९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री

तस्बिरः भीम चापागाइ

इलाम– प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायमा ढुक्क भएर लगानी गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन्। सरकार नै समृद्धिको महान् अभियानमा रहेकाले उद्योगी–व्यवसायीले उत्पादन र निर्यात बढाउने व्यवसायमा लगानी गर्न शंका गर्नै नपर्ने उनले बताए ।

        सदरमुकाममा बिहीबार इलाम नगरपालिकाले आयोजना गरेको लगानी प्रवद्र्धन सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आपसी प्रतिस्पर्धामा उत्रिएर देश समृद्ध बनाउन प्रदेशहरूलाई आग्रह गरे। ‘होचो भाग केचनादेखि सगरमाथासम्म रहेको १ नम्बर प्रदेशले पनि समृद्धिको यात्रामा अन्य प्रदेशसँग प्रतिस्पर्धा गरोस्,’ उनले व्यवसायीलाई भने, ‘ऐतिहासिकदेखि जैविक महत्वका मात्र होइन, सौन्दर्यका हिसाबले पनि सिंगो १ नम्बर प्रदेश निकै धनी छ ।’

        उनले पूर्वका जिल्लामा उत्पादन हुने अलैंची, अदुवा, दूध, तरकारी, जडीबुटीलगायतको वैदेशिक व्यापार सुनिश्चित गर्न सरकार तयार रहेको बताए । ‘मैले यहाँका कृषि उत्पादन निर्यातबारे भारत र बंगलादेशसँगसमेत पटक–पटक कुरा गरेको छु,’ उनले भने, ‘ठूलो परिमाणमा कृषि उत्पादन गर्नुहोस्, देशभित्रमात्र होइन, तेस्रो मुलुकमा समेत त्यसले राम्रो बजार पाउँछ ।’

        उनले सरकार देश विकासमा तीव्र रूपले अघि बढेको बताए। ‘कृषि उत्पादन, जलविद्युत्, सडक, सिँचाइलगायतको विकासमा सरकारले तीव्र काम गरिरहेको छ,’ उनले भने, ‘अब देशभरका व्यवसायीले ढुक्क भएर लगानी गर्नुस् ।’ उनले पूर्व–पश्चिम रेलमार्ग, पूर्व–पश्चिम राजमार्ग विस्तारलगायत कामलाई सरकारले प्राथमिकता दिएको पनि बताए। ‘इलामसहित यो प्रदेशमा आत्मविश्वासाथ उद्योग–व्यवसायमा लगानी गर्न म सबै लगानीकर्तालाई आग्रह गर्छु,’ उनले भने, ‘वर्तमान सरकार जनताको सरकार भएकाले यसले जनताकै लागि काम गर्छ ।’

        उनले इलामको पर्यटक प्रवद्र्धन गर्नेगरी लगानी गर्न पनि आग्रह गरे । ‘उद्योगी–व्यवसायीले वर्तमान सरकार जमिनमाथिको स्वामित्व राज्यको हुनुपर्ने धारमा रहेकाले लगानी गर्न गाह«ो परेको गुनासो गर्नुभयो,’ प्रधानमन्त्री ओलीले भने, ‘जमिन कसैको स्वामित्वमा हुँदा र नहुँदा केही फरक पर्दैन, अहिले जमिन निकै महँगो छ, सस्तो भाडा तिरेर जग्गा पाइन्छ भने जग्गाले के असर गर्छ, झन् फाइदा पो पुग्छ ।’

ओलीलाई नागरिक अभिनन्दन

        प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलाम नगरपालिकाले नागरिक अभिनन्दन गरेको छ । लगानी सम्मेलन उद्घाटन अवसरमा मेयर महेश बस्नेतले ओलीलाई दोसल्ला र सम्मानपत्रले अभिनन्दन गरे ।

        प्रधानमन्त्री ओलीले स्वाधीनता, राष्ट्रियता र समृद्धिपथमा गरेको योगदानको कदर गर्दै उनलाई अभिनन्दन गरिएको प्रमुख बस्नेतले बताए ।

        पाँचथरको राँके–रवि–भेडेटार सडक शिलान्यासपछि अपराह्न २ बजे प्रधानमन्त्री ओली इलाम आएका थिए । कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, संघीय  र प्रदेश सरकारका मन्त्री, राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा सदस्यलगायतको समेत सहभागिता थियो । आन्तरिक पूँजी परिचालन, बाह्य लगानी आकर्षण र रोजगारी सिर्जना गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।

       

प्रकाशित: २० पुस २०७५ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App