१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

अभिनयसँगै गाईपालनमा व्यस्त ‘बोगटानी किङ’

फर्ममा गाई स्याहार्दै मोडेल बोगटानी किङ्ग। तस्बिरः नागरिक

कैलाली - धनगढी बसपार्कका बिनोद बोहरा ‘बोगटानी किङ’लाई प्रायःले मोडलका रुपमा चिन्छन्। तर, उनको भित्री व्यवसाय धेरैलाई थाहा छैन। सुदूरपश्चिम प्रदेशमा मोडलको छवी बनाएका बोगटानी किङ विगत दुई वर्षदेखि गाईपालनमा व्यस्त छन्।

साँझ बिहान गाईको रेखदेख गर्ने उनी समय निकालेर मोडलिङमा पनि भ्याउँछन्। ‘साँझ बिहान गाईको हेरचाह गर्छु, म नभएको बेला पत्नीले पनि सहयोग गर्छिन्,’ उनले भने,‘दिउँसोको समय भने  मोडलिङ क्षेत्रमा पनि खर्चने गरेको छु।’ करिब एक दर्जन बढी गीतमा अभिनय गरिसकेका बोगटानी किङ्गले तीन वटा ठूला पर्दाका चलचित्रमा पनि अभिनय गरेका छन्। ‘फिल्म लाइनसँगै उद्यम गर्नुपर्छ भनेरै घरमै खाली रहेको जमिनमा गोठ बनाएर गाई पालन थालेको हुँ,’ उनले भने,‘बालबच्चालाई दूध चाहिने भएकाले घरमै गाई पालेको थिएँ, पछि चार गाई थपेर व्यवसायीक रुपमा गाई पालन गरेको हुँ।’ 

पाँच लाख रुपैयाँको लगानीमा आधुनिक गाई गोठ तयार पारेर सुरु गरेको गाईपालन व्यवसाय अहिले फस्टाउँदै गएको छ। एक गाईबाट सुरु गरेका उनको गोठमा अहिले पाँच गाई र ६ वटा बाच्छी छन्। अहिले चार गाई दुहुना छन्। ‘चार गाईबाट दैनिक ४० लिटर दूध जम्मा हुने गरेको छ,’ उनले भने,‘पाँच लिटरजति घरको  प्रयोगका लागि राखिन्छ, बाँकी बेच्छु।’ दूध बेच्नका लागि बजार धाउनु पर्ने बाध्यता पनि छैन। दूध किन्नका लागि ग्राहक आफै घरमै पुग्ने गरेको बताउँदै उनी भन्छन्,‘दूधमा बिना मिसावट सिधै गोठबाट ल्याएर ग्राहकलाई दिन्छौँ र पो हाम्रो घरमै दूध किन्न आउनेको संख्या बढ्दो छ।’ डेरी उद्योगमा मख्खन निकाल्ने तथा पानी हालेर दूधमा बेच्ने गर्नाले पनि आफूहरु कहाँ बिना मिसावटको दूध किन्न आउने गरेको उनको भनाइ छ। उनी घरमै गाईको दूध प्रतिलिटर ६० रुपैयाँका दरले बेच्ने गरेका छन्। ‘घरमै प्रति लिटर ६० रुपैयाँका दरले दैनिक ३५ लिटर दूध बेचिन्छ,’ उनले भने,‘दूध बेचेर गाईका लागि पराल, भुसा, घाँस किन्नमै ठीक्क हुन्छ।’ बचेखुचेको पैसा घरखर्च चलाउन सहज भएको उनी बताउँछन्। ‘दूध बेचेको पैसाले गाईकै खर्च चलाउन ठीक्क भएको छ,’ उनले भने,‘बचेको पैसाले छोराछोरीको खर्च चलाउन सहज पनि भएको छ।’ उनी दैनिक दूध बेचेरै दुई हजार आम्दानी गर्छन्। दैनिक दुई हजारका दरले मासिक ६० हजार रुपैयाँ आम्दानी हुने गरेको बताउँदै उनी भन्छन्,‘गाईको दाना पानी, पराल, घाँस, भुसाको खर्च कटाएर मासिक बीस हजार जति चोखो आम्दानी बच्छ।’

सुशीला गाई पालन फर्म समेत दर्ता गराए। फर्म दर्ता गराएर उनले व्यवसायीक रुपमा गाई पालन गरे पनि पशुपालन क्षेत्रका लागि आउने सहयोग आफूले अहिलेसम्म कहिँ कतैबाट पाएका छैनन्। ‘आफ्नै लगानीमा गाई पालन गरेको छु,’ उनले भने,‘पशु पालनका क्षेत्रमा आउने सहयोग कता जान्छ थाहै हुँदैन।’ पुश पालनका लागि आउने सहयोग पाए अझै व्यवस्थित रुपमा गाई पालन गर्ने सोच बनाएको उनी बताउँछन्।

बजारमै गाई पालन गरेपछि उनको घरमा मर्दा पर्दा होस् या चाडपर्वमा गाईको गोबर र गहुँत लैजानेको पनि भीड लाग्ने गरेको छ। ‘बजारमै गाई पालन गरेकाले पनि हुनसक्छ छिमेक र टोलमै मर्दा पर्दा गाईको गोबर र गहुँत लैजानेको भीड नै लाग्छ,’ उनले भने,‘चाड पर्वमा गाईको गोबर र गहुँत संकलन गरेर छिमेकीका लागि राखिदिने पनि गरेको छु।’ गाई पालनले व्यवसायिकता मात्रै नभई सामाजिक क्षेत्रमा पनि  महत्व बढाएको उनको बुझाइ छ। ‘टोलमै गाईको गोबरका लागि हाम्रै घरमा पुग्ने गर्छन्,’ उनले भने,‘यही नै हो गाई पालेर सामाजिक क्षेत्रमा पनि कमाएको सम्मान।’ गाई पूजामा पनि उनको घरमा टोलभरिका स्थानीय फूल माला लिएर गाईको पूजा गर्न आउने गरेका छन्। ‘गाई पूजामा पनि घरमै माला लिएर गोठमा स्थानीय पस्दा आफूलाई गर्व हुने गर्छ,’ उनले भने।

प्रकाशित: २२ पुस २०७५ ०३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App