द गर्नुको विकल्प नभएको पोखरेलले बताए। ‘अहिलेको अवस्था आउँथ्यो भने हामीले लगानी नै गर्ने थिएनौं। यो दरमा ब्याज बढ्ला भन्ने नै लागेको थिएन,’ उनले भने, ‘तर व्यवसायीको सहमतिबिना बैंक तथा वित्तीय संस्थाले एकतर्फी रुपमा ब्याज बढाएका छन्।’
पछिल्लो समय पर्यटन क्षेत्र ओरालो लागेको बेला ब्याजदर बढाउँदा किस्ता तिर्न समेत हम्मे भएको उनले बताए। ‘बाहिरबाट हेर्दा पर्यटन क्षेत्रमा निकै नै रमझम देखिन्छ। तर, भित्री अवस्था भनिसाध्य छैन,’ उनले भने, ‘यस्तै अवस्था आउने हो भने अब व्यवसायी व्यावसायबाट बिस्थापित हुनेछन्।’
प्रकाशित: २७ माघ २०७५ ०६:२२ आइतबार