काठमाडौं– देशमा बढ्दो बेरोजगारका कारण विदेशिएका नेपालीले पठाउने विप्रेषणकालागि वार्षिक १८ अर्ब खर्च गर्दै आएका छन्। वैदेशिक रोजगारमा रहेका मध्य एक तीहाई अदक्ष कामदारले कमाउने थोरै पैसाका कारण विप्रेषण पठाउने लागत बढेको हो।
नेपालमा अहिले बैंक तथा नीजि रेमिट कम्पनीले विप्रेषण भित्र्याउँदै आएका छन्। साउदी अरेवियाबाट ४८ प्रतिशत, युनाइटेड अरव इमरेट्सबाट ६३ प्रतिशत, मलेसियाबाट २८ प्रतिशत तथा कतारबाट ३३ प्रतिशत विप्रेषण बैंकिंङ्ग प्रणालीबाट नेपाल आउने गरेको छ। नेपाल आउने विप्रेषण मध्ये ४० प्रतिशतमात्रै बैंकिङ् च्यानलबाट आउने गरेको छ।
श्रम रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनका अनुसार एक पटकमा दुई सय अमेरिकन डलर नेपाल पठाउँदा चार दशमलव पाँच प्रतिशत लागत लाग्ने गरेको छ। दिगो विकास लक्ष्य २०३० ले यस्तो लागतलाई तीन प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ। एक पटकमा अधिकांश नेपाली कामदारले दुई सय डलरको हाराहारीमा मात्रै नेपालमा विप्रेषण पठाउने गरेका छन्।
प्रतिवेदन भन्छ, ‘विप्रेषण सम्वन्धी लागतको तुलनात्मक विश्लेषण गर्दा नेपालमा विप्रेषण पठाउने लागत अन्य कतिपय मुलुकको तुलनामा कम भन्न मिल्ने देखिदैन। नेपाली श्रमिकका प्रमुख गन्तव्य मुलुकहरुबाट नेपालमा एक पटकमा २ सय अमेरिकी डलर पठाउँदा औषत ४.५ प्रतिशत र पाँच सय अमेरिकी डलर पठाउँदा ३ प्रतिशत लागत लाग्ने गरेको छ। तर अधिकांश नेपाली श्रमिकहरु अदक्ष वा अर्धदक्ष रहेको सन्र्दभमा उनीहरुले एक पटकमा घर पठाउन सक्ने रकम सामान्यतया २ सय अमेरिकी डलर हुन्छ र यसको औषत खर्च ४.५ प्रतिशत हुने गर्दछ।
प्रतिवेदन भन्छ, ‘विप्रेषणको लागत न्यूनीकरण गर्ने विभिन्न उपायहरु मध्ये सरकाद्वारा लागत शोधभर्ना गर्ने प्रणाली प्रमुख उपाय हो। यो व्यवस्था पाकिस्तानमा अवलम्बन गरिएको छ। नेपालको सन्र्दभमा प्रमुख श्रम गन्तव्य मुलुकहरुबाट विप्रेषण पठाउँदा लाग्ने खर्च र ती मुलुकहरुबाट प्राप्त कुल विप्रेषणका आधारमा अध्ययन गर्दा वार्षिक १८ अर्ब ६० करोड सम्मको व्ययभार सरकारलाई थपिन्छ।’
प्रकाशित: २५ माघ २०७५ १०:५३ शुक्रबार