रसुवा – रसुवागढी भन्सार कार्यालयले साढे तीन वर्षमा १५ अर्ब १७ करोड राजस्व संकलन गरेको छ। ४३ महिनाअघि भूकम्प गएपछि रसुवागढी नाकामा नियमित कारोबार सुरु भएको थियोे।
कारोबार सुरु भएयता कार्यालयले १५ अर्ब १७ करोड २४ लाख ४६ हजार सात सय ४४ रुपैयाँ राजस्व उठाएको हो। चीनसँग जोडिएको नाकामध्ये रसुवागढी मात्रै सञ्चालनमा रहेकाले राजस्व संकलन बढ्दै गएको प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले बताए।
आर्थिक वर्ष ०७२/७३ मा दुई अर्ब चार करोड ४६ लाख ८७ हजार सात सय ४४, आव ०७३'७४ मा दुई अर्ब ९२ करोड १८ लाख दुई हजार, आव ०७४/७५ मा चार अर्ब ५९ करोड २३ लाख १९ हजार र चालु आवको ६ महिनामा पाँच अर्ब ६१ करोड ३६ लाख ३८ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
सरकारले नीति परिवर्तन गरेको, सामग्री आयात बढेको, सामग्रीको मूल्यांकनको पार्ट बढेको, विदेशी मुद्राको भाउ बढेको र विकास निर्माणका सामग्रीको आयात बढेका कारण राजस्व संकलन वृद्धि भएको प्रमुख भन्सार अधिकृत खड्काले बताए।
जिल्ला बाहिरको व्यापारी, चालक तथा सहचालक केरुङसम्म जान नपाउँदा कारोबारमा कठिनाइ हुने गरेको व्यापारी बुद्धराज बस्नेतले बताए। ‘बाहिरको चालक र सहचालकलाई १५ दिने स्थायी प्रवेश अनुमति दिने भनिएको थियो,’ उनले भने, ‘यो सुरु भएमा व्यापारमा सहज हुन्थ्यो।’
व्यापारमा सहजीकरण गर्न १५ दिने स्थायी प्रवेश अनुमति दिने निर्णय भएको भए पनि चिनियाँ पक्षले आधिकारिक पत्र नपठाएका कारण प्रक्रिया जारी रहेको अध्यागमन अधिकृत बिष्णु घर्तीले बताए। ‘अनुमति दिने सहमति भएको छ,’ उनले भने, ‘तर, कुन मेकानिजम अपनाएर अनुमति दिने भन्ने निर्णय उनीहरूले गर्नुपर्छ।’
साढे तीन वर्षअघिसम्म तातोपानी नाकामा कारोबार गर्दै आएका व्यापारी अहिले यता आएका छन्। खासाको तुलनामा केरुङमा पार्किङका लागि पर्याप्त स्थान भएका कारण सहज भएको व्यापारी बस्नेतले बताए। ‘व्यापारीले जताबाट फाइदा भयो त्यतैबाट कारोबार गर्ने हो,’ उनले भने, ‘यहाँ सडक राम्रो हुने हो भने कारोबार बढ्ने छ।’
चीन जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रुबेंसी सडक सञ्चालनमा आएपछि मालबाहक कन्टेनर सञ्चालनमा सहज हुने गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेंसी सडक आयोजनाले जनाएको छ। ‘सडकको स्तरोन्नति भइरहेको छ,’ योजना प्रमुख सुवोधकुमार देवकोटाले भने, ‘आउँदो फागुनबाट सवारी सञ्चालन गर्न सकिने सम्भावना छ।’
प्रकाशित: १४ माघ २०७५ ०६:०१ सोमबार